२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

किशोरी बलात्कार प्रकरण: गृहले झिकायो अनुसन्धान फाइल

जनकराज सापकोटा

काठमाडौँ — सुस्त मनस्थितिकी १४ वर्षीया किशोरी बलात्कार अभियोग मुद्दामा ढिलाइ गरेको भन्दै गृह मन्त्रालयले अनुसन्धानमा संग्लन प्रहरीलाई बोलाएको छ ।

किशोरी बलात्कार प्रकरण: गृहले झिकायो अनुसन्धान फाइल

साउन १९ गते गोर्कणेश्वर नगरपालिका शंखरबेंसी गाउँमा डेरा बस्ने किशोरीलाई घरधनी हरिबहादुर तिमल्सेनाले बलात्कार गरेको भन्दै महानगरीय प्रहरी वृत्त बौद्धमा उजुरी परेको थियो । उजुरीलगत्तै आरोपीलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका निम्ति थुनामा राखेको थियो ।

घटना भएको १६ दिन बितिसक्दा पनि प्रहरीले सरकारी वकिलको कार्यालयमा मुद्दा दायर नगरेको र पीडितका परिवारलाई अनुसन्धानको प्रगतिबारे जानकारी नगराएको भन्दै गृहमन्त्रीको सचिवालयले अनुसन्धानको फाइल झिकाएको हो । घटना सार्वजनिक भएलगत्तै महानगरीय वृत्त बौद्धले घरधनीलाई पक्राउ गरी अनुुसन्धानका निम्ति थुनामा राखेको छ । पीडित किशोरी र उनको परिवार भने सामाजिक अवगाल र सम्भावित भयका कारण डेरा छाडेर आफन्तको शरणमा बसिरहेका छन् ।

घटनाकै दिन प्रहरीले पीडित किशोरीको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा स्वास्थ्य परीक्षण गरेको थियो । स्वास्थ्य परीक्षणको रिपोर्ट घटनाको केही दिनमै प्रहरीले पाएको थियो भने पीडितले घरधनीविरुद्ध किटानी जाहेरी दिएकी थिइन् तर प्रहरीले बलात्कारजस्तो जघन्य घटनाको अनुसन्धानलाई समेत दुई साता भइसक्दा पनि निष्कर्षमा नपुर्‍याएको, अनुसन्धान प्रभावित बन्न लागेको र पीडित परिवारलाई आर्थिक प्रलोभन देखाएर मुद्दा उल्टाउन खोजिएको भन्ने उजुरी गृह मन्त्रालयमा परेपछि गृहले वृत्तबाट अनुसन्धानको कागजात झिकाएको हो । बौद्ध वृत्तका इन्स्पेक्टर भूपेन्द्र गिरीले अनुसन्धानमा भइरहेको प्रगतिबारे गृह मन्त्रालयले जान्न खोजेको बताए । सोमबार इन्स्पेक्टर गिरीले गृह पुगेर अनुसन्धानबारे बताएका थिए ।

मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ को दफा १४ को उपदफा ६ मा अनुसन्धान अधिकारीले अनुसन्धानका लागि हिरासतमा राख्न आवश्यक देखिएमा एकै पटक वा पटकपटक गरी बढीमा पच्चीस दिनसम्म हिरासतमा राख्न सक्ने व्यवस्था गरेको छ । इन्स्पेक्टर गिरीले बलियो प्रमाण अभावमा मुद्दा कमजोर बन्ने भएकाले प्रमाणहरूको संकलन भइरहेको र मुद्दा बलियो बनाउन लागिपरेको बताए । उनले पीडित परिवारसँग समन्वय भइरहेको दाबी पनि गरे ।

पीडित किशोरीका परिवारका एक सदस्यले राजनीतिक पहुँच भएका पीडक परिवारले आफूहरूलाई ‘मिल्न’ दबाब दिएको बताए । ती सदस्यले भने, ‘पीडक परिवारका एक सदस्य निर्वाचित जनप्रतिनिधि भएका कारण प्रहरीले अनुसन्धानमा ढिलाइ गरिरहेको छ ।’ पीडित किशोरीकी आमाले प्रहरीले अनुसन्धानलाई निष्कर्षमा नपुर्‍याउनुको कारणबारे आफूहरूलाई नबताएको बताइन् । घटनापछि उनी न्यायका निम्ति आधा दर्जन पटक प्रहरी कार्यालय धाइसकिन् । उनले भनिन्, ‘अनुसन्धान हुँदै छ मात्र भन्छन् । न अस्पतालको रिपोर्ट के आयो बताउँछन् न मुद्दा कहिले दर्ता हुन्छ भनेर जानकारी दिन्छन् ?’

प्रकाशित : भाद्र ५, २०७५ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?