कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किशोरी बलात्कार र हत्या प्रकरण : प्रहरीको अनावश्यक दबाबले बढाएको आक्रोश

महेन्द्रनगर तनावग्रस्त, बजार क्षेत्रमा कर्फ्यू लगाउने निर्णय, प्रहरीले गोली चलाउँदा ४ घाइते

कञ्चनपुर — १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या गरिएको घटनालाइ लिएर आन्दोलित बनेको कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आज बिहीबार पनि अशान्त रह्यो ।

किशोरी बलात्कार र हत्या प्रकरण : प्रहरीको अनावश्यक दबाबले बढाएको आक्रोश

दिउँसो १२ बजे तिर जिल्ला प्रशासन कार्यालय छेवैमा रहेको ट्राफिक प्रहरी कार्यालयमा आन्दोलनकारी प्रवेश गर्ने क्रममा भएको झडपमा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका छन् । बजार क्षेत्रमा प्रहरी र स्थानीयबीच ठाउँ–ठाउँमा झडप भएको छ ।


शान्ति सुरक्षाको अवस्था जटिल हुन थालेपछि स्थानीय प्रशासनले बजार क्षेत्रमा कर्फ्यू लगाउने निर्णय गरेको छ । ‘सुरक्षा निकायको बैठकले जिल्लाको शान्ति सुरक्षाको स्थितिबारे गृहलाई जानकारी गराइ कर्फ्यू लगाउने निर्णय गरेको छ,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने । बजार क्षेत्रमा रहेका सर्वसाधारणलाई प्रहरीले कर्फ्यू लाग्ने भएकाले घरतर्फ जान आग्रह गरिरहेका छ । यहि समयलाई मध्यनजर गरी आज ४ या ५ बजेदेखि कर्फ्यू लगाउने विषयमा सार्वजनिक सूचना जारी गर्ने तयारी भईरहेको उनले बताए ।


‘शान्ति सुरक्षाको स्थिति थप जटील हुन नदिन र जनधनको क्षति नहोस् भन्ने उद्देश्यले कर्फ्यू लगाउनु परको हो,’ उनले भने । प्रजिअ खड्काले झडपमा ४ जना घाइते भएको जानकारी आएको र यकिन संख्या थाहा हुन नसकेको बताए । घाइतेको उपचारको विषयमा पनि गृह मन्त्रालयसँग छलफल भइरहेको उनले जानकरी दिए ।


स्थानीयले ढुंगा प्रहार गरेपछि प्रहरीले लाठी र अश्रुग्यास प्रहार गरेको थियो । अश्रुग्यास सकिएपछि प्रहरीले गोली प्रहार गरेको आन्दोलनमा सहभागी स्थानीय कृष्ण पाण्डेयले बताए । उनका अनुसार ४० राउण्डभन्दा बढी गोली चलेको छ । यस विषयमा प्रहरीले भने आधिकारीक जानकारी दिएको छैन ।


उग्र बन्दै आन्दोलन

घट्ना भएकै दिनदेखि सुरु भएको आन्दोलन मंगलबारदेखि उग्र बनेको हो । सोमबार साँझ प्रहरीले हतारमा अभियुक्त सार्वजनिक गरेपछि बजार क्षेत्र तनावग्रस्त बनेको हो । स्थानीयले प्रहरीले नक्कली अपराधी सार्वजनिक गरेको भन्दै आन्दोलन सुरु गरेका हुन् ।


हिजो बुधबार पनि बजारका विभिन्न ठाउँमा आन्दोलनकारी र प्रहरीबीच पटक–पटक झडप तथा ढुंगा हानाहान भएको थियो ।

प्रहरीले भीमदत्त नगरपालिका–२ बाग्फांटाको दीलिपसिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गर्दा पीडित परिवारलाई मात्र होइन कसैलाई पनि उक्त व्यक्ति दोषी हुन भन्न लागेको छैन । सबैको एउटै स्वर छ, ‘यो व्यक्ति हत्यारा हुनै सक्दैन, प्रहरीले वास्तविक दोषीलाई उम्काउने खेल गरिरहेका छ ।’


