तरकारीमा सिन्डिकेट: बारीबाटै कब्जा

रमेशचन्द्र अधिकारी, चन्द्र कार्की

धनकुटा/तेह्रथुम — तेह्रथुम, धनकुटा र संखुवासभाका तरकारी बारीमा यतिखेर किसान होइनन्, व्यापारी र तरकारी लोड गर्ने गाडी देखिन्छन् । तरकारी टिप्ने समयभन्दा एक साताअघिदेखि नै व्यापारीहरू किसानका बारीमा हुन्छन् । व्यापारीको कब्जा तरकारी रोप्ने समयदेखि नै सुरु हुन्छ ।

धनकुटाको महालक्ष्मी नगरपालिका घुमाउनेका किसानले उत्पादन गरेको बन्दा किन्दै व्यापारी । तस्बिर : चन्द्र कार्की

धनकुटाको महालक्ष्मी नगरपालिकाका किसान इन्द्र श्रेष्ठका अनुसार व्यापारीले सुरुदेखि नै मल, बीउ, विषादी, कामदारलगायतमा लगानी हुन्छ । श्रेष्ठको पनि करिब ४० रोपनी जग्गामा बन्दा र मुला खेतीका लागि व्यापारीले मल, बीउ र विषादीमा लगानी गरेका छन् ।


आफूले लगानी गरेका किसानले अर्कै व्यापारीलाई तरकारी बिक्री गर्लान् भनेर दिनरात रुँघेर बस्ने गरेको व्यापारी लिलम काफ्लेले बताए । तरकारी उत्पादन गर्न आफूले घुमाउने क्षेत्रका व्यापारीलाई मात्र ३५ लाख रुपैयाँ लगानी गरेको उनले बताए । किसानले अर्को व्यापारीलाई बिक्री गरे लगानी गरेको समयदेखिको ब्याजसहित रकम व्यापारीलाई फर्काउनुपर्छ । त्यसो गर्दा उत्पादन लागत झन् बढी पर्ने भएकाले किसानले यो जोखिम मोल्न चाहँदैनन् ।

Yamaha


यो लगानी उठाउन पनि सिजन लागेपछि किसानका बारीमै आएर रुँघ्नुपर्ने बाध्यता रहेको व्यापारी काफ्लेको भनाइ छ । धनकुटाको महालक्ष्मी र जितपुर नगरपालिका, छथर जोरपाटी गाउँपालिका, तेह्रथुमको छथर गाउँपालिका, लालीगुराँस नगरपालिका र संखुवासभाको धर्मदेवी नगरपालिकाका करिब ३० हजार किसानलाई व्यापारीले १० करोड रुपैयाँ बढी लगानी गरेको उनीहरूको दाबी छ ।


व्यापारीले छोटो समयमा उत्पादन दिने तरकारी बालीमा बढी लगानी गरेका छन् । बन्दा, आलु, काउली, मुला र हरियो मटरकोसाको खेतीमा किसानलाई बीउ, मल र विषादीमा लगानी गरेको अर्का व्यापारी पोस्टराज रायमाझीले बताए । किसानका तरकारी सहकारी, संकलन केन्द्र र साना व्यापारीले किनेर त्यहीं नाफा खाइदिने गरेका छन् ।

तेह्रथुमको लालीगुराँस नगरपालिका चित्रेका किसानको बारीबाट बन्दा काटेर लैजाने तयारी गरिँदै ।


किसान आफूले उत्पादन गरेको तरकारी व्यापारीकै मौखिक मूल्यमा बेच्न बाध्य हुन्छन् । यसले उत्पादक किसान मारमा पर्दै आएका छन् भने व्यापारीले मनग्य कमाउने गरेका छन् ।


चोकैपिच्छे मूल्य अन्तर
धनकुटाबाट सिधुवाको दूरी २७ किलोमिटर छ । बीचमा हिलेबजार पर्छ । यी तीनै बजारमा तरकारीको मूल्य तीन गुणासम्म फरक पर्छ ।


