तरकारीमा सिन्डिकेट: बलिया व्यवसायी, निरीह सरकार

अनुगमन टोलीमाथि आक्रमणलगत्तै सरकारी निकायले कारबाहीको चर्को स्वर गरे पनि अन्तत: राजनीतिक आडमा उन्मुक्ति नै पाउँछन् ।
राजु चौधरी

काठमाडौँ — सरकारी अनुगमन टोलीलाई गत सोमबार कालीमाटी तरकारी बजार अनुगमन गर्दा व्यवसायीले नियन्त्रणमा लिए । अनुगमनको विरोधमा व्यवसायीले भोलिपल्ट तरकारी बिक्री ठप्प पारे । व्यवसायीले अनुगमन टोलीमाथि गरेको यो दुर्व्यवहार पहिलो घटना हैन ।

कालिमाटी तरकारी बजार । तस्बिर : इलिट जोशी

दुई वर्षअघि तत्कालीन आपूर्तिमन्त्री गणेश पुनको नेतृत्वमा बल्खु तरकारी बजारमा अनुगमन गर्दा यस्तै भएको थियो । ढक तराजुहरू प्रमाणित नगरी प्रयोग गरेको भेटिएपछि कारबाही गर्न खोज्दा अनुगमन टोली र व्यापारीबीच झडप नै भएको थियो ।

नापतौल विभागबाट प्रमाणित नगरिएका ढक तराजु उठाएपछि व्यापारीहरूले आक्रमण पनि गरे । एक दशकअघि बानेश्वर तरकारी बजारमा अनुगमन गर्दा व्यवसायीले अनुगमन निरीक्षण अधिकृत ईश्वर बस्नेतलाई कुटपिट नै गरे । बस्नेतलगायतको टोली ज्यान जोगाउन सवारी साधन नै छाडेर भाग्नुपरेको थियो । व्यवसायीले ढक तराजु बिगारेर कारोबार गरेको पाइए सिलबन्दी गर्ने तयारी गर्दा अनुगमन टोलीमाथि व्यवसायीले आक्रमण गरेका थिए ।

Yamaha

यी घटनाहरू अनुगमनका केही उदहारण मात्रै हुन् । सरकारले अनुगमन क्रममा कैफियत भेटिएका व्यवसायीलाई कारबाही गर्न खोज्दा अनुगमन टोली नै उल्टै आक्रमणमा परेका दर्जनौं उदाहरण छन् । अनुगमन टोलीमाथि आक्रमणलगत्तै सरकारी निकायले कारबाहीको चर्को स्वर गर्ने गरे पनि अन्तत: राजनीतिक आडमा उन्मुक्ति नै पाउँछन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार अनुगमन टोलीमाथि आक्रमण गर्ने कुनै पनि व्यवसायीलाई हालसम्म कारबाही भएको उदाहरण छैन ।

औपचारिक रूपम प्रतिक्रिया दिन नचाहने सरकारी अधिकारीहरूका अनुसार अधिकांश घटनामा संलग्न व्यापारीहरू राजनीतिक आडमा कानुनी कारबाहीबाट उम्कने गरेका छन् । ‘जसले व्यवसायीमा गतल ढंगको उत्साह सिर्जना गरिदिन्छ,’ अनुगमनमा संलग्न एक अधिकारीको दाबी छ ।

‘अधिकांश व्यवसायीको ठूला दलका नेतासँग उठबस हुन्छ । विभिन्न पार्टीसँग नजिक छन्,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘त्यसको प्रतिफल अनुगमन टोलीमाथि नै आक्रमण हुन्छ ।’ अनुगमन क्रममा आक्रमणलगायत घटना भए पनि ती व्यवसायीलाई कारबाहीको दायरामा ल्याइएको छैन ।

