किशोरी हत्या प्रकरण : प्रदर्शनमा प्रहरीले गोली चलाउँदा चार जना घाइते
कञ्चनपुर — किशोरी हत्याको विराेधमा ट्राफिक चोकमा भइरहेको प्रदर्शनमा प्रहरीले गाेली चलाउँदा बिहीबार चार जना घाइते भएका छन् ।
घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइते भएकाहरु बारे खुल्न सकेको छैन । जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनकारी माथि प्रहरीले अश्रु ग्यास प्रहार गरेकाे थियाे । अश्रु ग्यास सकिए पछि गाेली चलाएकाे हाे ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले दोषीलाई उम्काउने कोशिस गरेको भन्दै स्थानीयले तीन दिनदेखि प्रदर्शन जारी राखेका छन् । प्रदर्शनकारीहरुले ठाँउठाँउमा टायर बालेर प्रदर्शन गरिरहेका थिए ।
बुधबारसम्म महेन्द्रनगर बजारमा केन्द्रित रहेको आन्दोलन बिहीबारदेखि राजमार्ग केन्द्रित भएको छ । प्रहरीले वास्तविक अपराधी लुकाउन मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई नाटकीय ढंगले सार्वजनिक गरेको भन्दै स्थानीय आन्दोलित बनेका हुन् ।
दुई दिनदेखि बन्द रहेको महेन्द्रनगर बजार तेस्रो दिन पनि बन्द छ । बिहीबार बिहानैदेखि पुर्व–पश्चिम राजमार्गको चोक चोकमा टायर बालेर यातायात अवरुद्ध पारिएको छ । बेदकोट नगरपालिकाको सुडा, लालपुर र दैजीलगायतका चोकहरुमा टायर वालेर स्थानीयले प्रदर्शन गरिरहेका छन् । यसैगरी जिल्ला प्रशसन कार्यालय अगाडि पनि उग्र प्रदर्शन भइरहेको छ ।
- यो पनि :
किशोरी हत्या प्रकरणः बमको घर घेराउ गर्न पुगेका आन्दोलनकारी र प्रहरीबीच झडप
किशोरी हत्या प्रकरण : प्रदर्शनमा गाउँहरुबाट पनि महिला आए, दोस्रो दिन बजार बन्द
किशोरी हत्या प्रकरण: झन् चर्कियो आन्दोलन
किशोरी हत्या प्रकरण: दोषी पत्ता नलाग्दा स्थानीय आक्रोशित
किशोरी हत्या प्रकरण: प्रहरी दबाबमा दाहसंस्कार
किशोरी हत्या प्रकरण : बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि