२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

तरकारीमा सिन्डिकेट: अनुगमनकर्ता नै नियन्त्रणमा

राजु चौधरी

काठमाडौँ — वाणिज्य विभागको अनुगमन टोली सोमबार बिहानै कालिमाटी पुग्दा तरकारी लिएर ललितपुर र बाराबाट आएका दुई गाडी भित्र पस्दै थिए । टोलीले दुवै गाडीका चालकसँग बिल र कागजात माग्यो । नपाएपछि नियन्त्रणमा लियो ।

तरकारीमा सिन्डिकेट: अनुगमनकर्ता नै नियन्त्रणमा

लगत्तै व्यापारी भेला भए र विरोध गर्न थाले । त्यसपछि विवाद यति उग्र भयो कि व्यवसायीले अनुगमन टोलीलाई नै निणन्त्रणमा लिए ।

‘तरकारी बिग्रिन्छ, खुला गरिदिनुस् भन्दै व्यवसायी भेला भए,’ टोलीका संयोजक दीपक पोखरेलले भने, ‘कारबाही अघि बढाउँछौं भन्दा नाराजुलुस गरे ।’ व्यापारीहरूले ‘अनुगमन गर्न पाइँदैन, सरकारी टोली मुर्दाबाद’ भन्दै नारा लगाएका थिए । त्यसपछि उनीहरूले सरकारी कर्मचारीलाई नै नियन्त्रणमा लिए । ‘व्यवसायीहरूले निस्कन दिँदैनाैं भन्दै गेटै बन्द गरे,’ पोखरेलले भने ।

किसानसँग किनेको र उपभोक्तालाई बेच्न तोकिएको मूल्य तथा बिलबिजकलगायतको अनुगमन गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोली कालिमाटी तरकारी बजार पुगेको हो ।

कर्मचारीलाई बाहिर निस्किन नदिई गेट लगाएर व्यापारीहरूले अवरोध गरेको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए । ‘जथाभावी मूल्य, बिलबिजक र मूल्यसूचीको सन्दर्भमा सोमबार अनुगमन गरी उपभोक्ताहरू मर्कामा र किसानले मूल्य नपाएको वास्तविकता बुझ्न गएका थियौं,’ गौचनले भने, ‘कर्मचारीलाई नै थुनियो ।’

अवरोध भएपछि गृह सचिव र काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएर प्रहरी बोलाउनुपरेको उनले बताए । अनुगमनमा अवरोध गर्ने कालिमाटी तरकारी फलफूल व्यवसायी महासंघका महासचिव भरत खतिवडा तथा अर्का व्यवसायी विमल ढुंगानालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी देवेन्द्रबहादुर पालले अन्य व्यवसायीबारे पनि थप छानबिन भइरहेको बताए ।

अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले व्यवसायीले करिब ४ घण्टा अवरोध गरेको बताए । ‘तरकारीमा बिचौलियाको उपस्थिति शून्यमा झार्ने लक्ष्यसहित टोली खटिएको थियो । तर, अनुगमन टोलीलाई नै नियन्त्रणमा लिए,’ उनले भने, ‘अनुगमनमा अवरोध गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्छ ।’ व्यवसायी र अनुगमन टोलीबीच विवाद भएपछि आपूर्तिमन्त्री मातृका यादव, सचिव चन्द्र घिमिरे र काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यसहितको टोली कालिमाटी बजार पुगेको थियो ।

त्यहाँ पुगेर मन्त्री यादवले जनताको भान्सासम्म पुग्ने तरकारीको सिन्डिकेट अन्त्य गर्न सरकारले कडाइका साथ अनुगमन गर्ने बताएका थिए । घटनापछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्ति जारी गरी जनताको भान्सासम्म पुग्ने तरकारीको सिन्डिकेट अन्त्य गर्न सरकार कडाइका साथ लागेको बताएको छ । मन्त्रालयका सहसचिव प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘किसानलाई कम मूल्य दिई उपभोक्तासँग बढी मूल्य लिने बिचौलियालाई नियन्त्रण गरी तरकारीका उत्पादक र उपभोक्ताबीचको दूरी न्यून गर्न नियमित अनुगमन गर्छौं ।’ वाणिज्य तथा आपूर्ति सचिव घिमिरेले पनि सिन्डिेकटका कारण जनता निरीह भएको र सरकारले नियन्त्रण गर्न खोज्दा बिचौलियाहरू हाबी भएको बताए । ‘कालोबजारी र बिचौलियाको उपस्थिति एकदमै बढी भयो, अब नियन्त्रण हुन्छ,’ उनले भने ।

उपभोक्ता हितमा काम गरिरहेका अभियन्ताहरू सरकारी टोलीलाई नै नियन्त्रणमा लिइएकोबाट व्यापारीको दादागिरी प्रस्ट हुने बताउँछन् । ‘सरकारी टोलीलाई नै थुन्न सक्नेले सामान्य किसान र उपभोक्तालाई कति ठग्न सक्छन् भन्ने प्रस्ट हुन्छ,’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले भने । अवरोध गर्नेलाई सरकारले कारबाही गर्न नसक्ने हो भने सरकार असफल र बिचौलियाहरू सफल भएको पुष्टि हुने उनले बताए । ‘यस्ता व्यापारी र बिचौलियालाई सरकारी कर्मचारीले नै संरक्षण गर्ने गरेका छन्,’ उनले भने । किसानदेखि उपभोक्तासम्म तरकारी पुर्‍याउँदा ५ पटक मूल्य बढाइने हुँदा दुवै मारमा पर्ने गरेका छन् । तरकारी बजारको अनुगमनको मुख्य जिम्मा कालिमाटी तरकारी तथा फलफूल विकास समितिको हो । तर, समितिले अनुगमन गर्नुको सट्टा व्यवसायीसँगै मिलेर तरकारी र फलफूलको मूल्य तोक्ने गरेको आपूर्ति मन्त्रालयका कर्मचारी बताउँछन् ।

अनुसन्धान र कारबाही गर्न प्रहरीलाई पत्र
विभागले अनुगमनका क्रममा अवरोध गर्ने व्यवसायी खतिवडा र ढुंगानालाई पक्राउ गरी कानुनअनुसार कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ । विभागले ट्रक चालकलाई पनि आवश्यक कारबाही गर्न पत्र पठाएको छ । ‘उत्पादनदेखि कालिमाटी थोक बिक्रेतास्थलसम्म आइपुग्दा तरकारीको मूल्यवृद्धि सम्बन्धमा अनुगमन गर्दा बा६च ९६४ र बा४च ६६३४ का चालकले तरकारीको खरिदबिक्री बिल पेस नगरेकाले त्यहाँ कालिमाटी वृत्तमा पठाइकोमा प्रचलित नेपाल कानुनबमोजिम आवश्यक कारबाही हुन आदेशानुसार अनुरोध छ,’ पत्रमा उल्लेख छ । विभागका महानिर्देशक गौचनले सिन्डिकेट तोड्ने अभियान सुरु भएको बताए । गाडी चालकका माध्यमबाट तरकारीको ठेकेदार पत्ता लगाउने पनि उनले बताए ।

व्यवसायी छुटाउन लबिइङ
अनुगमनका क्रममा अवरोध गर्ने व्यवसायी खतिवडालाई छुटाउन सरकारी कर्मचारीहरूले नै लबिइङ गरेका छन् । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अध्यक्ष तथा कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता तेजबहादुर सुवेदीले उपभोक्ता संरक्षण विभागमा लबिइङ गरेका हुन् । ‘खतिवडा खराब होइनन्, व्यवसायीको दर्तालगायत विषयमा मंगलबार छलफल छ । तारेखमा छोडिदिनुपर्‍यो भन्दै विभागका महानिर्देशक गौचनलाई आग्रह गरेका थिए,’ विभागका एक कर्मचारीले भने, ‘तर, महानिर्देशक गौचनले छोड्न नमिल्ने भन्दै सीडीओलाई भन्न भने ।’

सुवेदीले भने आफू कसैलाई छुटाउन नगएको दाबी गरे । ‘वस्तुस्थिति जानकारी गराउन गएको हो, छुटाउन होइन,’ उनले भने । यसैबीच, नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले कृषकका कब्जामा लिएको २ गाडी सामान फिर्ता गर्न र पक्राउ गरिएका महासचिव भरतप्रसाद खतिवडालाई तत्काल रिहा गर्न माग गरेको छ । महासंघले सोमबारै विज्ञप्ति जारी गरी माग पूरा नगरिए मंगलबारदेखि नै देशव्यापी रुपमा तरकारी फलफूल बेचबिखन नगर्न व्यवसायीलाई अपिल गरेको छ ।

प्रकाशित : भाद्र ५, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?