सरकारले अनुगमनमा हिँड्ने टोलीलाई शान्तिसुरक्षाको प्रत्याभूति गराउन सकेको छैन । सरकारी टोलीमाथि नै आक्रमण हुँदासमेत कारबाही नहुँदा राज्य विफल हुँदै गएको उपभोक्ताकर्मीहरू बताउँछन् । ‘अनुगमन टोलीलाई बन्धक बनाउने, कुटपिट गर्नेलाई कारबाहीको दायरामा ल्याउन सक्नुपथ्र्यो,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘तर विगतको घटनामा कारबाही हुन सकेन । यसले अनुगमन टोलीलाई निरुत्साहित बनाउँछ ।’

यता उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बिचौलियालाई कारबाहीको दायरामा ल्याउने दाबी गरे । ‘गडबड गर्ने, सरकारले अनुगमन गर्दा विरोध गर्नेलाई छुट हुँदैन,’ मन्त्री यादवले भने, ‘अनुगमनमा अवरोध गर्ने एक व्यवसायीलाई कारबाहीको प्रक्रिया बढाएका छौं । अन्यको पनि खोजी भइरहेको छ ।’ सबै क्षेत्रमा बेथिति रहेकाले सबै व्यवसायीलाई कारबाही गर्दा व्यवसायी राख्ने ठाउँ नहुने दाबी गरे । ‘पैसा कमाउने नाममा व्यवसायीले अपराध गरेका छन्,’ उनले भने, ‘गृह, कृषि मन्त्रालयसहितको टिमलाई तीव्र बनाएका छौं । बिचौलिया सबै हटाउँछौं । अनुगमन दीर्घकालीन रूपमा हुन्छ ।’

प्रतिवेदन दराजमै
सरकारले बिचौलियको अन्त गर्न यसअघि तयार पारेको अध्ययन प्रतिवेदन दराजमै थन्किएको छ । विभागका तत्कालीन निर्देशक निरज पौडेलको संयोजकत्वमा गठित अध्ययन टोलीले पाँचखाल, धादिङ, नुवाकोट र मकवानपुरका तरकारी उत्पादक, स्थानीय संकलक तथा व्यापारी, कालीमाटी बजारका व्यापारी, खुद्रा व्यापारीलगायतसँग अन्तरक्रियापश्चात् प्रतिवेदन तयार पारेको थियो ।

गत मंसिरमा तयार पारिएको प्रतिवेदनमा विभिन्न तहमा मूल्य तोकिँदा उपभोक्ता ठगिएको, बिचौलियाले किसान र उपभोक्तालाई मर्कामा पारेको प्रतिवेदन तयार पारेको थियो । प्रतिवेदन आपूर्ति मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा बुझाए पनि कार्यान्वयन भएको छैन । प्रतिवेदनअनुसार कृषकदेखि उपभोक्तासम्म आइपुग्दा १ सय १८ प्रतिशतसम्म मूल्य परिवर्तन हुन्छ ।

किसान र उपभोक्ताबीचको मूल्यअन्तर घटाउन पार गर्नुपर्ने चरण घटाउनुपर्ने, कृषकले आफ्नो उत्पादनको बजार व्यवस्थापन आफैंले गर्न पाउने अवस्था सिर्जना गर्नका लागि कृषक सहकारीको आफ्नै स्टल तरकारी बिक्री केन्द्रमा रहने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको थियो ।

किसानलाई स्थानीय व्यापारी तथा मध्यस्थकर्ताको चंगुलबाट स्वतन्त्र राख्नका लागि सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउने, बीउविजन विषादीको सहज उपलब्ध हुने व्यवस्था मिलाउनुपर्ने, मूल्य निर्धारण प्रक्रियामा सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह गरी बिचौलियाहरूले मनोमानी रूपमा मूल्य तोक्ने परिपाटी अन्त्य गर्नुपर्ने सिफारिस गरेको थियो ।

कालीमाटी समिति खारेज गर्न माग
उपभोक्ता अधिकारकर्मीहरूले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति नै खारेज गर्नुपर्ने माग गरेका छन् । समितिले स्टल भाडा उठाउनेबाहेक अन्य काम नगरेको जनाउँदै उनीहरूले तत्काल खारेज गरी किसान, उपभोक्ता, व्यवसायी र सरकारसहितको मोडलमा सञ्चालन गर्नुपर्ने माग गरेका हुन् । उनीहरूले प्रधानमन्त्री कार्यालय, आपूर्ति मन्त्रालय र कृषि मन्त्रालयमा ज्ञापनपत्र बुझाएर बजार व्यवस्थित गर्न माग गरेका हुन् ।

‘समितिले बिचौलियालाई प्रोत्साहनबाहेक केही गरेको छैन । समितिकै कर्मचारीको मिलेमतोमा किसान र उपभोक्ता ठगिएका छन्,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘बिचौलियको अन्त गर्न समिति नै खारेज गर्नुपर्छ ।’ राष्ट्रिय उपभोक्ता मञ्चले जारी गरेको विज्ञप्तिमा पनि तत्काल विघटन गरी पब्लिक प्राइभेट पार्टनरसिप उद्यमका रूपमा विकास गरी सरकारको स्वामित्वसहितको कम्पनीमा रूपान्तरण गर्ने उल्लेख छ ।

तरकारी बजारलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धायुक्त बनाउन अत्यन्त जरुरी भएको जनाएको छ । ‘कालीमाटी तरकारी तथा फलफूल विकास समितिभित्र भइरहेको व्यवस्थापकीय तथा व्यावसायिक बेथितिलाई निरुपण गर्न जरुरी छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धित मन्त्रालय तथा नियामक निकायलाई आवश्यक निर्देशन दिई उपभोक्ता हित रक्षाका लागि पहल गरिपाउन प्रधानमन्त्रीसँग माग गर्दछौं ।’

प्रकाशित : भाद्र ८, २०७५ ०७:१०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

कुखुरा नपाल्ने गाउँ

पुस्तौंदेखि कुखुरा पालिँदैन गोपाली गाउँमा
प्रताप विष्ट

थाहा (मकवानपुर) — हिमाल, पहाड होस् वा तराई, अधिकांशले कुखुरा पाल्ने गर्छन् । थोरैले व्यावसायिक र धेरैले परम्परागत ढंगले कुखुरा पालिरहेकै छन् । तर मकवानपुरको उत्तरी क्षेत्रमा यस्ता गाउँ छन् जहाँ कुखुरा पाल्ने त कुरै छाडौं, छुन पनि छुँदैनन् ।

मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका-१ मा पर्ने कुन्छाल गाउँ । उक्त वस्तीमा गोपाली समुदायमात्र बसोवास गर्छन् । उनीहरु कुखुरा नपाल्नेमात्र होइन कुखुराको मासु र अन्डा पनि खादैनन् ।तस्बिरः प्रताप विष्ट/कान्तिपुर

मासु र अन्डा पनि खाँदैनन् । कुुखुराको साटो हाँस पाल्छन् । थाहा नगरपालिका वडा १ र १० का कुन्छाल गाउँ, नुलगाउँ र टौखेलमा प्राय: ले हाँस पालेकै हुन्छन् ।

यी बस्तीमा गोपाली समुदायको बसोबास उल्लेख्य छ । एकनासे घर भएका कुन्छाल बस्तीमा पुस्तौंदेखि नै कुखुरा पाल्ने चलन छैन । ‘भाले बास्यो भने गाउँमा रोगब्याधी लाग्ने, असिना परी बाली नष्ट हुने विश्वासले कुखुरा पाल्दैनौं,’ थकालीसमेत रहेका कुन्छाल गाउँका ७८ वर्षीय चन्द्रबहादुर गोपालीले भने, ‘हाम्रो समुदायलाई भाले बासेको नफाप्ने भएकाले कुखुरा नपालेका हौं ।’

