नेकपाको जिल्ला एकीकरणका प्रतिवेदन तयारः अधिकांश जिल्लाको नेतृत्व टुंगियो

कान्तिपुर संवाददाता

काठमाडौँ — तीन महिनाअघि केन्द्रमा एकीकरण गरेको नेकपाले अधिकांश जिल्लाको नेतृत्व पनि अनौपचारिक रूपमा टुंगो लगाएको छ । 

पार्टीले एकीकरणको प्रस्ताव तयार गर्न गठन गरेका कार्यदलले केन्द्रमा धमाधम प्रतिवेदन पठाइरहेका छन् । प्रतिवेदनअनुसार झन्डै ६५ वटा जिल्लामा कुन पक्षको नेतृत्व रहने भन्ने टुंगो लागिसकेको छ ।

Yamaha


तर कार्यदलले टुंग्याएका नेतृत्व र नामका विषयमा जिल्ला–जिल्लामा असन्तुष्टि रहेकाले केन्द्रले हेरफेर गर्न सक्नेछ ।

कार्यदललाई बिहीबारसम्म प्रस्ताव पठाउने समय दिइएको नेकपा कार्यालयको व्यवस्थापन हेरिरहेका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

‘सबै प्रतिवेदन आएपछि सचिवालयले छलफल गर्छ र स्थायी समिति बैठकले टुंगो लगाउँछ,’ उनले भने, ‘केही स्थानमा सर्वसम्मत र केही फरक खालका प्रस्ताव पनि बनेका छन्, ती सबैको अध्ययन गरेर केन्द्रबाट निर्णय हुन्छ ।’

पूर्वएमाले र पूर्वमाओवादी पृष्ठभूमिबाट एकता गर्दा जुन जिल्लामा जसको बहुलता थियो, त्यसैको नेतृत्व हुने गरी मिलाइएको छ । जिल्लाको अध्यक्ष र सचिव पदमा एकअर्कालाई बाँडफाँड गरिएको छ ।

स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनावमा पाएको मत र त्यसअघि वाम गठबन्धन बनाउँदा गरिएको भागबन्डाकै अनुपातमा जिल्लास्तरीय एकता गरिएको छ ।

करिब ५५ र ४५ प्रतिशतको अनुपातमा नेतृत्व बाँडफाँट गरिएको पाइएको छ । यद्यपि यो बाँडफाँट अन्तिम होइन ।

एकता कार्यदलमा संलग्न नेताहरूका अनुसार प्रदेश १ का ताप्लेजुङ, इलाम, झापा, मोरङ, धनकुटा तेह्रथुम, सुनसरी, भोजपुर र पाँचथर एमाले र संखुवासभा र खोटाङ माओवादीले लिने करिब सहमति भएको छ । ओखलढुंगा, सोलुखुम्बु र उदयपुरको भागबन्डा मिलाउने क्रम जारी छ ।

प्रदेश २ मा एमालेले सप्तरी, धनुषा, सर्लाही र पर्सा एवं माओवादीले महोत्तरी, सिरहा, बारा र रौतहटको नेतृत्व लिने अनौपचारिक सहमति छ । प्रदेश ३ का काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा एमाले र चितवन, नुवाकोट, काभ्रे, रामेछाप माओवादीको भागमा पारिएको छ ।

काठमाडौंमा दुई दलका तर्फबाट नेतृत्वमा कुरा मिले पनि व्यक्तिका विषयमा भने अझै विवाद छ । काठमाडौंमा जातीय तथा अध्यक्ष र सचिवलाई मिलाएर लैजानुपर्ने माग भएको छ ।

गण्डकी प्रदेशमा दुई दलबीच कुरा नमिलेकाले केन्द्रमा पनि मिलाउने गरी सिफारिस गरिएको छ । प्रदेश ५ मा गुल्मी, पाल्पा, रूपन्देही, प्यूठान, दाङ, अर्घाखाँची एमाले र नवलपरासी पश्चिम, बाँके, बर्दिया, रोल्पा र रुकुमको नेतृत्व माओवादीले लिनेछ ।

