डोटीको एउटा गाउँ, जहाँ पहिरो खस्दा स्थानीय खुशी हुन्छन्

मोहन शाही

डोटी — हर रात सपनीमा ऐठन हुन्छ, सायद गाउँमा पहिरो गयो कि.... गायक दीप श्रेष्ठको यो गीतले धेरैको मन छुन्छ । गाउँबाहिर बसेकालाई आफ्नो गाउँघरमा आइपरेको बाढीपहिरोको विपत्तिले टाढैबाट पनि तर्साइरहन्छ । तर डोटीको आदर्श गाउँपालिका, गिरीचौकावासीका लागि यो अपवाद हो ।

Yamaha

यहाँका बासिन्दा गाउँमा पहिरो जाँदा दु:खी हुँदैनन्। बरु अचम्मैसँग खुसी हुन्छन्। गाउँ नजिकैको सिल्लभीरमा पहिरो जाँदा कुनै जनधन क्षति हुँदैन, बरु गाउँलेको आयस्तर बढ्छ। यो भीरमा पहिरो जाँदा घरमा छाना छाउन प्रयोग हुने पत्थर खस्ने भएकाले गाउँले खुसी हुने गरेका हुन्। खसेका पत्थरले छानो छाए पनि भयो अथवा बजार लगेर महँगो मूल्यमा बेचे पनि भयो। जे भए पनि पहिरो आयो कि गाउँमा रौनक छाइहाल्छ। पहिरो खस्नेबित्तिकै तँछाडमछाड सुरु भइहाल्छ— पत्थर बटुल्न।

सौखोलाकी ६८ वर्षीया गौमती बोहरा १३ वर्षको उमेरदेखि पत्थर संकलनको काम गरिरहेको अनुभव सुनाउँछिन्। अहिले शारीरिक कमजोरीका कारण पहिरो छेउछाउ सासू गौतमी जान नसके पनि बुहारी रतना परिवारका सदस्यको हुल लिएर पत्थर संकलनमा जाने गरेकी छन्। ‘कलिलै उमेरमा बिहे गरी सौखोला आएँ,’ गौमतीले भनिन्, ‘पहिरो आएको दिन परिवारका सबै सदस्य पत्थर संकलन गर्छन्।’

गिरीचौकाको यो पत्थर डोटी, बझाङ र बैतडीका विभिन्न क्षेत्रमा निर्यात हुने गरेको छ। तर, पत्थर बटुल्ने होडमा खतरा नभएको पनि होइन। पत्थर संकलन गर्ने क्रममा विगतमा ३ जना गाउँलेको मृत्यु भइसकेको छ।

सिल्लभीर नजिक गाउँ छैनन्। यहाँ बर्सेनि सुक्खा पहिरो जाने गर्छ। यो अग्लो भीर भएकाले सामान्य घाम लाग्दा अथवा पानी पर्दा पनि पहिरो जाने गर्छ। पत्थर संकलनबाटै जीविकोपार्जन गर्ने परिवार पनि गिरीचौकामा छन्। छानो छाउनुपर्दा एउटा घरका लागि बढीमा १ लाख रुपैयाँसम्मको पत्थर आवश्यक पर्ने स्थानीय नरबहादुर ढाँटले बताए। साविकको गाविसमा सचिवको काम गरेका भरतबहादुर नेपालीले पत्थर संकलनबाट एउटा परिवारले एक लाख रुपैयाँसम्म आम्दानी गरेको बताए। तर, अब भने आदर्श गाउँपालिकाले पत्थर संकलन र बिक्रीमा पनि कर लगाउने सोचाइ बनाइरहेको वडाध्यक्ष लालबहादुर कठायतले बताए। उनले खेर गइरहेको प्राकृतिक सम्पदाको सही सदुपयोग गर्न आफूहरू स्थानीयसँग छलफल गरिरहेको बताए।

‘म सानो छँदादेखि नै पहिरो खस्दा पत्थर संलकन गरेर खरिदबिक्री हुन थालेको हो,’ स्थानीय बयोवृद्ध शंकर विकले भने, ‘अहिलेसम्म यहाँबाट करोड रुपैयाँभन्दा माथिको पत्थर बिक्री भइसकेको होला।’ वर्षायाममा बाढी आउँदा नदी किनारमा काठदाउरा संकलन गर्न गाउँले जम्मा भएसरह गिरीचौकामा पत्थर संकलन हुने गरेको विक बताउँछन्।

सिल्लभीरको सिंगो डाँडामा पत्थर खानी छ। अन्य ठाउँका तुलनामा यहाँबाट राम्रो र दिगो पत्थर निस्कने स्थानीय बताउँछन्। ठाडै भिरालो भएकाले पत्थर काटेर/फोरेर निकाल्न मुस्किल छ। पत्थर निकाल्न पहिरो नै पर्खनुपर्ने स्थानीय लोकराज पाठकले बताए। ‘अन्य ठाउँका मानिस गाउँमा पहिरो जाँदा दु:खी हुने गर्छन्, चिन्ता गर्छन् तर हामीले दु:खी हुनुपर्दैन,’ दिपायल बस्दै आएका पाठकले भने, ‘हामीले प्रकृतिबाट राम्रै उपहार पाएका छौं। तर पत्थरको संकलन कार्यलाई व्यवस्थित गर्नु आवश्यक देखिएको छ।’

प्रकाशित : भाद्र ४, २०७५ २०:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

ललितपुरमा पनि बिचौलियाको उस्तै बिगबिगी

प्रशान्त माली

ललितपुर — चापागाउँ बोहराटारका राधाकृष्ण बोहराले आफ्नो बारीबाट हरियो लसुन र प्याज प्रतिकिलो ४० रुपैयाँमा बिक्री गर्छन् । 

कालीमाटी तरकारी बजार ।


त्यही लसुन र प्याजलाई लगनखेलस्थित तरकारी बजारमा उपभोक्ताले प्रतिकिलो १ सय रुपैयाँ तिर्नुपर्छ। बोहराले किलोको ५० रुपैयाँमा बेच्ने धनिया बजारमा डेढ सयदेखि दुई सय, ३० रुपैयाँको साग १ सय र २५ रुपैयाँ पर्ने बन्दा ८५ रुपैयाँमा उपभोक्ताले किन्ने गरेका छन्।

बोहराका अनुसार उनले फलाएका तरकारी बजारसम्म पुर्‍याउन प्रतिकिलो ३ रुपैयाँ लागतले पुग्छ। ‘उपभोक्तासम्म पुर्‍याउँदा १० रुपैयाँ मात्र नाफा खाए पुग्छ,’ उनले भने, ‘बिचौलियाले ५० प्रतिशतभन्दा बढी नाफा खाइरहेका छन्।’ बारीसम्मै आउने व्यवसायीले जति रकम दिए, किसान त्यतिमै सन्तुष्ट हुनुपर्ने बाध्यता रहेको उनी सुनाउँछन्।

बिचौलिया हाबी हुँदा उपभोक्ता मात्र नभई किसान पनि मर्कामा छन्। किसानले उब्जनी गरेको तरकारी तीन तह पार भएर मात्र उपभोक्तासम्म आइपुग्ने गर्छ। दक्षिण ललितपुरका किसान चापागाउँस्थित तरकारी संकलन केन्द्रमार्फत आफ्नो उत्पादन बिक्री गर्छन्।

संकलन केन्द्रबाट राजधानी तरकारी पठाउने व्यापारीले प्रतिकिलोमा कम्तीमा १० रुपैयाँसम्म नाफा लिने गरेको कृषकहरू बताउँछन्। उनीहरूका अनुसार तरकारीमा सबभन्दा बढी नाफा थोक बिक्रेताले लिने गरेका छन्।

तत्कालीन जिल्ला कृषि कार्यालयका प्रमुख भरतप्रसाद देवकोटा भन्छन्, ‘सरकारले कृषि कार्यालय खारेज गरी नयाँ कार्यालयको व्यवस्थापन गर्न नसक्दा किसानलाई बजार व्यवस्थापन गरिदिनेलगायत योजना अलपत्र परेको छ।’ ललितपुरबाट लेले–चन्दनपुर सडक भएर गोटीखेल, शंखु, बुखेल, नल्लु, भारदेउ, चौघर, ठुर्लादुर्लङ, कालेश्वरीबाट सिजनमा दैनिक ३० हजार किलोको हाराहारीमा तरकारी बजारमा आउँछ।

अफसिजनमा भने ९ हजार किलो आउँछ। भट्टेडाँडा, गिम्दी, आश्राङ, प्युटार, माल्टा, घुसेलबाट सिजनमा दैनिक १० देखि १५ हजार किलो र अफसिजनमा ९ हजार किलोसम्म आउँछ। ललितपुरको दक्षिणी भेगमा करिब ६० प्रतिशत कृषक दूध र तरकारी व्यवसायमा आबद्ध छन्।

यो पनि पढ्नुहोसः

प्रकाशित : भाद्र ४, २०७५ २०:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT