कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सञ्चालकहरुबीचको विवादका कारण विद्यार्थीको पढाइ अन्योलमा

नेपाल इन्जिनियरिङ कलेज विवाद 
लीला श्रेष्ठ

भक्तपुर — भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकबीचको द्विपक्षीय विवादका कारण विद्यार्थीको भविष्य अन्योलमा परेको छ । विभाजितमध्ये एक पक्षीय सञ्चालक नियमित कलेज आउने गर्छन् भने, अर्कोपक्षका कलेजबाहिर आफूखुसी बैठक बसी विभिन्न निर्णय गर्ने तथा कलेजको बैंक खातासमेत बन्द गरेका छन् । 

सञ्चालकहरुबीचको विवादका कारण विद्यार्थीको पढाइ अन्योलमा

संस्थाको सञ्चालक समितिमा संस्थापक सदस्यका तर्फबाट ७, स्थानीय समाजसेवीका तर्फबाट १, अभिभावक र विश्वविद्यालयको प्रतिनिधित्व गर्ने एक/एक र प्राचार्य सदस्यसचिव गरी ११ सञ्चालक छन् । सञ्चालकमध्ये ७ संस्थापक सञ्चालक (लम्बोदर न्यौपाने, सूर्यबहादुर केसी, डा. रामरत्न उपाध्याय, डा.उपेन्द्र गौतम, लवराज भट्टराई, हरिप्रसाद पाण्डे र सलिल भट्टराई) छन् । अभिभावकका तर्फबाट डा. दीपक भट्टराई, स्थानीय समाजसेवीका तर्फबाट चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्र र पोखरा विश्वविद्यालयको प्रतिनिधि अर्जुन गौतम तथा कलेजका प्राचार्य डा. हरिकृष्ण श्रेष्ठ छन् ।


संस्थापक ७ सञ्चालकमध्ये अध्यक्ष लम्बोदर न्यौपानेसहित सूर्यबहादुर केसी, डा.रामरत्न उपाध्याय, डा.लवराज भट्टराई र उपेन्द्र गौतम गरी ५ एक पक्षमा छन् भने सलिल भट्टराई र हरिप्रसाद पाण्डेलगायत अर्को पक्षमा छन् ।

२०५१ बाट गैरनाफामूलक संस्थाका रूपमा सञ्चालित इञ्जिनियरिङ कलेजलाई अध्यक्ष लम्बोदर न्यौपाने पक्षका सञ्चालकले प्रालि बनाउने र सम्पूर्ण सम्पत्ति हडप्ने, कलेजलाई चाँगुनारायणबाट अन्यत्रै सार्ने र पोखरा विश्वविद्यालयको सम्बन्धन खारेज गरी मध्यपश्चिम विश्वविद्यालयबाट नयाँ सम्बन्धन लिने प्रयास गरेपछि विवाद सुरु भएको थियो । विवादपछिको विरोध तथा आन्दोलनपछि कम्पनी रजिस्टारको कार्यालयमा २०७४ वैशाख २५ मा दर्ता भएको नेपाल इन्जिनियरिङ कलेज प्रालि विधिवत् खारेज गरिसकेको जनाएको छ ।


विवाद समाधान गर्न पछिल्लो पटक जिल्ला प्रशासन कार्यालय भक्तपुरले गत असार १९ मा कलेजका सञ्चालकसँग आवश्यक कागजात माग गरी छानविन गरिरहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको संयोजकत्वमा गठित छानविन समितिलाई प्रतिवेदन पेस गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए ।


समितिले डेढ महिनासम्म कुनै विवरण नदिएका कारण विद्यार्थीको भविष्य थप अन्योलमा परेको सञ्चालक सलिल भट्टराईले बताए । नयाँ शैक्षिक सत्रका लागि प्रवेश परीक्षा दिएका ५ सय ६७ मध्ये मंगलबारसम्म १ सय ३३ विद्यार्थी भर्ना भइसकेका छन् । कलेजमा हाल २ हजार १ सय विद्यार्थी अध्ययनरत छन् । नयाँ शैक्षिक सत्रमा स्नातकमा ५ सय २८ र स्नातकोत्तरमा १ सय २० विद्यार्थी थपिने कलेज प्रशासनले जनाएको छ ।


कलेजलाई सम्बन्धन दिएको पोखरा विश्वविद्यालयले विवाद समाधान गर्न दुवै पक्षलाई बोलाए पनि अध्यक्ष लम्बोदर न्यौपाने गएका छैनन् । ‘विश्वविद्यालयले सामुदायिक कलेजको रूपमा सम्बन्धन दिएको हो,’ पोखरा विश्वविद्यालयका रजिष्ट्रार गोविन्दप्रसाद शर्माले भने, ‘विद्यार्थीको भविष्यलाई विचार गर्दै कलेज सञ्चालन गर्नुपर्छ ।’

सञ्चालकले गैरनाफामूलक संस्था (सामुदायिक) का रूपमा सञ्चालन गर्न नसक्ने हो भने विश्वविद्यालयले आंगिक क्याम्पसको रूपमा चलाउन तयार रहेको उनले बताए ।

यो पनि पढ्नुहोस् :

गैर नाफामूलक संस्थाको सम्पत्ति सञ्चालकहरूलाई भागबन्डा
कलेजको सम्पत्ति हत्याउन फर्जी कम्पनी
निजीकरणविरुद्ध नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीद्वारा जिल्ला प्रशासन र नगरपालिकामा धर्ना
इन्जिनियरिङ कलेजमा अनियमितता: ‘झन्डै २० करोड हिनामिना’


प्रकाशित : भाद्र ६, २०७५ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?