कर्णाली प्रदेशमा एमालेले दैलेख, सुर्खेत, जुम्ला र डोल्पा एवं माओवादीले जाजरकोट, सल्यान, रुकुम र हुम्लाको नेतृत्व लिनेछन् । मुगु र कालिकोटमा सहमति हुन सकेको छैन ।

प्रदेश ७ मा एमालेले कैलाली, बैतडी, अछाम, बाजुरा र डोटी एवं माओवादीले कञ्चनपुर, दार्चुला, डडेलधुरा र बझाङको नेतृत्व लिनेछ । भ्रातृ संगठनहरू भने कसले कुन–कुन लिने टुंगो लागिसकेको छैन ।

Esewa Pasal

प्रकाशित : भाद्र ६, २०७५ २१:१९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

ट्रम्पका दुई सहयोगीलाई जेल

एएफपी

न्यूयोर्क — अमेरिकी अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि २०१६ को चुनावी अभियानमा वित्तीय नियमको उल्लङ्घन गरेको आरोप लगाउँदै उनका दुईजना नजिकका सहियोगीमाथि जेल सजाय तोकेको छ ।

राष्ट्रपति ट्रम्पकै आदेशमा चुनावी रकम गैरकानुनी भुक्तानी भएको उनका पूर्वसहयोगी माइकल कोहेनले अदालतमा बयान दिएका छन् ।

अमेरिकाकै दुई सहरमा २०१६ को चुनावताका भएका रकम दुरुपयोगका विषयमा अदालतले सुनुवाई गरेको छन् ।

ट्रम्पका कानुन व्यवसायी माइकल कोहेनले चुनावी प्रचारको रकमको दुरुपयोग भएको स्वीकारेका कारण न्यूयोर्कको अदालतले उनीमाथि आठवटा मुद्दामा दोषी ठहर गरेको छ ।

कोहेनले पोर्नस्टार स्टोर्मी ड्यानियल्स र प्लेब्वाय मोडेल कारेन म्याकडगललाई कानुन विपरीत चुनावी प्रचारको रकम भुक्तान गरेको अदालतमा जानकारी गराएका छन् । कोहेनले राष्ट्रपति ट्रम्पमाथि औंला ठड्याएका छन् ।

राष्ट्रपति ट्रम्पकै आदेश र संयोजनमा आफूले रकम भुक्तानी गरेको कोहेनको भनाइ छ । ‘यो रकम भुक्तानी गर्दा चुनावलाई प्रभावित पार्ने नै उद्देश्य थियो,’ न्यायाधीश समक्ष कोहेनले भने । खचाखच भरिएको अदालतको इजलासमा बयान दिँदा कोहेन थरथर काँपेका थिए ।

यो स्वीकारोक्तीले राष्ट्रपति ट्रम्पमाथि कानुनी जोखिम उत्पन्न गराएको छ । ट्रम्पका कानुनी सल्लाहकार रुडी जिउलियानीले, ‘राष्ट्रपतिका विरुद्धमा कोहेनले कुनै गलत आरोप लगाएका छैनन्’ भनेका छन् ।

कोहेनको नाटकीय बयान सार्वजनिक भइरहेको अवस्थामा भर्जिनियाको जुरीले राष्ट्रपति ट्रम्पका चुनावी अभियानका अध्यक्ष पल म्यानाफोर्ट दोषी रहेको ठहर गर्दै आठवटा मुद्दामा सजाय गर्ने आदेश दिएको छ ।

उनीमाथि बैंक धोखाधडी, कर छली गरेको र विदेशी बैंक खातासम्बन्धी स्वघोषणा नगरेको लगायतका आरोप लागेको छ । यी समाचार प्रसार हुनासाथ ट्रम्पले खेद व्यक्त गर्दै म्यानाफोर्ट “असल मानिस” रहेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : भाद्र ६, २०७५ २१:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT