कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

कञ्चनपुरको सिडिओ र एसपी हटाइए, सहसचिवको नेतृत्वमा छानविन सिमित

जनकराज सापकाेटा

काठमाडौँ — आन्दोलनले उग्र रूप लिएपछि गृह मन्त्रालयले बिहीबारै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडका, एसपी डिल्लीराज विष्ट र डीएसपी ज्ञानबहादुर सेठीलाई राजधानी तानेको छ ।

कञ्चनपुरको सिडिओ र एसपी हटाइए, सहसचिवको नेतृत्वमा छानविन सिमित

घटनाको सूक्ष्म अनुसन्धान गर्न नसकेको भन्दै उनीहरूप्रति पीडित परिवार र स्थानीयवासी आक्रोशित थिए । साउन १० गते नै बेपत्ता छोरी पत्ता लगाउन परिवारले हारगुहार गर्दा बेवास्ता गरेको, घटनास्थलमा शवको मुचुल्का बनाइसकेपछि अलपत्र छोडेको, जबर्जस्ती शवको दाहसंस्कार गराएको र शंकास्पद व्यक्तिहरूलाई अनुसन्धान दायरामा नल्याएको आरोप पीडितले लगाएका थिए ।


आन्दोलनकारीले सुरुदेखि नै एसपी विष्ट अनुसन्धानलाई अन्यत्र मोडेर वास्तविक अपराधी जोगाउन लागिपरेको आरोप लगाउँदै आएका थिए तर मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई सोमबार एक्कासि हत्याराका रूपमा प्रहरीले सार्वजनिक गरेपछि आन्दोलन चर्किन पुग्यो । बलात्कारपछि हत्या गरिएकी किशोरी आफूसँगै पढ्ने रोशनी बमको घरमा गएको अवस्थामा बेपत्ता भएकाले घटनाको अनुसन्धान पनि त्यही घरबाट हुनुपर्छ भन्ने किशोरीका बुबालगायत स्थानीयवासीको माग थियो ।


‘तर एसपी विष्ट रोशनी दिदीबहिनीलाई जोगाउन लागिपरे, हामीलाई दिनहुँ धम्क्याउन थाले,’ किशोरीका बुबाले भने, ‘न्याय पाउने कुरा त परै जाओस्, प्रहरी प्रमुखबाट डर, त्रास र धम्की मात्रै पाएँ ।’ प्रहरी प्रशासनले घटनाको अनुसन्धानमा देखाएको गतिविधिले पनि कञ्चनपुरमा आन्दोलन चर्काएको हो ।


यसैबीच, गृह मन्त्रालयले किशोरीको बलात्कारपछि हत्या घटना छानबिनका लागि सहसचिव हरि मैनालीको संयोजकत्वमा प्रहरीका तीन डीआईजीसमेत रहेको समिति गठन गरेको छ । घटनाको छानबिनका लागि शुक्रबार संसदीय समितिसमेत गठन गरिने भएको छ ।


यता प्रदेश ७ को संघीय इकाई कार्यालय धनगढीबाट वरिष्ठ प्रहरी उपरीक्षक विक्रमबहादुर चन्द घटनाको अनुसन्धान प्रक्रिया र शान्तिसुरक्षाको अवस्थामा समन्वय गर्न बिहीबारै महेन्द्रनगर पुगेका छन् ।


यसअघि सुदुरपिश्चमका सांसदहरुले उक्त घटनालाई गम्भीर रुपमा लिन र आवश्यक कदम चाल्न माग गर्दै गृहमन्त्री रामबहादुर थापासँग भेट गरेका थिए ।


तीन दिनअघि प्रहरीले मानसिक सन्तुलन ठिक नभएका एक जनालाई हत्याको अभियुक्त भन्दै सार्वजनिक गरेपछि स्थानीयस्तरमा आक्रोश चुलिएको छ । दैनिक प्रदर्शन भइरहेको छ भने बजार तथा सवारी बन्द छ । बिहीबार प्रहरीले चलाएको गोली लागी चार जना घाइते भएका छन् ।

प्रकाशित : भाद्र ७, २०७५ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?