[अपडेट] किशोरी हत्या प्रकरण : कञ्चनपुरमा कर्फ्यू

चित्रांग थापा, भवानी भट्ट

कञ्चनपुर — जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्फ्यू आदेश जारी गरेको छ । जिल्लामा केही दिनदेखि जारी आन्दोलन उग्र बनेपछि स्थानीय प्रशासनले बिहीबार साँझ पाँच बजेदेखि शुक्रबार बिहान पाँच बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो । आज दिउँसो बसेको सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।

तस्बिर : रासस

स्थानीय प्रशासन ऐन २०२८ को दफा १६ ‘क’ बमोजिम कर्फ्यू जारी गरिएको प्रजिअ खड्काले जानकारी दिए।

Yamaha

जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा निकायको बैठकले पूर्वमा भीमदत्त नगरपालिका-१८ को जनज्योति चोक भासी हुँदै कारागारसम्म, पश्चिममा भीमदत्त नगरपालिका-६ को त्रिपुरा युवा क्लव बनगाउँदेखि वडा नं-१५ को निंगलाशैनी स्कुलसम्म, उत्तरमा खैरानी चोक र दक्षिणमा सीप विकास केन्द्रदेखि मदन भण्डारी स्कुलसम्म कर्फ्यू लगाउने निर्णय गरेको थियो।

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै जारी आन्दोलन उग्र बनेपछि कर्फ्यू आदेश जारी गरिएको हो।

अपडेट...

१३ वर्षीया किशोरीको बलात्कारपछि हत्या प्रकरणको विरोधमा कञ्चनपुरमा भइरहेको प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाउने निर्णय गरेको छ। बिहीबार दिउँसो बसेको सुरक्षा निकायको बैठकले उक्त निर्णय गरेको हो।

कर्फ्यू कति बजेदेखि लगाउने भन्ने यकिन भइनसकेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए। उनका अनुसार भीमदत्त नगरपालिकाको बजार क्षेत्रमा किनमेलका लागि आएका सर्वसाधारणहरु पनि भएकाले उनीहरुलाई आफ्नो गन्तव्यसम्म पुग्न समय दिइएकोले यति नै बजे कर्फ्यु लगाउने भन्ने निर्णय हुन नसकेको हो।

उनले भने, 'कर्फ्यू बजार क्षेत्रमा लगाउन लागिएको हो। यात्रु, बटुवाहरुलाई आफ्नो बासस्थानमा त पुग्ने समय दिनु पर्‍यो भनेर हामीले ४ बजेदेखि कर्फ्यू लगाउने कि ५ बजेदेखि लगाउने भनेर निर्णय गरिसकेका छैनौं। परिस्थिति हेरेर हामी निर्णय लिन्छौं।'

प्रजिअ खड्काका अनुसार कर्फ्यू आज भीडन्त भएको क्षेत्र आसपास र भीमदत्त बजार आसपासको क्षेत्रमा लगाइने छ।

उनले थप जनधनको क्षति नहोस् भनेर कर्फ्यू लगाउन लागिएको स्पष्ट पारे।

अपडेट...
...
कान्तिपुरसँग टेलिफोनमा कुराकानी गर्दै प्रजिअ कुमारबहादुर खड्काले कर्फ्यू आदेश जारी नगरिसकिएको, तर सो बारे छलफल भने भइरहेको जानकारी दिएका छन्। 'हामी के गर्ने भनेर छलफल मै छौं। कर्फ्यू आदेश जारी भइसकेको छैन,' उनले भने।

साथै प्रहरीले पनि सार्वजनिक स्थानमा रहेका मानिसहरुलाई केहीबेरमा कर्फ्यू लाग्ने भन्दै आ-आफ्नो गन्तव्य तर्फ छिटो गइदिन आग्रह गर्दै हिँडेका छन्। तर, प्रशासनले औपचारिक निर्णय नगरिसकेकोले कुन-कुन स्थानमा र कति समयका लागि कर्फ्यू लगाउने यकिन भएको छैन।

ट्राफिक चोकमा भइरहेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा बिहीबार चार जना घाइते भएका छन्।

घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ। घाइते भएकाहरु बारेखुल्न सकेको छैन।जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनकारी माथि प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो। अश्रु ग्यास सकिए पछि गोली चलाएको हो।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले दोषीलाई उम्काउने कोशिस गरेको भन्दै स्थानीयले तीन दिनदेखि प्रदर्शन जारी राखेका छन्।प्रदर्शनकारीहरुले ठाँउठाँउमा टायर बालेर प्रदर्शन गरिरहेका थिए।

बुधबारसम्म महेन्द्रनगर बजारमा केन्द्रित रहेको आन्दोलन बिहीबारदेखि राजमार्ग केन्द्रित भएको छ। प्रहरीले वास्तविक अपराधी लुकाउन मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई नाटकीय ढंगले सार्वजनिक गरेको भन्दै स्थानीय आन्दोलित बनेका हुन्।

