१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

नजिकिँदै कोइराला दाजुभाइ, पार्टी नेतृत्वमा आउने रणनीति

‘शेखर दासँग कुरा भइरहेको छ । हामीमध्ये एकजना सभापतिका उम्मेदवार बन्नेमा शंका छैन । तर म कि ‘दा’ भन्ने अन्तिम टुंगो लाग्न बाँकी छ’ – शशांक कोइराला ।
लीलाबल्लभ घिमिरे

विराटनगर — कांग्रेस महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइरालाबीच पछिल्लो समय भेट र छलफल बाक्लै हुन थालेको छ । यसपटक एउटै कार्यक्रमलाई सम्बोधन गर्न आएका दुई नेताको बास पनि एकै घरमा भयो । अरू बेला विराटनगर आउँदा होटलमा बस्ने शशांक यसपालि पिताजीको घर कोइराला निवासमा बसे । उनले त्यहाँ एक रात बिताए ।

नजिकिँदै कोइराला दाजुभाइ, पार्टी नेतृत्वमा आउने रणनीति

पुरानो घर शेखरको अंशमा परेको छ भने शशांक र प्रकाशको भागमा परेको जग्गा बिक्री भइसकेको छ । सुजाता कोइरालाले आफ्नो भागमा परेको जग्गामा घर बनाएकी छन् ।

निकै अघि शेखर, शशांक र सुजाता कोइरालाको सामूहिक तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै तीनैजनालाई एक हुन दबाब बढेको थियो । दाजु शेखरको घरमा बसेका शशांकलाई निवासमा पुगेका कार्यकर्ताहरूले २ मध्ये एकजना चौधौं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न आग्रह गरे । थोरै बोल्ने तर हाँसिरहने शशांकले प्रस्ट जवाफ कार्यकर्तालाई दिएनन् । टाउको हल्लाएर स्वीकृति प्रदान गरे जस्तो गरे ।


शनिबार ‘प्रजातान्त्रिक विचार समाज’ ले आयोजना गरेको कार्यक्रममा पनि विराटनगरका वुद्धिजीवी र जिल्लाका अगुवा नेता कार्यकर्ताले दुईमध्ये एकजनाले पार्टीको नेतृत्व लिन दबाब दिएका थिए । मन्तव्यमा त्यसबारे केही पनि नबोलेका शशांकले कार्यक्रमपछि संवाददाताहरूसँग भने २ मध्ये एकजना अघि बढ्ने खुलासा गरेका थिए ।


‘शेखर दासँग कुरा भइरहेको छ । हामीमध्ये एकजना सभापतिका उम्मेदवार बन्नेमा शंका छैन,’ उनले भने, ‘तर म कि ‘दा’ भन्ने अन्तिम टुंगो लाग्न बाँकी छ ।’ उम्मेदवारीका विषयमा सुजाता, शेखर र आफूबीच पटकपटक कुरा भएको शशांकले बताए । ‘समय आएपछि एकैमतको निर्णय आउनेछ,’ उनले भने, ‘को हुने भनेर अहिले नै निर्णय गर्ने बेला पनि भएको छैन ।’ तर यस अघि नै शेखरले भने आफु सभापतिको उम्मेदवार बन्ने घोषणा गरी सकेका छन् । शेखरको दौडाहा जिल्ला जिल्लामा बाक्लिँदै गएको छ ।


‘यहाँ पनि दुई जनाबीच आगामी नेतृत्व र पार्टीको गिर्दो साखका बारेमा गहन छलफल भयो,’ प्रदेशसभा सदस्य केदार कार्कीले भने, ‘दुई जनामध्ये एक जना उठ्ने कुरामा अब शंका छैन ।’ दुई दाजुभाइबीच भएको गहन सल्लाहको कारण शशांकले सभापति शेरबहादुर देउवाको विरोधमा बोल्न थालेको कार्यकर्ताहरूको बुझाइ छ । शेखर भने केही समय अघिबाट देउवाविरुद्ध आक्रामक बन्दै आएका छन् ।

तेह्रौं महाधिवेशनमा शेखरले महामन्त्रीमा लड्ने तयारी गरेका थिए । तर अन्तिममा आएर शशांक उठ्ने भएपछि उनी पछि हटे । पछिल्लो समय पार्टी सुधारको एजेन्डा बोकेर शेखर जिल्ला घुमिरहेका छन् । तर त्यसलाई कार्यकर्ताहरूले आगामी नेतृत्वको दौडका रूपमा लिएका छन् । ‘शेखर दा मैदानमा उत्रने कुरामा कुनै शंका छैन । यति मात्र हो, आम कार्यकर्ताहरूले दुईजनामा सहमति गर्नुहोस् भन्ने चर्को दबाब छ,’ कार्कीले भने, ‘त्यसका लागि आन्तरिक छलफल भइरहेको छ ।’

प्रजातान्त्रिक विचार समाजले आयोजना गरेको कार्यक्रममा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी थिए । कार्यकर्ताहरूले सिटौलालाई दुई दाजुभाइबीच एकता गराउन आग्रह गरेका थिए । महाधिवेशसनमा तेस्रो पोल खडा गरी सभापति पदमा उम्मेदवार बनेका सिटौलाले दोस्रो चरणको मतदानमा देउवालाई सहयोग गरेका थिए । पछिल्लो समय देउवासँगको सम्बन्धमा चिसोपन आएपछि सिटौला कोइरालाहरूसँग नजिकिएका छन् ।


प्रकाशित : भाद्र ६, २०७५ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?