कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

९ घण्टापछि अपहरित बालकको उद्धार

अर्जुन शाह

धनगढी — कैलालीको कैलारी गाउँपालिका–६ आदर्श माध्यमिक विद्यालयबाट अपहरणमा परेका ५ वर्षीय बालक खेमन चौधरीलाई अपहरण भएको ९ घण्टापछि प्रहरीले दाङको भालुवाङबाट सकुशल उद्धार गरेको छ ।

९ घण्टापछि अपहरित बालकको उद्धार

कैलाली–६ बिनौलीका बालकृष्ण चौधरीका छोरा खेमनलाई सोमबार बिहान सवा ८ बजे मोटरसाइकलनमा आएका व्यक्तिले विद्यालयबाटै अपहरण गरेका थिए । दिउँसो २ बजे अपहरणकारीले बालककी आमा बिना चौधरीलाई फोन गरेर बालक आफुसँग रहेको र ‘भोलि बिहान काठमाडौं बसपार्कमा भेट्न आउनु, प्रहरीलाई जानकारी गराए खेमनको हत्या गर्ने’ धम्की दिएको कैलालीका प्रहरी उपरीक्षक बिनोद घिमिरेले बताए । प्रहरीकाअनुसार अपहरणकारी कैलालीको गोदावरी नगरपालिका हरैयाका बिर्जु चौधरी हुन् ।


कैलारी-६ का वडाध्यक्ष प्रेम चौधरीले दिउँसो ११ बजे इलाका प्रहरी कार्यालय हसुलियामा जानकारी गराएपछि प्रहरी परिचालित भएको थियो । दिउँसो २ बजे अपहरणकारीले गरेको फोनको लोकेसनका आधारमा प्रहरीले उनलाई पछ्याएको जनाएको छ । ‘अपहरणकर्ताको लोकेसन बाँकेको शमसेरगञ्ज देखिएपछि बाँके र दाङको प्रहरीसँग समन्वय गरी अपरान्ह्र ६ बजे अपहरित बालकलाई भालुवाङबाट शकुसल उद्धार गरिएको प्रहरी उपरिक्षक घिमिरेले बताए । अपहरण गर्ने बिर्जु चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।


‘प्रहरीलाई खबर गरे बालकको हत्या गर्ने धम्की दिइएकाले निक्कै सतर्कताका साथ अपरेशन गरेका थियौं,’ उपरीक्षक घिमिरेले भने, ‘बालकका आमाबाबु दिनभर हसुलिया प्रहरी चौकीमा रोइ बसेका छन् ।’ बालकलाई ल्याउने जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायव निरीक्षकको टोली भालुवाङ पठाइएको कार्यालयले जनाएको छ ।


प्रहरीको प्रारम्भिक अध्ययनअनुसार अपहरणकारी बिर्जु चौधरीले खेमनकी आमालाई आफुसँग बिहे गर्ने उद्देश्यले बालकलाई अपहरण गरेको हुन् । बिर्जु विवाहित र छोराछोरीसमेत भएकाले खेमनकी आमा बिनाले बिर्जुसँग विहे गर्न इन्कार गरेकोले खेमनलाई अपहरण गरेको हुनसक्ने प्रहरी उपरीक्षक घिमिरेले बताए ।

प्रकाशित : भाद्र ४, २०७५ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?