२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

कर्णाली राजमार्गमा बस र ट्रक ठोक्कियो, यात्रु भन्छन्- ‘भाग्यले बाँचियो’

तुलाराम पाण्डे

वित्तामोड (कालिकोट) — कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडकखण्ड अन्र्तगत कालिकोटको बित्तामोडमा भयानक दुर्घटना भएको छ । दुर्घटनास्थल कालिकोटको सदरमुकाम मान्मबाट २८ किलोमिटर पूर्व जुम्लातर्फ खाडाचक्र ८ मा पर्छ ।

कर्णाली राजमार्गमा बस र ट्रक ठोक्कियो, यात्रु भन्छन्- ‘भाग्यले बाँचियो’

बिहीबार दिउँसो १२ बजे जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको चन्दननाथ यातायातको ना ६ ख २५३६ नम्बरको यात्रुबाहक बस र सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको भे १ ख १८९८ नम्बरको मालबाहक ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

बित्तामोड नजिकै जुम्लाबाट आएको बस र मान्म हुँदै आएको ट्रक जुधेपछि बस उछिट्टिएर तिला नदी माथि ठूलो ढुंगामा अड्किएको छ भने ट्रक भित्तामा पल्टिएको स्थानीय चित्रसिंह गाउँलेले बताए । ‘भयानक दुर्घटना भयो,’ बित्तामोडमा बस्दै आएका नेकपाका जिल्ला नेतासमेत रहेका प्रत्यक्षदर्शी सिंहले भने ‘यात्रु र चालक सबै बाँचे ।’ दिउँसो दुर्घटना भएकाले साँघुरो सडकमा पनि चालकले यात्रु बचाउन सफल भएको सिंहले सुनाए ।

बस ठोक्किएर सडक मुनिको भीरमा अड्किँदा भाग्यले बाँचिएको राचुलीबाट मान्म आउँदै गरेका यात्रु नवीन शाहीले बताए । उनी कुपोषित बालबालिकालाई पोषण युक्त पिठो वितरण गरेर राचुलीबाट जुम्लाको बसमा फर्किँदै थिए । उनले बस र ट्रक दुवैले मोडमा गति नघटाएको र हर्न पनि नबजाएकोले दुर्घटना भएको सुनाए ।

तीब्र गतिका साथ बस र ट्रक आएकाले जुधेको स्थानीयले देखे पनि सुर्खेत बड्डी चौर घर भएका बस चालक नेत्र थापा ब्रेक नलागेर दुर्घटना भएको बताउँछन् । ‘साँघुरो सडकको मोडमा एक्कासी ट्रक आएपछि बसको ब्रेक नै लागेन,’ चालक थापाले भने, ‘बस अनियन्त्रित भएर तल खस्यो, ठूलो ढुंगा भएर अड्कियो ।’ उनले यति ठूलो दुर्घटनामा चालकसहित १६ जना बाच्न सफल भएको सुनाए ।

बस पल्टिँदा अधिकांश यात्रुलाई सिसाले काटेर चोट लागे पनि सख्त घाइते कोही नभएको प्रहरीले जनाएको छ । बस ढुंगामा नड्किएको भए तिलाको भेलमा मिसिने अवस्था रहेको प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिए ।

सडक साघुरो भएकाले दुर्घटना भएको सुर्खेतबाट इँटा र डिजेल बोकेर आएका ट्रक चालक प्रेमबहादुर परियारले बताए । ‘ट्रक भित्तामा नठोकिएको भए बस सिधै नदीमा खस्थ्यो,’ बर्दिया घर भएका चालक परियारले भने, ‘बस र यात्रु बचाउन ट्रक भित्तामा जोतेँ । बसलाई थोरै ठक्कर लागेकाले माथि अड्कियो, सबै बाँच्न सफल भयौ ।’ उनलाई पनि सामान्य चोट लागेको छ । ट्रकको सिसा फुटेको छ भने केही कुच्चिएको छ ।

७ वर्षअघि यहीको बित्तामोडमा भएको बस दुर्घटनामा २८ जनाको मृत्यु भएको थियो ।


प्रकाशित : भाद्र ७, २०७५ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?