सिधुवामा ३० रुपैयाँ पर्ने काउलीलाई धनकुटामा ८० देखि एक सय र हिलेमा ६५ रुपैयाँ तिर्नुपर्छ । सिधुवामा १२ रुपैयाँ प्रतिकिलोको मुला धनकुटामा ३० रुपैयाँ पर्छ । अधिकांश तरकारीको मूल्य चोकैपिच्छे अस्वाभाविक रूपमा फरक छ । न मूल्य निर्धारण गर्ने निकाय छ, न ढुवानीअनुसारको वैज्ञानिक दर कायम छ । यसले गर्दा एकै ठाउँमा जोडिएका दुई तरकारी पसलमा समेत मूल्य फरक पर्ने गरेको छ ।


यसरी अस्वाभाविक मूल्य कायम हुनुमा तरकारीमा भित्रिएको सिन्डिकेट मुख्य कारण रहेको सिधुवाका कृषक मेघेन्द्र गुरुङको भनाइ छ । उनले कृषकदेखि उपभोक्तासम्म पुग्दा कम्तीमा पाँच तहका बिचौलिया रहने गरेको बताए । यसमध्ये सबैभन्दा बढी मार कृषक रहेको उनको ठम्याइ छ ।


तरकारी बजारमा सिन्डिकेट आफैं निर्माण भएको छ । जसमा कृषकसँग प्रत्यक्ष जोडिएका लोडर/व्यापारी (स्थानीयको भनाइमा) छन् । उनीहरूले मोलमोलाई गरेर कृषकबाट अत्यन्त न्यून मूल्यमा खरिद गरेका हुन्छन् । तर ती व्यापारीको बिक्री गर्ने कुनै निश्चित थलो छैन । कृषि बजारका स्टल कमिसनमा भाडामा लिने एजेन्टसम्म पुर्‍याएर उनीहरूले बिक्री गर्दै आएका छन् ।


यसैगरी थोक बिक्रेताका रूपमा अर्को पक्षले खरिद गर्दै फरक मूल्यमा खुद्रा व्यापारीलाई बिक्री गर्छ । यी सबै चरण पार गर्दै बल्ल उपभोक्तासम्म पुग्दा मूल्य चौगुनासम्म बढ्ने गरेको गुरुङले बताए । ‘किसान सबैभन्दा मारमा परेका छन्,’ उनले भने, ‘तरकारीमा सिन्डिकेटको चरम शृंखला नै छ ।’ यसलाई नियन्त्रण गर्ने प्रयास हुन नसके कृषक र उपभोक्ता बढी अन्यायमा पर्ने उनको तर्क छ ।


तरकारी व्यापारी सुशील साह ढुवानीका आधारमा भन्दा बिचौलियाको मोलमोलाईका आधारमा मूल्य फरक पर्ने बताउँछन् । हिलेमा प्रतिकिलो १५ रुपैयाँ पर्ने काँक्रोलाई धनकुटामा ३० पर्ने स्थानीय व्यापारी ओममाया कटुवालले बताइन् । बिचौलियाबाट खरिद गरेको तरकारी आफूसमक्ष आइपुग्दा बाध्य भएर बढी मूल्यमा बिक्री गर्नुपरेको उनको भनाइ छ।


धनकुटामा बाह्रै महिना तरकारी उत्पादन हुन्छ । यस वर्ष साढे ४ अर्बको तरकारी उत्पादन भएको कृषि कार्यालयले जनाएको छ । बन्दाकोभी, मुला, गोलभेडा, अकबरे खुर्सानी, आलु, सिमी, मटरकोसा लगायतका तरकारी यहाँको मुख्य उत्पादन हो । अघिल्लो वर्षको तुलनामा यस वर्ष ४० करोडभन्दा बढीको तरकारी उत्पादन भएको छ । अत्यधिक तरकारी उत्पादन भए पनि बजारमा सस्तो मूल्यमा खरिद गर्न नपाइने उपभोक्ताको गुनासो छ । जिल्लामा ४० हजार ८ सय २३ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन छ । जसमध्ये अधिकांशमा तरकारी खेती हुने गरेको कृषि कार्यालयको भनाइ छ ।


