२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कालीमाटी तरकारी बजार खुला

रासस

काठमाडौँ — अनुगमनको क्रममा विरोध भएपछि गत सोमबारदेखि बन्द कालीमाटी तरकारी बजार बुधबारदेखि खुलेको छ । 

कालीमाटी तरकारी बजार खुला

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट खटिएको अनुगमन टोलीलाई दुर्व्यवहार गरेपछि विवाद हुँदा काठमाडौँ उपत्यकाको मुख्य तरकारी बजार बन्द रहेको थियो ।


व्यापारी विष्णु कँडेलका अनुसार व्यापारी र सरकारी अनुगमन टोलीबीच गत सोमबार विवाद भएपछि बन्द बजार आजदेखि खुलेको हो । तर पनि पहिलेको जति चहलपहल भने हुनसकेको छैन् । यसअघि दैनिक साढे ५ सय टनसम्म तरकारी तथा फलफूल भित्रिने गरेको थियो । आज भने करीब चार सय टन मात्र आएको व्यापारी कँडेलले बताए । पछिल्लो समय सरकारले बजार अनुगमन दैनिक रुपमा नै गर्दै आएको छ ।


अनुगमन टोलीले यसअघि धादिङ, चितवन, मकवानपुरलगायत जिल्लामा पुगी किसानले पाउने र उपभोक्ताले तिर्ने मूल्यबारे जानकारी लिएको थियो । किसानले पाउने मूल्यको चार गुणा बढीसम्म व्यापारीले उपभोक्ताबाट रकम लिने गरेकोले अनुगमनको क्रममा पाइएको थियो ।


अनुगमन टोलीलाई विरोध गर्न मुख्यभूमिका खेलेको भन्दै फलफूल तथा तरकारी व्यवसायी सङ्घका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरिएको थियो । सरकारी अनुगमनको विरोधमा उत्रिएका व्यवसायीले मङ्गलबार अबेर मात्र आन्दोलन फिर्ता लिएका थिए ।


अनुगमन जानकारी बिना नै गर्ने र अब गरिने जुनसुकै क्षेत्रको अनुगमनमा विरोध गरे सरकारले कारबाही गर्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिए ।

प्रकाशित : भाद्र ६, २०७५ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?