कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

टिकेनन् मह र गगनका फार्म

‘नाफा हुन्छ भनेर हात हाल्यौं तर बजार बुझ्न नसक्दा डुब्यौं’
विमल खतिवडा

काठमाडौँ — किसानलाई सस्तोमा तरकारी उपलब्ध गराउने भन्दै सञ्चालनमा आएका ठूला कृषि फार्म एकपछि अर्को गर्दै बन्द हुन थालेका छन् । ती फार्म लामो समय टिक्न नसक्नुमा बजारको समस्यालाई उनीहरूले प्रमुख कारण बताएका छन् ।

टिकेनन् मह र गगनका फार्म

कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफ्ना छोराहरूले सञ्चालन गर्ने गरी २०६८ सालतिर ‘मह एग्रिकल्चर’ सुरु गरे । चर्चित कलाकारको नाम जोडिएकाले यो फार्म सबैका आँखामा पर्‍यो । नेपालबाहेक भुटान, सिक्किम, अमेरिका, बेलायत, जापान, कोरिया, अस्ट्रेलियाबाट समेत ‘मह एग्रिकल्चर’ को काम हेर्न आए ।

१२ जना मिलेर ५५ लाख लगानीमा सुरु गरिएको फार्मका लागि मदनकृष्णले १८ रोपनी जग्गा उपलब्ध गराएका थिए । इजरायलबाट फर्किएका युवाको सीप र संलग्नतामा टनेल बनाएर गरिएको गोलभेंडा खेतीले निकै चर्चा पायो । टनेलमा गोलभेंडा खेती गर्ने लहरै चल्यो । मह एग्रिकल्चरकै वरपर पनि टनेलहरू बने । सरकारले कृषकलाई सहुलियत दरमा बैंक ऋण, अनुदानजस्ता विभिन्न कार्यक्रम ल्याएर खेतीमा आकर्षित पनि गरायो ।

‘हामीले ७ वर्ष चलायौं तर भारतबाट नेपालमा धेरै गोलभेडा आउने रहेछ । यसले गर्दा हाम्रो गोलभेडा बेच्न समस्या भयो,’ सञ्चालकमध्येका एक यमन श्रेष्ठले सुनाए । बाह्य आयातलाई रोक्न नसकिए किसानले दु:ख गरेर उत्पादन गरेको फसलले बजार पाउन समस्या हुने उनको ठहर छ । यो फार्म बन्द हुनुमा लगानीकर्ताबीचको मनमुटाव पनि कारण थियो । व्यवसाय सुरु गर्दा गरेको लगानीको हिसाबकिताब अझै मिलिसकेको छैन । सरकारबाट कुनै अनुदान नलिई व्यक्तिगत रूपमा लगानी गरिएको उनले बताए । अहिले उक्त फार्ममा यमन र उनका साथी मन्दिर श्रेष्ठ मिलेर स्ट्रबेरी र फूल लगाएका छन् ।

प्राय: विदेशबाट फर्किनेको रोजाइमा तरकारी खेती पर्ने गरेको छ । मदनकृष्णका छोरा यमनले पनि अमेरिकाबाट फर्केर यसमा हात हालेका थिए । तरकारी खेतीमा लगानी धेरै भए पनि बिचौलियाका कारण लागतअनुसार मूल्य नपाउँदा किसान निराश बन्ने गरेका छन् । पहिला उत्साहित भएर खेतीमा लागेका किसान अहिले बिस्तारै विकल्प खोज्न थालेका छन् ।

त्यसैगरी कांग्रेस सांसद गगन थापासहित ४ जना मिलेर काठमाडौंको चाल्नाखेलमा कुरिलो खेती गरेका थिए । त्यो बेला बजारमा कुरिलोको माग धेरै थियो । ८ सय रुपैयाँ किलोसम्ममा बिक्री हुन्थ्यो । यही देखेर १४ रोपनी जग्गा भाडामा लिएर कुरिलो खेती सुरु गरे । पानीपोखरीबाट बीउ लगेर नर्सरी राखे । पछि सबै क्षेत्रफलमा बिरुवा लगाए । सुनखानी एकीकृत कृषि फार्म दर्ता गरेर काम सुरु भयो । ‘सबै काम थालियो तर यसको बजार के छ र कति जग्गामा लगाउने भन्नेबारे अध्ययन गरिएन,’ सांसद थापाले आफ्नो व्यवसाय असफल हुनुको कारण बताए ।

‘योभन्दा अरू काम गर्दिनँ भनेर लाग्न सक्ने हो भने मात्र यो ठीक छ,’ उनले भने, ‘हामी त सबै राजनीतिक कार्यकर्ता भयौं, आआफ्नो पेसा अर्कै पर्‍यो ।’ खेती हेर्न उनीहरू महिना दिनमा पुग्ने गर्थे । ‘नाफा हुन्छ भनेर यसमा हात हाल्यौं तर बजार कस्तो छ, कहाँकहाँबाट कुरिलो आइरहेको छ भन्नेजस्ता कुराको गहिराइमा नपुग्दा डुब्यौं,’ थापाले भने । डुबेपछि मात्र यसको बजारबारे थाहा पाएको उनले बताए । ‘त्यही भएर यसमा जसले रिसर्च गरेको छ, त्यसले पूरा समय दिन तयार भए काम गर्दा हुन्छ,’ उनले भने ।

‘सुरुमा किलोको ७ सय रुपैयाँसम्ममा कुरिलो बिक्री भयो,’ लगानीकर्तामध्येका एक विनोद तामाङले भने, ‘पछि किलोको १ सय रुपैयाँमा बेच्नुपर्‍यो ।’ यो फार्म बन्द भएको ५ वर्ष भयो । उनका अनुसार सुरुमा फार्मका कर्मचारी आफैं खटिएर कालीमाटीमा कुरिलोको टुसा बेचे । तर भनेजस्तो मूल्य पाउन सकेनन् । ‘सबैतिर कुरिलो लगाउने बढे, बजारमा जताततैबाट कुरिलो आउन थाल्यो,’ तामाङले भने, ‘जसले गर्दा हाम्रो लगानी नै उठ्न नसक्ने अवस्था भयो ।’

प्रकाशित : भाद्र ५, २०७५ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?