ग्रामीण भेगदेखि सहर बजार क्षेत्रमा महिलाहरु दिनहुँ भेला भएर आन्दोलनमा सहभागी भइरहेका छन् ।

स्थानीयको आश‌ंका

किशोरी पढ्न गएको रोशनी बमको घरमा प्रहरीले अनुसन्धान नगरेको र उक्त घरमा रंगरोगनसँगै अम्बाको बोट समेत काटिएकोप्रति प्रहरीले प्रमाण ढाकछोप गर्न खोजेको प्रदर्शनकारीको आशंका छ ।


‘यति हुँदा पनि प्रहरीले ती युवतीहरुमाथि किन अनुसन्धान गरेन,’ उनीहरुको प्रश्न गर्छन्, ‘यसमा प्रहरीको खेल अर्कै देखिन्छ ।’ यसैबीच प्रहरीले बुधबार साँझ नै बम दिदी बहिनी रोशनी र कवितालाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ ।


मृतक किशोरीका बुवा पनि प्रहरीले सार्वजनिक गरेको व्यक्ति छोरीको हत्यारा हुनै नसक्ने दाबी गर्छन् । उनलाई घटना भएकै दिनदेखि प्रहरीले अनावश्यक रुपमा दबाब दिएकोले पनि मनमा शंका उब्जिएको हो । पछिल्लो पटक सार्वजनिक गरिएको भीमदत्त नगरपालिका–२ बाग्फाँटाका दीलिपसिंह विष्टका नाममा किटानी जाहेरी दिन समेत प्रहरीले अनावश्यक दबाब दिएको उनले बताए ।


‘सोमबार बिहान जिल्ला प्रहरी कार्यालयमा बोलाएर बाग्फाँटाको एकजना पक्राउ परेको र त्यसका नाममा किटानी जाहेरी दिनुपर्ने भन्यो,’ उनले भने, ‘मैले त्यो व्यक्ति को हो र कसरी हत्या गर्‍यो भन्दा बताउन मिल्दैन भन्यो ।’


प्रहरीले त्यसपछि शव भेटिएको उखुबारीमा लगेर नाटकीय शैलीमा कपडाको टुक्रा र कण्डम राख्ने प्लाष्टिकका खोस्टो देखाएर फेरी जाहेरी दिन दबाब दिएको बताए । तर कपडाको टुक्रा र प्लाष्टिकको खोस्टोमा माटो र पानीसम्म नलागेको अवस्थामा भेटिनुले शंका जन्माएको उनले बताए ।


मृतकका बुवाले प्रहरीको दबाबका कारण तीन दिनदेखि घर छाडेको जानकारी दिए । सोमबारदेखि नै प्रहरीले किटानी जाहेरी दिन दबाब दिन थालेपछि परिवार सबै आफन्तको घरमा बसिरहेको बताए ।


‘पटक पटक यस्तो गर्नुपर्‍यो, उस्तो गर्नुपर्‍यो भनेर दुख दिने काम मात्रै भएको छ,’ उनले भने, ‘सुरु देखिनै प्रहरीले तर्साउने र धम्काउने काम गरिरहेको छ, त्यहि डरले मैले घर नै छाडेको छु ।’


उनले छोरीको दाहसंस्कारका बेला पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिल्लीराज विष्टले ‘पावर’ देखाउने धम्की दिएको आरोप लगाए । उनले कर्फ्यू लगाएर गोली चलाउनेसम्मको धम्की दिएपछि डराएर चौथो दिन दाहसंस्कार गरेको बताए ।

विष्ट नै दोषी भएको प्रहरी दाबी

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बम परिवारका युवतीहरुमाथि अनुसन्धान सुरु गर्ने प्रतिवद्धता व्यक्त गरेपनि घटनाको अनुसन्धानका लागि आएको केन्द्रिय अनुसन्धान ब्यूरोका टोली इन्चार्ज डिएसपी अंगुर जिसीले भने अहिलेसम्म जुटेको प्रमाणका आधारमा प्रहरीले सार्वजनिक गरेकै व्यक्तिबाट हत्या भएको बताए ।


