प्रधानमन्त्रीको विगारिएको तस्बिर शेयर गर्ने वडा सचिवलाई पाँच दिन थुनामा राख्न आदेश

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रहरीले काभ्रेको रोशी–५ का वडा सचिव होमनाथ सिग्देललाई काठमाडौं जिल्ला अदालतबाट ५ दिन थुनामा राखी अनुसन्धान गर्न म्याद लिएको छ ।

प्रतिकात्मक तस्बिर

मंगलबार भक्तपुरबाट पक्राउ परेका सिग्देलमाथि महानगरीय अपराध महाशाखाले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ।

Yamaha

नायब सुब्बा सिग्देलले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीको टाउको जनावरको शरीरमा जोडिएको फोटो सेयर गरेको महाशाखाको भनाइ छ। प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले सुरुमा फोटो पोस्ट गर्नेको पनि खोजी भइरहेको बताए।

कसको उजुरीमा सिग्देललाई पक्राउ गरिएको भन्नेबारे भने महाशाखाले फरक–फरक धारणा सार्वजनिक गरेको छ। प्रवक्ता उप्रेतीले महाशाखाको साइबर शाखाले गर्ने नियमित अनुगमनका क्रममा सिग्देल नोटिसमा परेको जनाए।

तर महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले सार्वजनिक सरोकारका मुद्दामा चासो राख्ने एक व्यक्तिको उजुरीका आधारमा पक्राउ परेको बताए। उनले भने, ‘लिखित उजुरीकै आधारमा समातेका हौं। थप अनुसन्धान भइरहेको छ।’

उप्रेतीले साइबर अपराधका १६ सय मुद्दा महाशाखाले हेरिरहेको जनाउँदै भने, ‘यो नयाँ कुरा होइन। यसअघि पनि यस्तै अभियोगमा धेरै पक्राउ परेका छन्।’ किन फोटो पोस्ट गर्नेभन्दा सेयर गर्ने पहिले पक्राउ परे भन्ने प्रश्नमा उनले पोस्ट गर्नेको खोजी भइरहेको बताए।

विद्युतीय कारोबार ऐनको दफा ४७ ले कम्प्युटर, इन्टरनेटलगायत विद्युतीय सञ्चारमाध्यममा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्न रोकेको छ।

त्यस्ता सामग्री प्रकाशन/प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै हुने उल्लेख छ। महाशाखाले ऐनको यही दफा टेकेर सिग्देललाई पक्राउ गरिएको जनाएको छ।

रोशी गाउँपालिका अध्यक्ष दलबहादुर लामाले वडा सचिव पक्राउ परेको थाहा पाएपछि अपराध महाशाखामा सम्पर्क राखेको बताए। ‘के–के साइबर क्राइम गर्‍यो रे’, उनले भने, ‘भ्रम फैलाउने कुरा गर्‍यो रे।’ अध्यक्ष लामाले माथिको आदेशअनुसार कर्मचारी समातिएको जवाफ महाशाखाका अधिकारीले दिएको जनाउँदै भने, ‘हाम्रो पहुँचभन्दा माथिको कुरा पर्‍यो। हामी त सानो गाउँको मान्छे।’

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालले साइबर क्राइममा सहभागी हुने जो कोहीप्रति ऐन आकर्षित हुने र कर्मचारी हुँदैमा कानुनले छुट नदिने बताए। उनले भने, ‘सेयर गर्नेले पनि नगर्नुपथ्र्यो। कर्मचारी वा अरू व्यक्ति सबैले बुझ्नुपर्छ, कानुनबारे थाहा छैन भन्न पाइँदैन।’

अधिवक्ता एवं विद्युतीय कारोबारसम्बन्धी कानुनका जानकार बाबुराम अर्यालले प्रचलित कानुनको शाब्दिक व्याख्यामात्रै गर्ने कि सन्दर्भ पनि हेर्ने भन्ने प्रश्नका आधारमा सचिव पक्राउको मुद्दालाई हेर्न सकिने बताए। उनले भने, ‘सेयर गरेकै आधारमा प्रधानमन्त्रीप्रति घृणा वा द्वेष फैलाउने काम गर्‍यो भनेर पनि बुझ्न सकिन्छ। अथवा सेयर गरेकै आधारमा पक्राउ गर्नैपर्ने परिस्थिति किन आयो? के त्यसैका आधारमा राज्यसत्तालाई चुनौती पुगेको थियो त भनेर पनि विश्लेषण गर्न सकिन्छ।’

अर्यालको बुझाइमा विद्युतीय कारोबार ऐनको प्रयोगमा अभिव्यक्ति स्वतन्त्रताको कुरा पनि सँगसँगै हेर्नुपर्छ। ‘अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताअनुसार सार्वजनिक पदमा आसीन व्यक्तिहरू आलोचना सहन सक्ने हुनुपर्छ,’ उनले भने, ‘त्यसैले कानुनको शाब्दिक व्याख्यामात्रै नहेरेर सन्दर्भ पनि हेर्नुपर्छ।’

प्रकाशित : भाद्र ६, २०७५ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

किशोरी हत्या प्रकरणः बमको घर घेराउ गर्न पुगेका आन्दोलनकारी र प्रहरीबीच झडप

बजार क्षेत्र दिनभरी तनावग्रस्त
भवानी भट्ट

कञ्चनपुर — किशोरीको बलात्कारपछि हत्या घटनाका दोषी पत्ता लगाउन माग गर्दै  आएका स्थानीय र प्रहरीबीच बुधबार पटकपटक भएको झडपमा दुवैतर्फ घाइते भएका छन् ।

भीमदत्त नगरपालिका १८ भगतपुरमा रहेको बम परिवारको घरमा प्रदर्शन गरिरहेको स्थानीय । तस्बिर : भवानी भट्ट/कान्तिपुर

मृतक किशोरी पढ्न गएको घरमा आन्दोलनकारी केन्द्रीत हुँदा झडप भएको हो। महेन्द्रनगर बजार क्षेत्र दिनभरी तनावग्रस्त हुन पुग्यो।

स्थानीय र पीडित परिवारले सुरुदेखि शंका गरिरहेको उक्त घरमा पस्न खोज्दा प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको हो।

आन्दोलनमा उत्रेका स्थानीयले घर तोडफोड गर्न खोजेका थिए। दिनभर बजार क्षेत्रमा केन्द्रीत रहेको आन्दोलन साँझ किशोरी पढ्न गएको रोशनी बमको घरमा केन्द्रीत भएको हो। झडपमा कति जना घाइते भए भन्ने एकिन हुन सकेको छैन।

स्थानीयतर्फ १०/१२ जना भन्दा बढी घाइते भएको उनीहरु बताउँछन्। बम परिवारको गाउँमा भएको झडपमा प्रहरीले प्रहार गरेको अश्रुग्यासबाट महिला र बालबालिकाहरु प्रभावित भएका छन्।

प्रहरीले उक्त क्षेत्रमा मात्रै करिब ३० सेल भन्दा बढी अश्रुग्यास प्रहार गरेको छ। यसैगरी महेन्द्रनगर बजारमा पनि १५ सेल अश्रुग्यास प्रहार भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञान बहादुर सेठीले बताए।

सोमबार साँझ प्रहरीले सार्वजनिक गरेको अभियुक्त दीलिपसिंह विष्ट दोषी हुन नसक्ने भन्दै स्थानीय आन्दोलित बनेका हुन्। उनीहरुले किशोरी पढ्न गएको घरका युवतीहरुलाई अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन्।
तर प्रहरीले भने हालसम्म जुटेको प्रमाणका आधारमा विष्ट नै दोषी देखिएको जनाएको छ। केन्द्रीय अनुसन्धान ब्युरोका इन्चार्ज डिएसपी अंगुर जिसीले धेरै प्रमाण जुटेको र विष्टको डिएनए पनि परीक्षणका लागि पठाउने तयारी भइरहेको बताए।


प्रकाशित : भाद्र ६, २०७५ १८:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT