चितुवाले मार्‍यो चितुवा

आश गुरुङ

लमजुङ — घलेगाउँका हर्कबहादुर घले मंगलबार दिउँसो बारीमा जाँदा मकैको बोट हल्लिरहेको देखे । नजिकै गएर हेर्दा कुनामा चितुवा छटपटाइरहेको रहेछ । उनको मुटुले ठाउँ छोड्यो । बिरालोको चालमा पछाडि सरे ।

चितुवाले मार्‍यो चितुवा

डिलमा पुगेर वरपरका मान्छेसँग सहयोग मागे । एकछिनमै गाउँले जम्मा भए । हल्लीखल्ली भएपछि चितुवा दौडेर गाउँतर्फ छिर्‍यो । गाउँले पछिपछि दौडिए । चितुवा केशमान गुरुङको पिँढीमा पस्यो । ‘घरमै चितुवा छिरेपछि हामी डरायौं,’ केशमानले भने, ‘बूढाहरूले जिस्क्याउनु हुन्न भनेपछि घरपछाडि गएर करायौं । चितुवा निस्केर बगुम जाने बाटो हुँदै जंगलतर्फ पस्यो ।’


स्थानीयका अनुसार त्यसले निगाले चितुवा मारेर ल्याएको रहेछ । निगाले चितुवालाई लुछेर खाने क्रममा हर्कबहादुर बारीमा पुगेका थिए । ‘मकैको बोट हल्लिरहेको देखेपछि नजिक गएँ । चितुवा देखेपछि सातो उड्यो । बल्लबल्ल डिलसम्म आएर चिच्याएँ,’ उनले भने, ‘चितुवा जंगल पसेपछि हामी त्यही बाटो गयौं । त्यहाँ त्यसैले मारेको निगाले चितुवा रहेछ ।’ केही मासु खाइसकेको अवस्थामा निगाले चितुवा भेटिएको ग्रामीण पर्यटन व्यवस्थापन समिति घलेगाउँका कार्यालय सचिव दीर्घ घलेले बताए ।


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय भुजुङअन्तर्गत घलेगाउँ चेकपोस्टकी स्वास्थ्य सहायक ललिता गुरुङका अनुसार फलमासु खाइसकेको अवस्थामा निगाले चितुवा भेटिएको हो । जंगलबाटै मारेर मकैबारीमा ल्याएको हुन सक्ने उनले बताइन् । ‘एक्याप इलाका कार्यालयसँगको समन्वयमा स्थानीय भद्रभलादमीको रोहबरमा मुचुल्का गरी हामीले गाउँमै निगाले चितुवालाई गाढ्यौं,’ उनले भनिन् ।


घलेगाउँलगायत त्यहाँका साविक ८ गाविस एक्यापको संरक्षित क्षेत्रभित्र पर्छ । स्थानीयका अनुसार ठूला जंगली जनावरले सानालाई खाने गरे पनि चितुवालाई चितुवा मारेको घटना नौलो हो ।

प्रकाशित : भाद्र ६, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?