कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रधानमन्त्रीद्वारा 'घरघरमा पाइपबाट ग्यास' उद्घाटन

देवनारायण शाह

विराटनगर — प्रधानमन्त्री केपी ओलीले अघिल्लो कार्यकालमा घरघरमा पाइपबाट ग्यास बाँडिने भाषण गरेपछि धेरैले हाँसोमा उडाए । भारतले नाकाबन्दी गरेर ग्यासको अभाव भइरहेको बेला उनको यो भनाई पत्याउनेको संख्या कमै थियो ।

प्रधानमन्त्रीद्वारा 'घरघरमा पाइपबाट ग्यास' उद्घाटन

तर उनै प्रधानमन्त्री ओलीले भाषणलाई सार्थक बनाउँदै मंगलबार विराटनगरको जतुवामा पाइपबाट घरघरमा लगिएको ग्यासको औपचारिक उद्घाटन गरेका छन् ।

तर, यो पाइपबाट भान्छामा ग्यास लैजाने काम भने सरकारले गरेको होइन, नत उनले भने जस्तै खाना पकाउने ग्याँस नै बाँडिएको हो ।

विराटनगर १४ जतुवास्थित श्रीकृष्ण गौसेवा सदनले गरेको हो । सदनमा पालेको गाईको मलबाट बनेको बायो ग्यास प्लाण्टले घरघरमा पुर्‍याइएको हो ।

विराटनगर महानगरपालिकाको जतुवामा पुगेर उनले पाइपबाट भान्छामै पुगेको ग्यासको उद्घाटन गरेका हुन् । जतुवाका ३२ परिवारले गौशालाबाट पाइपमार्फत लगिएको ग्यासले खाना पकाइरहेका छन् ।


पहिलो चरणमा ४ सय मिटर पाइप ओछ्याएर ३२ घरमा ग्यास वितरण गरिएको छ । उपभोक्ताले ग्यास उपभोग गरे वापत प्रति किलो ८४ रुपैयाँ तिर्नुपर्नेछ । यो एलपी ग्यास भन्दा सस्तो हुन्छ ।


सदन समितिले विश्व बैंकको सहयोगमा आर्थिक वर्ष ०७३/७४ मा विद्युत उत्पादन गर्ने उद्देश्यसाथ बायो ग्यास प्लाण्ट निर्माणको ठेक्का नेपाल उर्जा विकास कम्पनीलाई दिएको थियो । तर मुलुकमा लोडसेडिङ अन्त भएपछि समितिले २०७४ फागुनमा ग्यास उत्पादन गर्ने निर्णय गरेको थियो ।


सुरुमा ८४ लाख लागतमा निर्माण थालेको प्लाण्टलाई ग्यास उत्पादन गरेर पाइपमार्फत घरघरमा आपुर्ति गर्ने निर्णय गरेपछि लागत १ करोड २५ लाख रुपैयाँ पुगेको थियो । सुरुमा लागत मूल्यको २० प्रतिशत अर्थात् १६ लाख रुपैयाँ गौ सेवा सदनले चन्दा संकलन गरेर बैंक खातामा जम्मा गरेको थियो । सरकारको वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रमार्फत २० प्रतिशत अर्थात् २० लाख रुपैयाँ थपेर ४० लाख उपलब्ध गराइदिएको छ । उक्त रकम विराटनगर महानगरपालिकामा सरकारले पठाइसकेको जिल्ला समन्वय समितिका वातावरण तथा ऊर्जा अधिकृत ज्ञानेन्द्र सिंहले बताए । उनले विश्व बैंकले ८५ लाख अनुदान सहयोग उपलब्ध गराएको बताए ।


३ सय २० घनमिटरको यस बायो ग्यास प्लाण्टमा दैनिक १ सय ६० किलो ग्यास उत्पादन हुन्छ । यो ग्यास तीन किलोमिटर क्षेत्रमा १ सय ५० घरलाई पुग्छ तर प्लाण्ट भएको क्षेत्रमा बाक्लो बस्ती नभएकोले अहिले एक किलोमिटर क्षेत्र वरपरका ८० घरमा मात्रै आपुर्ति गर्ने निर्णय भएको सदनका पदाधिकारीले बताएका छन् ।


सेन्थेटिकको ठूलो ट्यांकमा उत्पादन भएको ग्यास जम्मा गर्दै आपूर्ति थालिएको छ । यो ग्यास प्लाण्टले वार्षिक एक हजार सिलिण्डर एलपी ग्यास प्रतिस्थापन गर्नेछ ।


महानगरका उद्योगी–व्यवसायी र स्थानीय बासिन्दाको सहयोगमा गौसेवा सदन चलेको छ ।

प्रकाशित : भाद्र ५, २०७५ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?