कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कांग्रेसमा नेतृत्व हत्याउने होड

महाधिवेशन सार्ने षड्यन्त्र हुँदैछ : पौडेल
पौडेलकै कारण ढिलाइ भएको हो : निधि

काठमाडौँ — सभापति शेरबहादुर देउवाले एक वर्ष कार्यकाल बढाउन पार्टीको महासमिति बैठक पछि धकेल्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूह आक्रोशित भएको छ । गत वैशाखमै केन्द्रीय कार्यसमिति बैठकले यही भदौमा महासमिति बैठक गर्ने निर्णय लिएको थियो ।

कांग्रेसमा नेतृत्व हत्याउने होड

भदौमा महासमिति बैठक हुन नसके देउवा असफल बन्ने भन्दै पौडेल पक्षले उनीमाथि नैतिक प्रश्न तेस्र्याएको छ । ‘महासमिति पर धकलेर नियमित महाधिवेशन नगर्ने षड्यन्त्र हुँदै छ,’ पौडेलले सोमबार कान्तिपुरसँग भने, ‘आफ्नो स्वार्थका लागि पार्टीलाई जोखिममा पार्ने काम हुन दिनु हुन्न ।’ अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि भदौमा महासमिति बैठक हुन नसके देउवा असफल हुने बताए । आफ्नो अनुकूल परिस्थितिको पर्खाइमा महासमिति सार्दै जाँदा देउवाले झनै प्रतिकूल वातावरण भोग्नुपर्ने उनको चेतावनी छ ।


देउवाले महासमिति पछि धकेल्दा डेढ वर्षपछि गर्नुपर्ने नियमित १४ औं महाधिवेशनसमेत प्रभावित हुने पौडेलले बताए । विधानमा असाधारण परिस्थिति परे त्यसको कारण खोली एक वर्ष कार्यकाल बढाउन सक्ने व्यवस्था छ । देउवा विधानको त्यही व्यवस्थामा टेकेर कार्यकाल लम्ब्याउने योजनामा लागेको बुझाइ पौडेल पक्षको छ ।


उपसभापति विमलेन्द्र निधि भने त्यसलाई ठाडै अस्वीकार गर्छन् । ‘देउवाजीबाट महाधिवेशन लम्ब्याउने षड्यन्त्र भएको छैन, बरु पौडेलजीबाटै भएको छ,’ उनले भने, ‘सभापतिले आफ्नो अधिकार प्रयोग गरेर काम गर्न नपाउँदा समस्या आएको हो ।’ निधिका अनुसार पार्टीको विधान संशोधनका लागि समिति गठनमा पौडेलकै कारण ढिलाइ भएको हो । समितिले फास्ट ट्रयाकमा काम सके भदौभित्रै महासमिति बैठक हुन सक्ने उनले बताए । ‘मैले कैयौंपटक पौडेलजीको घरमा गएर समिति गठनका लागि सदस्यको नाम दिन आग्रह गरें तर उहाँले महिनौंसम्म दिनुभएन,’ उनले भने, ‘विधानबमोजिम काम गर्न नदिएपछि षड्यन्त्र भयो भन्नु गलत हो ।’


महासमितिमा प्रस्तुत हुने प्रमुख एजेन्डा नै विधान संशोधन हो । महासमिति बैठकको दुई तिहाइले मात्रै विधानमा संशोधन र परिमार्जन गर्न सक्छ । प्रवक्ता विश्वप्रकाश शर्माले भदौमा सम्भव नभए पनि दसंैअघि महासमिति बैठक हुनेमा निश्चिन्त रहन आग्रह गरे ।