यहाँको तरकारी जोगबनी र काँकडभिट्टा हुँदै भारतका कोलकाता र असमलगायत मुख्य सहरसम्म पुग्छन् ।

प्रकाशित : भाद्र ५, २०७५ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कुवेत विमानस्थलमा सय नेपाली यात्रु अलपत्र

होम कार्की

काठमाडौँ — वातिनिया एयरवेजले नियमित उडान नगर्दा कुवेत विमानस्थलमा सयभन्दा बढी नेपाली कामदार चार दिनदेखि अलपत्र परेका छन् । 

वातिनिया एयरवेजले प्राविधिक कारण देखाउँदै भदौ १ देखि नेपालको उडान बन्द गरेको हो। वातिनियाले गएको डिसेम्बरबाट दैनिक रुपमा कुवेत–काठमाडौं सिधा हवाई सेवा प्रदान गर्दै आएको थियो।

वातिनियाले कुवेतबाट नेपाल उडान बन्द गरेपनि कतार, साउदी अरबबाट ल्याइएका नेपाली कामदार कुवेतको ट्रान्जिटमा ल्याएर अलपत्र बनाएको छ।

‘भदौ १ तारिख बिहान ९ बजेको उडान थियो। म बिहान ७ बजे नै विमानस्थल पुगेको थिएँ,’ दमकका राजेन्द्र राजवंशीले कान्तिपुरलाई भने,‘ढिला भएको भन्दै १२ बजे उडान गर्ने बताएर राख्यो। त्यसपछि हामीलाई अर्को उडानको समय दिइएन।’

अलपत्र भएका कामदारलाई विमानस्थलको छेउमा रहेको सफिर होटलमा लगेर राखेको छ। एयरवेजको व्यवस्थापनले चार दिन बितिसक्दा पनि स्वदेश फर्किने उडान तालिका नदिइएको यात्रुहरुले बताए।

‘एउटा आँउछ। एक थोक बताएर जान्छ। अर्को आउछ अर्कै बताइन्छ,’ १९ महिनापछि स्वदेश फर्किन लागेका रुद्र महताराले कान्तिपुरलाई भने,‘कहिले विमानस्थल लैजान्छ। दिनभर लगेर राख्छ। खाना पनि दिदैन। हाम्रो त हालत एकदमै खराब भइसक्यो।’

महताराका अनुसार कम्पनी बन्द भएर फर्केका २८ जनाको एउटै समूह छ। ‘ग्यान्स प्लान्टमा काम गर्ने कम्पनी थियो। बन्द भएर हामीलाई नेपाल पठाएको हो। सबै साथीहरुलाई लट लटमा पठाएको छ। कम्पनीबाट बल्ल निस्कन पाएका थियौं। विमानस्थलमा आएर फस्यौं,’ उनले भने,‘यता आइसकेपछि हामीलाई होटलबाट निस्कन दिइएको छैन।’

छोटो समयको विदा र आपतकालिन विदामा आएका कामदारहरु बढी पीडित बनेका छन्। ‘एक महिनाको आपतकालीन बिदामा जान लागेको थिएँ। ३ दिन कम्पनीमै बस्नुपर्‍यो। चार दिन त विमानस्थलमै भयो। अझै कति दिन बस्नुपर्ने हो, थाहा छैन,’ राजवंशीले भने।

कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले नेपाली यात्रुलाई यथासक्य छिटो उडान गर्नृको लागि एयरलाइन्सका व्यवस्थापनसँग कुराकानी भइरहेको वताए।

‘विमानस्थालमा कामदार उडान भर्न नपाउन साथ मैले नै एयरलाइन्सका उच्च अधिकारीसँग कुराकानी गरेको थिएँ। उनीहरुले जहाज अभाव भएर समस्या आएको बताएका थिए,’ उनले भने,‘व्यवस्थापनले वैकल्पीक ब्यबस्था गरेर नेपाल पठाउने प्रतिबद्धता जनाएको छ।’

प्रकाशित : भाद्र ४, २०७५ २१:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT