प्रदेश सभामुखको आग्रह ‘समस्या समाधान होस्’

काठमाडौँ — प्रदेशका सभामुख र उपसभामुखले प्रदेशसभा सञ्चालनमा रहेका समस्या समाधान गरिदिन राष्ट्रपति र प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

प्रदेश सभामुखको आग्रह ‘समस्या समाधान होस्’

प्रदेशसभा सञ्चालनका अनुभव आदानप्रदान गर्न राजधानी आएका सात वटै प्रदेशका सभामुख र उपसभामुखले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई छुट्टाछुट्टै भेटेर भौतिक पूर्वाधार र कर्मचारी अभावमा सभा सञ्चालनमा समस्या परेको जानकारी गराएका थिए । उनीहरूले आइतबार प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँग पनि आफ्ना समस्याबारे अन्तरक्रिया गरेका थिए ।

‘सातवटै प्रदेशसभा सञ्चालनका उस्तै समस्या छन्, तिनलाई समाधान गर्न सहजीकरण गरिदिन हामीले राष्ट्रपति र प्रधानमन्त्रीलाई अनुरोध गरेका छौं,’ प्रदेश १ का सभामुख प्रदीप भण्डारीले भने । प्रदेशसभा सञ्चालन गर्ने दक्ष कर्मचारी नभएको, कर्मचारीको संख्या नै नपुगेको, सांसदहरूको मर्यादाक्रम नमिलाइएको लगायत गुनासा उनीहरूले राष्ट्रपति र प्रधानमन्त्रीसमक्ष राखेका थिए ।

सबै प्रदेशमा सेवासुविधा पनि फरकफरक रहेकाले एकरूपता दिने पहल गर्न पनि उनीहरूले आग्रह गरेका छन् । आइतबार छलफलमा उठेका सुझावसहित उनीहरूले सहजीकरण गरिदन राष्ट्रपतिसमक्ष आग्रह गरेका थिए । राष्ट्रपति भण्डारीले आफ्नो पदीय सीमाभित्र बसेर पहल गरिदिने प्रतिबद्धता जनाइन् ।

सभामुखहरूले आइतबार साँझ प्रधानमन्त्री ओलीलाई पनि भेटेका थिए । त्यस क्रममा ओलीले संघीयता सबलीकरणका लागि सबैले मेहनत गर्नुपर्ने बताए । ‘कुनै पनि भौतिक संरचना निर्माण गरेर ढलान मजबुत हुन कम्तीमा तीन साताको समय चाहिन्छ । यस समयमा टेकोको सहारा लिनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कलिलो अवस्थाको हाम्रो संघीयताको टेको खुस्काउन अहिलेदेखि नै प्रयास भएका छन् ।

यसलाई परास्त गर्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले प्रदेशलाई सबलीकरण गर्न संघीय सरकार सकारात्मक रहेको उल्लेख गर्दै समस्या पनि समाधान गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित : भाद्र ५, २०७५ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?