उनले अब अनुसन्धान कुनै पनि हालतमा अन्त नमोडिने बताए । ‘स्थानीयले भनेअनुसार बम युवतीहरुमाथि छानबिन गर्न कुनै प्रमाण नै जुटेको छैन,’ उनले भने, ‘उनीहरुको कही पनि संलग्नता देखिँदैन ।’


डिएसपी जिसीका अनुसार प्रहरीले सबै कुराको प्रमाण जुटाएर नै विष्टलाई सार्वजनिक गरिएको बताए । उनले लामो समयसम्म केही प्रमाण जुट्न नसकेपछि अपराधिक प्रवृत्तिका व्यक्तिलाई निगरानीमा राखेको र विष्टमाथि अनुसन्धान गर्दा उनले नै बलात्कारपछि हत्या गरेको स्वीकारेको बताए । उनले सर्वसाधारणले मानसिक अवस्था बिग्रेको भनेपनि विष्ट ‘बहुलाहा’को नाटक गरेर हिँड्ने व्यक्ति भएको बताए ।

प्रहरीका अनुसार किशोरीको शव भेटिएको भीमदत्त नगरपालिका १८ को निम्बुखेडास्थित उखुबारी नै घटनास्थल हो । साउन १० गते अढाईदेखि तीन बजेबीचमा घटना भएको प्रहरीको अनुसन्धानले देखाउँछ ।


उखुबारी उल्टाखामदेखि महेन्द्रगर आउजाउ गर्ने मूल बाटो छेउमै भएका कारण त्यहाँ दिउँसै त्यस्तो घटना हुन नसक्ने स्थानीयको बुझाई छ । किशोरीलाई अन्तै हत्या गरेर त्यहाँ फालिएको हुनसक्ने उनीहरुको आशंका छ ।


तर, डिएसपी जिसी भने पक्राउ परेका विष्टले त्यहाँ बलात्कार र हत्या जस्ता घटना गराउन सक्ने दाबी गर्छन् । ‘अरुलाई समाजको र बटुवाको डर हुन्छ,’ उनले भने, ‘तर ऊ त सबैका नजरमा बहुलाहा छ । त्यही भएर उसले नै यो घटना गरेको हो ।’

डिएसपी जिसीका अनुसार साथीको घरबाट फर्कदै गर्दा किशोरीको साइकलको चेन निस्केको थियो । उनले दीलिपलाई चेन मिलाइदिन आग्रह गरिन् । त्यही बेला किशोरीलाई समातेर उखुबारीको डिलमा बलात्कार गरेको र अत्याधिक रक्तस्राव भएपछि घाँटी थिचेर हत्या गरिएको हो ।

को हुन् विष्ट

भीमदत्त नगरपालिका–२ बाग्फाँटाको खन्ना चौराहा नजिकै घर भएका ४१ वर्षीय दीलिप विष्ट मानसिक अवस्था ठिक नभएका व्यक्ति हुन् । स्थानीयका अनुसार उनी गाउँदेखि बजारसम्म फाटेको लुगा लगाएर चोकमा बिँडी–चुरोट तथा ५/१० रुपैयाँ मागेर हिँड्ने गर्थे । उनी बिहानै घरबाट निस्केर साँझ अबेर मात्रै फर्किने गरेको स्थानीय बताउँछन् ।

२०६५ मा आफ्नै कान्छा भिनाजु नारायणसिंह थापाको हत्या अभियोगमा जेल गएका उनी २०७४ जेठ १५ मा गणतन्त्र दिवसका अवसरमा राम्रो आचरण देखाए वापत कैद मिनाहा भइ छुटेका हुन् ।


एसएसपी चन्द महेन्द्रनगरमा

प्रहरी अनुसन्धानप्रति स्थानीयले अविश्वास जनाउँदै आन्दोलनमा उत्रेको घटनाबीच संघीय प्रहरी इकाई कार्यालय धनगढीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विक्रमबहादुर चन्दलाई प्रहरी प्रधान कार्यालयले कञ्चनपुर खटाएको छ । उनले अनुसन्धान प्रभावकारी बनाउन तथा शान्ति सुरक्षाको स्थिति सुधार्न आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने बताए ।


प्रकाशित : भाद्र ७, २०७५ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?