दुई दिनदेखि बन्द रहेको महेन्द्रनगर बजार तेस्रो दिन पनि बन्द छ। बिहीबार बिहानैदेखि पुर्व–पश्चिम राजमार्गको चोक चोकमा टायर बालेर यातायात अवरुद्ध पारिएको छ। बेदकोट नगरपालिकाको सुडा, लालपुर र दैजीलगायतका चोकहरुमा टायर वालेर स्थानीयले प्रदर्शन गरिरहेका छन्। यसैगरी जिल्ला प्रशसन कार्यालय अगाडि पनि उग्र प्रदर्शन भइरहेको छ।

Esewa Pasal

प्रकाशित : भाद्र ७, २०७५ १४:३९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बिमस्टेक तयारीमा जुट्यो महानगर 

विद्या राई

काठमाडौँ — भदौ १४ र १५ गते हुन लागेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनको तयारीका लागि काठमाडौं महनगरपालिका फोहोरमैला व्यवस्थापन, सडक सरसफाई र स्वागतद्वार निर्माणमा जुटेकाे छ ।

फाइल तस्बिर : अंगद ढकाल

घर, व्यवसाय, कार्यालयबाट निस्केका फोहोर जथाभावी फ्याकेर दुर्गन्धित र अस्तव्यस्त बनेको काठमाडौं सरसफाईमा महानगरलाई चटारो छ। फोहोरमैला उठाउने र सिस्डोलमा व्यवस्थापनका लागि पठाउने काम भइरहेको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए।

‘महानगरले उठाउँदै आएको स्थानका फोहोरमैला लगभग उठाइसकेका छौँ, निजी क्षेत्रका आफ्नै गाडी नभएर उठाएका छैनन्, यी पनि महानगरले नै उठाउँछ,’ उनले भने। अहिले दैनिक २०० ट्रक फोहोर सिसडोलमा विसर्जन भइरहेको छ।

यसैगरी धुलाम्मे र हिलाम्मे सडकहरु पनि बिमस्टेक सम्मेलनको अवसरमा सफा हुँदैछन्। भदौ १० गतेबाट काठमाडौंका मुख्य सडकहरु जेट मेसिन र ब्रुमरले सफा गरिने भएको छ। जेट मेसिनले हिलो पखाल्ने काम हुन्छ भने ब्रुमरले धुलो सफा गर्छ। एयरपोर्टदेखि सोल्टी, सिंहदरबार आसपास, राष्ट्रपति निवास, प्रधानमन्त्री निवास, चक्रपथ लगायतका मुख्य सडकहरु जेट मेसिन र ब्रुमर लगाएर सफा गरिनेछन्।

यसका लागि महानगरमा भएका तीन वटा जेट मेसिन र ब्रुमर प्रयोग हुनेछन्। थप जेट मेसिन र ब्रुमरका लागि सडक विभागसँग पनि समन्वय गर्न सकिने प्रवक्ता कार्कीले बताए। काठमाडौंमा करिब एक सय वटा स्वागतद्धार पनि निर्माण हुनेछन्।

महानगरका अनुसार १२ गतेसम्ममा फोहोरमैला व्यवस्थापन, सडक सरसफाई र स्वागतद्धार निर्माण गरिनेछ। बिमस्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन्। यी मुलुकका राष्ट्र र सरकार प्रमुखहरू भदौ १४ र १५ गते आयोजना हुने सम्मेलनमा सहभागी हुँदैछन् । ‘१३ गतेबाट पाहुनाहरु आउन सुरु गर्नुहुन्छ, १२ गते सम्पन्न गरिसक्नुपर्ने भएकोले काम त्यही गतिमा बढिरहेको छ,’ प्रवक्ता कार्कीले भने।

दिनमा मात्रै काम गरेर सम्भव नहुने भएकाले रातको समयमा पनि काम गरिने महानगरले जनाएको छ। दिनमा सवारीसाधनको चाप हुने कारण रातमा सडक सफाईको काम बढि हुनेछ। यसअघि ८ घण्टामात्रै कर्मचारी परिचालन गर्दै आएको महानगरले तयारी सम्पन्न नहुन्जेलसम्म १६ घण्टा परिचालन गर्ने भएको छ। सवारीसाधन र मेसिनहरु पनि सोही अनुरुप सञ्चालन हुनेछन्।

तयारीमा लागेको सबै खर्च महानगरले आन्तरिक स्रोतबाट जुटाउने भएको छ। सवारीसाधन, मेसिन र मानवीय स्रोत परिचालन दोब्बर भएकाले खर्च बढि हुने आँकलन गरेको छ।

सन् १९९७ मा स्थापना भएको बिमस्टेकको पहिलो सम्मेलन सन् २००४ मा थाइल्यान्डमा भएको थियो । दोस्रो सन् २००८ मा भारतमा भएको थियो । तेस्रो शिखर सम्मेलन ४ वर्षपछि सन् २०१४ मा म्यानमारमा भएको थियो । त्यसपछिको अध्यक्ष नेपाल बनेको हो । अध्यक्ष मुलुकले सम्मेलन आयोजना गर्ने चलन अनुसार यसपटक काठमाडौंमा सम्मेलन हुन लागेको हो । नेपाल चार वर्षदेखि बिमस्टेकको अध्यक्ष छ ।

प्रकाशित : भाद्र ७, २०७५ १३:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT