कांग्रेसको विधान मस्यौदा समिति गठन
काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान संशोधनका लागि बिहीबार मस्यौदा समिति गठन गरेका छन् ।
विधान मस्यौदा समिति गठन गर्न ढिलाइ गरेर महासमिति बैठक सार्न खोजेको भन्दै संस्थापनइतर पक्षले असन्तुष्टि जनाइरहेका बेला सभापति देउवाले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेका हुन् ।
संघीय संरचनाअनुसार पार्टीको संगठनात्मक संरचनालाई रूपान्तरण गर्न केन्द्रीय कार्यसमितिको वैशाख ६ को बैठकले पार्टीको विधान २०१७ (संशोधित र परिमार्जित) लाई संशोधन गर्न मस्यौदा समिति गठन गर्ने निर्णय गरेको थियो । समितिमा संस्थापन पक्षबाट संयोजकसहित ७ र संस्थापनइतर पक्षबाट ४ सदस्य छन् । समिति सदस्यमा मीनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्र बडु, महालक्ष्मी उपाध्याय, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक छन् ।
भदौमा महासमिति नभए देउवाको नेतृत्व असफल हुने भनी संस्थापनइतर पक्षीय नेताले चेतावनी दिइरहेका बेला सभापतिनिकट केन्द्रीय सदस्यहरूले तोकिएकै समयमा महासमिति बैठक गर्न सुझाएका छन् । वैशाख १६ को केन्द्रीय कार्यसमिति बैठकले भदौभित्र महासमिति गर्ने निर्णय गरेको थियो ।
सभापति देउवाले आफूनिकट सदस्यसँग बिहीबार बूढानीलकण्ठस्थित निवासमा परामर्श गरेका थिए । अधिकांश सदस्यले भदौमा महासमिति बैठक नगर्दा गलत सन्देश जाने भन्दै विधान चाँडो टुंग्याएर तोकिएकै समयमा महासमिति बैठक गर्न सुझाव दिएका थिए । ‘अब भदौ अन्तिम साताभित्रै महासमिति बैठक गर्ने मनस्थितिमा सभापति हुनुहुन्छ,’ देउवानिकट एक केन्द्रीय सदस्यले भने, ‘कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले महासमिति बैठकको तिथि र स्थान तोक्नेबारे छलफल भएको छ ।’ सभापति देउवाले अनुशासन समिति र केन्द्रीय कार्यसम्पादन समिति पनि बनाउने तयारी गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले यी दुवै समितिमा रहनेको नाम पठाउने भएपछि समिति गठन गर्ने तयारीमा देउवा पुगेका हुन् ।