१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

[अपडेट] किशोरी हत्या प्रकरण : कञ्चनपुरमा कर्फ्यू

कञ्चनपुर — जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्फ्यू आदेश जारी गरेको छ । जिल्लामा केही दिनदेखि जारी आन्दोलन उग्र बनेपछि स्थानीय प्रशासनले बिहीबार साँझ पाँच बजेदेखि शुक्रबार बिहान पाँच बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो । आज दिउँसो बसेको सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।

[अपडेट] किशोरी हत्या प्रकरण : कञ्चनपुरमा कर्फ्यू

स्थानीय प्रशासन ऐन २०२८ को दफा १६ ‘क’ बमोजिम कर्फ्यू जारी गरिएको प्रजिअ खड्काले जानकारी दिए ।


जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा निकायको बैठकले पूर्वमा भीमदत्त नगरपालिका-१८ को जनज्योति चोक भासी हुँदै कारागारसम्म, पश्चिममा भीमदत्त नगरपालिका-६ को त्रिपुरा युवा क्लव बनगाउँदेखि वडा नं-१५ को निंगलाशैनी स्कुलसम्म, उत्तरमा खैरानी चोक र दक्षिणमा सीप विकास केन्द्रदेखि मदन भण्डारी स्कुलसम्म कर्फ्यू लगाउने निर्णय गरेको थियो ।

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै जारी आन्दोलन उग्र बनेपछि कर्फ्यू आदेश जारी गरिएको हो ।

अपडेट...

१३ वर्षीया किशोरीको बलात्कारपछि हत्या प्रकरणको विरोधमा कञ्चनपुरमा भइरहेको प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाउने निर्णय गरेको छ । बिहीबार दिउँसो बसेको सुरक्षा निकायको बैठकले उक्त निर्णय गरेको हो ।

कर्फ्यू कति बजेदेखि लगाउने भन्ने यकिन भइनसकेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । उनका अनुसार भीमदत्त नगरपालिकाको बजार क्षेत्रमा किनमेलका लागि आएका सर्वसाधारणहरु पनि भएकाले उनीहरुलाई आफ्नो गन्तव्यसम्म पुग्न समय दिइएकोले यति नै बजे कर्फ्यु लगाउने भन्ने निर्णय हुन नसकेको हो ।

उनले भने, 'कर्फ्यू बजार क्षेत्रमा लगाउन लागिएको हो । यात्रु, बटुवाहरुलाई आफ्नो बासस्थानमा त पुग्ने समय दिनु पर्‍यो भनेर हामीले ४ बजेदेखि कर्फ्यू लगाउने कि ५ बजेदेखि लगाउने भनेर निर्णय गरिसकेका छैनौं । परिस्थिति हेरेर हामी निर्णय लिन्छौं ।'

प्रजिअ खड्काका अनुसार कर्फ्यू आज भीडन्त भएको क्षेत्र आसपास र भीमदत्त बजार आसपासको क्षेत्रमा लगाइने छ ।

उनले थप जनधनको क्षति नहोस् भनेर कर्फ्यू लगाउन लागिएको स्पष्ट पारे ।


अपडेट...

...

कान्तिपुरसँग टेलिफोनमा कुराकानी गर्दै प्रजिअ कुमारबहादुर खड्काले कर्फ्यू आदेश जारी नगरिसकिएको, तर सो बारे छलफल भने भइरहेको जानकारी दिएका छन् । 'हामी के गर्ने भनेर छलफल मै छौं । कर्फ्यू आदेश जारी भइसकेको छैन,' उनले भने ।


साथै प्रहरीले पनि सार्वजनिक स्थानमा रहेका मानिसहरुलाई केहीबेरमा कर्फ्यू लाग्ने भन्दै आ-आफ्नो गन्तव्य तर्फ छिटो गइदिन आग्रह गर्दै हिँडेका छन् । तर, प्रशासनले औपचारिक निर्णय नगरिसकेकोले कुन-कुन स्थानमा र कति समयका लागि कर्फ्यू लगाउने यकिन भएको छैन ।


ट्राफिक चोकमा भइरहेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा बिहीबार चार जना घाइते भएका छन् ।


घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ। घाइते भएकाहरु बारेखुल्न सकेको छैन।जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनकारी माथि प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो। अश्रु ग्यास सकिए पछि गोली चलाएको हो ।


कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले दोषीलाई उम्काउने कोशिस गरेको भन्दै स्थानीयले तीन दिनदेखि प्रदर्शन जारी राखेका छन्।प्रदर्शनकारीहरुले ठाँउठाँउमा टायर बालेर प्रदर्शन गरिरहेका थिए।


बुधबारसम्म महेन्द्रनगर बजारमा केन्द्रित रहेको आन्दोलन बिहीबारदेखि राजमार्ग केन्द्रित भएको छ। प्रहरीले वास्तविक अपराधी लुकाउन मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई नाटकीय ढंगले सार्वजनिक गरेको भन्दै स्थानीय आन्दोलित बनेका हुन्।


दुई दिनदेखि बन्द रहेको महेन्द्रनगर बजार तेस्रो दिन पनि बन्द छ। बिहीबार बिहानैदेखि पुर्व–पश्चिम राजमार्गको चोक चोकमा टायर बालेर यातायात अवरुद्ध पारिएको छ। बेदकोट नगरपालिकाको सुडा, लालपुर र दैजीलगायतका चोकहरुमा टायर वालेर स्थानीयले प्रदर्शन गरिरहेका छन्। यसैगरी जिल्ला प्रशसन कार्यालय अगाडि पनि उग्र प्रदर्शन भइरहेको छ।

प्रकाशित : भाद्र ७, २०७५ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?