टेलिमेडिसिनले जोगायो

राजेन्द्र मानन्धर

दोलखा — हिमाली जिल्लाको अस्पतालमा भर्ना भएका जटिल अवस्थाका एक बिरामीको टेलिमेडिसिन पद्धतिबाट शल्यक्रिया सम्भव भएपछि ज्यान जोगिएको छ ।

टेलिमेडिसिनले जोगायो

७० वर्षे पुरुषले सरसफाइमा हेलचेक्र्याइँ गर्दा फैलिएको ‘गुप्त अंग’ क्यान्सरको चरिकोट अस्पतालमा आकस्मिक शल्यक्रिया गरिएको हो । अस्पतालले दैनिक १५ वटा शल्यक्रिया गर्छ, जसमध्ये दुईदेखि तीनवटा जटिल प्रकृतिका हुने गरेका छन् ।

उनको अवस्था जटिल भएकाले टेलिमेडिसिन प्रविधि प्रयोग गरी आकस्मिक शल्यक्रिया गरिएको प्रमुख विशेषज्ञ डा. विनोद दंगालले बताए । शल्यक्रियाको भोलिपल्टै तन्दुरुस्त देखिएका भीमेश्वर नगरपालिका–२ का उनले करिब तीन महिनादेखि खेप्दै आएको दुख्ने, पोल्ने समस्या एकैदिनमा ठीक भएकोमा खुसी व्यक्त गरे ।

क्यान्सरको चरणमा पुगेपछि अस्पताल आएका उनको तुरुन्तै शल्यक्रिया गर्नुपर्ने स्थिति थियो । डा. दंगालले विशेषज्ञ डा. उदय कोइरालाको टेलिमेडिसिन निर्देशनमा तत्काल बिरामीलाई जोखिममुक्त बनाउन जटिल र विशेषज्ञ शल्यक्रिया (युरो सर्जरी) सम्भव भएको बताए । अनलाइन भिडियो कन्फरेन्समार्फत दोहोरो संवाद गर्दै उनको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

सरकार, समुदाय र निजी क्षेत्रको सहकार्यमा न्याय हेल्थले व्यवस्थापन गरिरहेको उक्त अस्पतालमा दैनिक तीन सय जनाले नि:शुल्क जचाउँछन् । औषधि र शय्या तथा बिरामीको खाना पनि नि:शुल्क छ । अन्यत्र करिब एक लाख रुपैयाँ लाग्ने ‘पिनेक्टोमी’ शल्यक्रिया नि:शुल्क पाएका उनी निकै हर्षित छन् । ‘थाहा थिएन, यति सजिलै पैसा नतिरी रोग निको हुन्छ भनेर,’ उनले भने ।

पैसाको समस्या र लाजले उनी निकै दिन रोग लुकाएर बसे । पछि गुप्तांगबाट रगत चुहिन थालेपछि छोराले थाहा पाए । ‘पुरै गन्हाउन थालेपछि ननुहाएर होला भन्ने ठान्यौं । पछि थाहा भो, अंग त पुरै कुहिसकेको रहेछ,’ छोराले भने ।

उक्त अस्पतालले साताको एकपटक दुई घण्टा वीर, पाटन, महाराजगन्जस्थित टिचिङ, मोडेल, धुलिखेल, धरान, बीपी मेमोरियल क्यान्सर र अछामको बयलपाटा अस्पतालबीच टेलिमेडिसिन प्रविधिअन्तर्गत छलफल गर्छ । विशेषज्ञ डाक्टरसँग जटिल बिरामीबारे अनलाइनमार्फत रेखदेख र संवाद हुन्छ ।

शल्यक्रिया गर्दा पनि सबैले प्रत्यक्ष अगाडि बसेर हेरेजसरी छलफल र निर्देशन गरिन्छ । काठमाडौंस्थित नेपाल रिसर्च एजुकेसन नेटवर्कको सहयोगमा एक वर्षदेखि टेलिमेडिसिन सेवा सञ्चालन भएको हो । स्तन, पाठेघर र हाडसम्बन्धी क्यान्सरका बिरामीको समेत शल्यक्रिया गरिसकेको अस्पतालका चिकित्सक टेलिमेडिसिनकै कारण यो क्षेत्रमा काम गर्न थप मनोबल बढाएको बताउँछन् ।

शल्यक्रियामा डा. विनोद दंगालको नेतृत्वमा डा. अमित शर्मा, नर्स खेमा स्वाँर र सुनील यादव सहभागी रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित : भाद्र ७, २०७५ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?