१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पहिलो मुद्दालाई स्वागत

प्रकाश बराल

बागलुङ — अदालतमा मुद्दा दर्ता गराउनेलाई स्वागत गरिएला ? अदालतमा मुद्दा दर्ता गराउन आउनेलाई स्वागत गरिएको पाइदैन । जिल्ला अदालत बागलुङले भने मंगलबार पहिलो पटक मुद्दा लिएर गएका पक्षलाई फूलअबिरले स्वागत गरेको छ । 

पहिलो मुद्दालाई स्वागत

मुलुकी देवानी संहिता र फौजदारी संहिता लागू भएपछिको पहिलो मुद्दा परेकोले मंगलबार जिल्ला अदालतमा सार्वजनिक कार्यक्रम गरेर जिल्ला न्यायाधीश प्रकाश प्रसाद पण्डित, स्रेस्तेदार रामबहादुर थापा क्षेत्री लगायतले मुद्दाका पक्षहरुलाई स्वागत गरेका हुन् ।


नयाँ संहिता बारे केही अन्यौल रहेकोले कानून व्यवसायीहरु अलमलमा परेका छन् । साउन मसान्तमा धेरै मुद्दा दर्ता भएर पुराना कानून अनुसार चलेका केही मुद्दा बाहेक ४ दिन मुद्दा परेका थिएनन् ।


बागलुङ नगरपालिका ८ सिगानाका ३८ वर्षीय जीतबहादुर थापाले श्रीमती यमुना विरुद्ध सम्बन्ध बिच्छेदको मुद्दा दिएका हुन् । नयाँ मुलुकी देवानी संहिताको दफा ९४ क अनुसार यो मुद्दा दर्ता भएको अधिवक्ता राम शर्माले बताए । वैदेशिक रोजगारी बाट फर्केपछि मनमुटाव भएपछि थापाले सम्बन्ध बिच्छेदको मुद्दा दिएका हुन् ।


पुरुषले अदालतमा आएर सम्बन्ध बिच्छेदको मुद्दा दिएको अहिले सम्मकै पहिलो उदाहरण भएको स्रेस्तेदार रामबहादुर थापा क्षेत्रीले बताए । ‘यस्ता केश आएका थिएनन्, अहिलेको नयाँ संहितामा पनि यो पहिलो मुद्दा भएको छ ।’


यसअघि मुद्दा लिएर आएपछि तत्काल सम्बन्ध बिच्छेद गराउन सक्ने प्रावधान थियो । संहिताले एक वर्षसम्म अदालतमा रहेपछि मात्र विच्छेद हुने प्रावधान राखिएकाले मुद्दाको किनारा लाग्न भने समय लाग्नेछ ।


जिल्ला अदालतमा मंगलबारै चेक अनादर मुद्दा पनि दर्ता भएको छ । बागलुङ नगरपालिका २ का व्यवसायी उमेश केसीले अनादर मुद्दामा मुद्दा दायर गरेका हुन् । केसीबाट ५ लाख रुपैयाँको कारोबार गरेका पोखराका सरोज गौतमले भुक्तानीका लागि दिएको चेक पैसा नभएको खाताको थियो ।


बैंकिङ कसुरको रुपमा मनिने यो मुद्दा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ रहँदा सर्वोच्च अदालतले चेक अनादर मुद्दामा फौजदारी कसुर सरह कारबाही गर्ने नजिर बसालेको छ । यो मुद्दालाई अधिवक्ता भूमिश्वर गौतमले लेखेका थिए ।

प्रकाशित : भाद्र ५, २०७५ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?