संसद बैठकः बिम्स्टेक महासन्धि अनुमोदित

अन्य विधेयक पनि पारित
रासस

काठमाडौँ — प्रतिनिधिसभाको सोमबारको बैठकले गृहमन्त्री रामबहादुर थापाद्वारा प्रस्तुत ‘अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय सङ्गठित अपराध र अवैध लागुऔषध कारोवारविरुद्ध सहयोगसम्बन्धी बिम्स्टेक महासन्धिलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव बहुमतले अनुमोदन गरेको छ । 

सो महासन्धिका बारेमा सांसद देवप्रसाद गुरुङ, प्रेम सुवाललगायतले आ-आफ्नो विचार व्यक्त गरेका थिए । गृहमन्त्री थापाले आतंकवादको स्वरुपसमेत बदलिएको छ भन्दै सो सम्बन्धमा बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)का सदस्यको समान धारणा बनाउनका लागि महासन्धि जरुरी रहेको बताए ।

Yamaha

साङ्गठनिक अपराध र लागुऔषधको कारोवार नियन्त्रणका लागि अभिसन्धि जरुरी छ भन्दै उनले शिखर सम्मेलन(भदौ १४–१५)अगावै पारित गर्नुपर्ने अवस्था रहेको बताए । महासन्धिले राष्ट्रिय मुक्ति आन्दोलनलाई हेर्ने विषयमा भन्नेमा बाधा नहोस् भन्नेमा सरकार गम्भीर रहेको उनले उल्लेख गरे ।

सरकारले खुला सिमानालाई नियमन गर्ने विषयमा विशेष ध्यान गएको उल्लेख गर्दै उनले विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयन गर्ने विषयमा पहलकदमी लिने विश्वास दिलाए ।

बैठकले अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको ‘भुक्तानी तथा फछ्र्योट विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । यसैगरी गृहमन्त्री थापाले नै प्रस्तुत गरेको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रस्तुत गरेको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ । मन्त्री यादवले नै सदनमा ‘जनस्वास्थ्य विधेयक, २०७५’ तथा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले ‘आवासको अधिकारसम्बन्धी विधेयक, २०७५’ पेश गरे ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रस्तुत गरेको ‘राहदानी विधेयक, २०७५ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्रस्तुत गरेको ‘उपभोक्ता संरक्षण विधेयक, २०७५ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको ‘निवृत्तभरण कोष विधेयक, २०७५ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाको बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘जैविक विविधता महासन्धिअन्तर्गत जारी भएको आनुवंशिक स्रोतमा पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष र समन्यायिक बाँडफाँटसम्बन्धी नागोया अभिसन्धिको सम्मेलन गर्नेसम्बन्धी प्रस्ताव’ पेश गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ५ गते मध्यान्ह १ बजे बस्नेछ ।

प्रकाशित : भाद्र ४, २०७५ १६:५७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

इन्डोनेसियामा दुई हप्तामा दुई शक्तिशाली भूकम्प, करिब ५०० को मृत्यु

रासस/एएफपी

मताराम, इन्डोनेसिया — इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ गएको शक्तिशाली भूकम्पमा परी १० जनाको ज्यान गएको उद्धारकर्मीहरुले जानकारी दिएका छन् । 

भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अवरुद्ध भएको छ भने ठाउँठाउँमा पहिरो गएको छ । आवासीय र कार्यालय भवनहरुमा ठूलो क्षति पुगेको बताइएको छ । स्थानीय नागरिकमा त्रास छाएकोले गएराति उनीहरु घरभित्र बस्न सकेका थिएनन् ।

दुई साताको बीचमा लोम्बोकमा गएका दुईओटा यस्तै ठूला भूकम्पका कारण उनीहरुमा त्रास छाएको हो । यी शक्तिशाली भूकम्पले त्यहाँ ठूलो जनधनको क्षति भएको बताइएको छ ।

यी शक्तिशाली भूकम्पबाट करिब ५ सय मानिसको मृत्यु भइसकेको छ । अधिकारीहरुले यो सङ्ख्या अरु बढ्न पनि सक्ने बताएका छन् । दुई साताअघि कै भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या बढिरहेका बेला आइतबार फेरि अर्को भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार आइतबार साँझको पहिलो भूकम्प ६.९ म्याग्नीच्यूडको थियो । त्यस्तै आइतबारै साँझ अर्को परकम्प ६.३ र ५.४ म्याग्नीच्यूडका गएका छन् । यी सबै भूकम्पहरु लोम्बोक द्वीपको उत्तरपूर्वमा केन्द्रित भएका छन् ।

एपीका एकजना स्थानीय संवाददाताका अनुसार लगातारका भूकम्प र परकम्पका कारण मानिसमा भागदौड मच्चिएको र विद्युत सेवा कटौती भएको छ । तथापि धनजनको क्षतिको सम्पूर्ण विवरण भने अझै प्राप्त भइसकेको छैन ।

उक्त भूकम्पको प्रभावित क्षेत्रमा उद्धारको कामलाई अझै पनि सशक्त बनाउन सकिरहेको छैन । अधिकारीहरुले उद्धारको काम जारी रहेको बताएका छन् ।

लोम्बोकमा यही अगष्ट ५ मा (१४ दिन अघि) गएको ७.० रेक्टर स्केलको भूकम्पमा परी ५०० जनाको मृत्यु भएको थियो, भने हजारौँ घर भत्किएका कारण लाखौँ मानिस अझै विस्थापित अवस्थामा छन् ।

इन्डोनेसियाको पूर्वी क्षेत्र भूकम्पीय जोखिमका रुपमा चर्चित छ । उक्त क्षेत्रमा बारम्बार भूकम्प र पराकम्पहरु आइरहेको हुन्छ ।

सन् २००४ डिसेम्बरमा पनि इन्डोनेसियाको सुमात्रामा ९.१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प र सुनामीबाट एक दर्जन मुलुकका तटीय क्षेत्रका दुई लाख ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

प्रकाशित : भाद्र ४, २०७५ १६:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT