कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुवेत विमानस्थलमा सय नेपाली यात्रु अलपत्र

होम कार्की

काठमाडौँ — वातिनिया एयरवेजले नियमित उडान नगर्दा कुवेत विमानस्थलमा सयभन्दा बढी नेपाली कामदार चार दिनदेखि अलपत्र परेका छन् । 

कुवेत विमानस्थलमा सय नेपाली यात्रु अलपत्र

वातिनिया एयरवेजले प्राविधिक कारण देखाउँदै भदौ १ देखि नेपालको उडान बन्द गरेको हो । वातिनियाले गएको डिसेम्बरबाट दैनिक रुपमा कुवेत–काठमाडौं सिधा हवाई सेवा प्रदान गर्दै आएको थियो ।


वातिनियाले कुवेतबाट नेपाल उडान बन्द गरेपनि कतार, साउदी अरबबाट ल्याइएका नेपाली कामदार कुवेतको ट्रान्जिटमा ल्याएर अलपत्र बनाएको छ ।

‘भदौ १ तारिख बिहान ९ बजेको उडान थियो । म बिहान ७ बजे नै विमानस्थल पुगेको थिएँ,’ दमकका राजेन्द्र राजवंशीले कान्तिपुरलाई भने,‘ढिला भएको भन्दै १२ बजे उडान गर्ने बताएर राख्यो । त्यसपछि हामीलाई अर्को उडानको समय दिइएन ।’


अलपत्र भएका कामदारलाई विमानस्थलको छेउमा रहेको सफिर होटलमा लगेर राखेको छ । एयरवेजको व्यवस्थापनले चार दिन बितिसक्दा पनि स्वदेश फर्किने उडान तालिका नदिइएको यात्रुहरुले बताए ।


‘एउटा आँउछ । एक थोक बताएर जान्छ । अर्को आउछ अर्कै बताइन्छ,’ १९ महिनापछि स्वदेश फर्किन लागेका रुद्र महताराले कान्तिपुरलाई भने,‘कहिले विमानस्थल लैजान्छ । दिनभर लगेर राख्छ । खाना पनि दिदैन । हाम्रो त हालत एकदमै खराब भइसक्यो ।’


महताराका अनुसार कम्पनी बन्द भएर फर्केका २८ जनाको एउटै समूह छ । ‘ग्यान्स प्लान्टमा काम गर्ने कम्पनी थियो । बन्द भएर हामीलाई नेपाल पठाएको हो । सबै साथीहरुलाई लट लटमा पठाएको छ । कम्पनीबाट बल्ल निस्कन पाएका थियौं । विमानस्थलमा आएर फस्यौं,’ उनले भने,‘यता आइसकेपछि हामीलाई होटलबाट निस्कन दिइएको छैन ।’


छोटो समयको विदा र आपतकालिन विदामा आएका कामदारहरु बढी पीडित बनेका छन् । ‘एक महिनाको आपतकालीन बिदामा जान लागेको थिएँ । ३ दिन कम्पनीमै बस्नुपर्‍यो । चार दिन त विमानस्थलमै भयो । अझै कति दिन बस्नुपर्ने हो, थाहा छैन,’ राजवंशीले भने ।


कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले नेपाली यात्रुलाई यथासक्य छिटो उडान गर्नृको लागि एयरलाइन्सका व्यवस्थापनसँग कुराकानी भइरहेको वताए ।

‘विमानस्थालमा कामदार उडान भर्न नपाउन साथ मैले नै एयरलाइन्सका उच्च अधिकारीसँग कुराकानी गरेको थिएँ । उनीहरुले जहाज अभाव भएर समस्या आएको बताएका थिए,’ उनले भने,‘व्यवस्थापनले वैकल्पीक ब्यबस्था गरेर नेपाल पठाउने प्रतिबद्धता जनाएको छ ।’

प्रकाशित : भाद्र ४, २०७५ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?