पौडेल पक्षले विधान मस्यौदा समितिमा आफ्नो पक्षबाट चार जनाको नाम तीन साताअघि नै दिए पनि देउवाले तत्काल समिति घोषणा गरेनन् । यसलाई महासमिति सार्ने ‘षड्यन्त्र’ का रूपमा पौडेल पक्षले बुझेको छ । ‘तीन साताअघि नै नाम पठाउँदा पनि बहानाबाजी गरिँदै छ,’ पौडेलले भने, ‘महासमिति बैठक सार्दै महाधिवेशन लम्ब्याउने कोसिस भइरहेको छ ।’ देउवाले मस्यौदा समिति गठनका लागि शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् ।


सभापतिप्रति नरम बन्दै आएका महामन्त्री शशांक कोइरालाले पनि महासमिति बैठक सार्न खोजिएको भन्दै असन्तुष्टि जनाइसकेका छन् । यसअघि उनले देउवालाई साथ दिँदै आएका थिए । आइतबार विराटनगरको एक कार्यक्रममा कोइरालाले सभापतिको कार्यशैलीप्रति असन्तुष्टि पोखेका हुन् ।


नेतृत्व लिने रणनीति
सभापति देउवा र संस्थापनइतर पक्षका नेताहरू १४ औं महाधिवेशनबाट नेतृत्व हात पार्ने रणनीतिमा लागेका छन् । पार्टी नेतृत्वमा रहेका तीन कोइराला (शशांक, शेखर र सुजाता) ले आफूहरूमध्येबाटै आगामी महाधिवेशनमा एक जना सभापति उम्मेदवार बन्ने सार्वजनिक घोषणा गरिसकेका छन् । देउवा पार्टीलाई लथालिंग अवस्थामै राखेर महाधिवेशन गराउने पक्षमा छैनन् । त्यस्तो अवस्थामा आफूविरुद्धको जनमत अझ खस्कने डर उनमा छ ।


निर्वाचनमा पराजयको दोष देउवालाई दिए जनमत बढाउन संस्थापनइतर पक्ष गोलबन्द छ । देउवा अनुकूल परिस्थिति निर्माण गर्ने योजनासाथ अघि बढ्ने रणनीतिमा छन् । त्यसैले उनी विजय गच्छदारलगायत तत्कालीन फोरम लोकतान्त्रिकका नेता–कार्यकर्ताको व्यवस्थापन गर्नेतर्फ केन्द्रित भएका छन् । यो समूहलाई व्यवस्थापन गर्न सके पार्टीभित्र आफ्नो पकड सुदृढ हुने उनको बुझाइ छ ।


‘त्यसका लागि विधान अनुकूल बनाएर पार्टीका विभाग र अन्य समितिमा व्यवस्थापन गर्ने देउवाको चाहना छ,’ एक केन्द्रीय सदस्यले भने, ‘केन्द्रीय कार्यसमितिको सबै संरचनामा पकड कायम गरेपछि मात्रै महाधिवेशनमा जाने सोचमा देउवा छन् ।’


नेविसंघ तदर्थको बाटोमा
वरिष्ठ नेता पौडेलले विद्यार्थी संगठन नेविसंघको अधिवेशन मिति तत्काल तोक्न माग गरेका छन् । संघको वर्तमान कार्यसमितिको कार्यकाल भदौ ३ बाट सकिएको छ । उसले अधिवेशनको तिथि तोक्नसमेत सकेन । पार्टीले अधिवेशनका लागि भन्दै कार्यसमितिको म्याद तीन महिना थप गरेको छ । तीन महिनामा अधिवेशन हुन नसके कार्यसमिति स्वत: विघटन हुने व्यवस्था विधानमा छ ।


नेविसंघलाई तदर्थ समितिमार्फत चलाउन खोजिएको भन्दै पौडेल पक्षले तत्काल अधिवेशन माग गरेको हो । ‘क्याम्पस, क्षेत्र र जिल्लाको अधिवेशन तत्काल तोक्न म आग्रह गर्छु,’ पौडेलले भने, ‘संघको अधिवेशन नगराई तदर्थवादमा चलाउने बाटो रोजिए दुर्भाग्य हुनेछ ।’


प्रकाशित : भाद्र ६, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?