यहाँका गोपाली समुदाय कुखुरापालन नगरे पनि अन्य व्यवसायमा भने संलग्न छन् । केही युवा भने लुकेरै कुखुराको मासु खाने गर्छन् । दशकअघि कुन्छालका एक युवाले कुखुरा पाल्न खोज्दा चन्द्रबहादुरलगायत गुठीका व्यक्तिले पाल्न दिएनन् । ‘कुन्छाल, टौखेल र नुलगाउँका गोपालीहरूले कुखुरा पाल्दै पाल्दैनन्,’ स्थानीय शिक्षक नीराजन गोपालीले भने, ‘कुखुराको मासु मात्र होइन, अन्डासमेत खान पाइँदैन, भोज भतेर र गुठी पूजालगायत अन्य कर्ममा हाँसका अन्डा चढाइने गरिन्छ ।’ अन्तरजातीय विवाह गरे कुलभित्र पस्न दिइँदैन । कथं बिहे गरी जन्मेका सन्तानको मृत्यु भए दाहसंस्कारका लागि स्थान पनि दिइँदैन ।

तानमा आफैंले बुनेको कपडा लगाउने यो समुदायको रीतिरिवाज र सामाजिक कार्यको अगुवाइ चन्द्रबहादुरले नै गरिरहेका छन् । उनी गोपाली गुठीका प्रमुखसमेत हुन् । गुठीमा उनीसहित ५ नाइके र हिसाबकिताब राख्ने ३ बैदार पनि छन् । ‘यो नाइके र बैदार राख्ने प्रथा परम्परादेखि नै चल्दै आएको छ,’ शिक्षक नीराजनले भने, ‘नाइके र बैदार वंशानुगत नै हुने चलन छ ।’

सामाजिक काम गर्नुपरे नाइकेहरूले गाउँलेलाई उर्दी लगाउने गर्छन् । उर्दी नमान्नेलाई दण्डको व्यवस्था छ । मलामी र गुठीको खेतीमा नजानेलाई २०/२० रुपैयाँ दण्डको व्यवस्था तोकिएको छ । ‘दण्डको रकम हालै मात्र वृद्धि गरिएको हो,’ प्रमुुख नाइके चन्द्रबहादुरले भने । कुन्छालमा २ सय ४० घरधुरीमा करिब ४ सय परिवार बस्छन् । एउटै घरमा ३ देखि ५ परिवारको चुलो छ ।

टौखेल र नुल गाउँको गोपाली बस्तीमा पनि यस्तै चलन छ । टौखेल र नुल गाउँ करिब ३ किमि दूरीमा रहे पनि दुवै गाउँका नाइके र बैदार एउटै छन् । यी दुई गाउँको मुख्य नाइके रामलाल गोपाली हुन् । उनीसहित ४ नाइके पनि छन् । ‘कुखुरा यहाँ पाल्नै पाइँदैन,’ शिक्षक रुद्र गोपालीले भने । यहाँ नाइकेले अह्राएको सामूहिक काममा नआउनेलाई ५० रुपैयाँ जरिवाना तोकिएको छ ।

काठमाडौंमा राज्य गर्ने गोपाल वंशका सन्तान गोपाली (ग्वाला) लखेटिएर यस क्षेत्रमा आएका हुन् । इतिहासमा गाई गोठालाको सन्तानका रूपमा चिनिने ग्वालाहरू पञ्चायतकालको उत्तराद्र्धमा गोपालीमा परिणत भए ।

साबिकको टिस्टुङ गाविसको कुन्छालका रामलाल ग्वाला प्रधानपञ्च भएका समयमा उनैले ग्वाला हटाएर गोपाली लेख्न सुरु गरेको सानोकाजी गोपाली बताउँछन् । भन्छन्, ‘ग्वालाबाट गोपाली बनाउन रामलालको योगदान धेरै छ ।’ गोपाली परिश्रमी समुदायका रूपमा चिनिन्छन् । टौखेल र नुल गाउँमा गोपाली समुदायको १ सय ७० घरधुरी छ ।

प्रकाशित : भाद्र ७, २०७५ २१:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT