१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रधानमन्त्रीद्वारा गाडी नकिन्न जनप्रतिनिधिलाई निर्देशन

‘कर नउठाई कहाँबाट ल्याएर दिनु ?’
लीलावल्लभ घिमिरे

विराटनगर — प्रधानमन्त्री केपी ओलीले प्रदेश र स्थानीय तहका प्रतिनिधिलाई गाडी नकिन्न निर्देशन दिएका छन् । मंगलबार नेकपा प्रदेश कमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफूभन्दा पहिला जनतालाई ध्यानमा राख्न आग्रह गरे ।

प्रधानमन्त्रीद्वारा गाडी नकिन्न जनप्रतिनिधिलाई निर्देशन

‘तपाईंहरू पहिला आफूलाई गाडी किन्ने काम नगर्नुस्, यस्ता कुरामा सधैं होसियार रहनुपर्छ,’ उनले भने, ‘पहिला म र मेरा लागि होइन, जनताका लागि भन्ने हेक्का सबैमा हुनुपर्छ ।’


जनताले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिँदै उनले जनताले वामपन्थीलाई कुर्सीमा बस्नका लागि मात्र सरकारमा नपठाएको बताए । ‘जनताले मन पराउने काम गर्नुस्, सस्तो लोकप्रियताका लागि झूट नबोल्नुस्,’ ओलीले भने, ‘देश बनाउने जिम्मा हाम्रो काँधमा छ, अर्को वर्ष सबै थोकमा फरक हुनुपर्‍यो । धान अघिल्लो वर्षभन्दा बढी फल्नुपर्‍यो, व्यापार घाटा घट्नुपर्‍यो ।’ पहिले अनुभव नभएका कारण प्रदेश र स्थानीय सरकार सञ्चालनमा केही समस्या देखिएको प्रधानमन्त्रीले बताए । ‘केही कमजोरी भए पनि हल्ला चलाएजस्तो भने होइन,’ उनले भने, ‘गल्ती भएको ठाउँमा सुधार गर्नुपर्छ ।’


‘कर नउठाई कहाँबाट ल्याएर दिनु ?’


प्रधानमन्त्री ओलीले पहिले पनि सबैजसो कुरामा कर तिरिँदै आएको र अब पनि आयमा मात्र कर लाग्ने बताए । ‘लिपस्टिकमा पनि कर तिरैकै हो, अहिले केको कोलाहाल नि ?’ उनले भने, ‘सय माउ भैँसी पाल्दा कर लाग्दैन तर एउटा बिक्री गर्दा लाग्छ । हजार लिटर दूध उत्पादन गर्दा कर लाग्दैन, बेचेपछि लाग्छ । आयमा मात्र कर लाग्ने हो, यसमा आत्तिनुपर्ने कुरा छैन ।’ ओलीले प्रश्न गरे, ‘जनताबाट कर नउठाउने अनि जनतालाई चाहिँ सरकारले सबै थोक दिनुपर्ने ? कहाँबाट ल्याएर दिनु ?’ कहीँ–कतै अनुभवको कमीका कारण अनावश्यक कर लगाइएको भए तत्काल सच्याउन उनले स्थानीय तहलाई आग्रह गरे । धेरैजसो स्थानीय तह र ६ वटा प्रदेश सरकारसहित केन्द्रीय सरकार नेकपाको एकलौटी भएकाले नफुर्की जनपक्षीय काम गर्न ओलीले अग्रह गरे । ‘अब प्रचण्डजी र मेरो उमेर ढल्किसक्यो, हामीले जिन्दगीमा केही पाउनुछैन, दुवै जनाले देशका लागि केही गर्ने अठोट गरेका छौं,’ ओलीले भने । आफूहरूसँग धृतराष्ट्रको जस्तो पुत्रमोह नभएकाले अनुहार नहेरी भ्रष्टाचारीलाई कारबाही गर्ने उनले बताए ।


ओलीले आफूहरू भारतविरोधी नभएको प्रस्ट पारे । ‘अघिल्लो पटक प्रधानमन्त्री हुँदा मुलुकमा नाकाबन्दी थियो । भारतसँग खुलस्त कुरा गरेर नाकाबन्दी खोलेँ,’ उनले भने, ‘दुई देशबीच कुनै समस्या छैन । खुला सीमा भएकाले सानातिना समस्या आउन सक्छन् । छिमेकीको सानो बच्चा आएर आज आफ्नो घरमा सिसाको कप फुटायो भने पर्सि आफ्नो नानीले छिमेकीकोमा गएर प्लेट फुटाइदिन्छ । यसमा कुनै कोलाहाल गर्ने कुरा आउँदैन् । एउटा छिमेकीविरुद्ध अर्कोलाई कार्डका रूपमा प्रयोग गर्ने काम अब हुँदैन ।’


नेकपाका अध्यक्षसमेत रहेका ओलीले जिल्लास्तरसम्म केही विवाद भए पनि कार्यकर्ता तहमा कुनै विवाद नरहेको बताए । ‘जिल्ला अध्यक्ष र सचिवसम्मका पदमा केही विवाद छ । केही केही ग्रन्थी समातेर बस्नेहरू छन्,’ उनले भने, ‘पूर्वएमालेको समूह बनाए पावर बढ्ने र पूर्वमाओवादी केन्द्रको समूह मिलाएर पद पाउने सपना नदेखे हुन्छ । यो पार्टी झुन्डझुन्ड मिलाएर एक बनाएको होइन, चिनीलाई पानीमा घोले जस्तै हो । अब गुट होइन, योग्यता र क्षमता भएकाले नै पाउँछन् ।’


प्रकाशित : भाद्र ५, २०७५ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?