मकवानपुरको एउटा गाउँ, जहाँ कुखुरा नै पालिन्न

गोपाली गाउँमा खाँदैनन् मासु र अन्डा
प्रताप विष्ट

थाहा (मकवानपुर) — हिमाल, पहाड होस् वा तराई, अधिकांशले कुखुरा पाल्ने गर्छन् । थोरैले व्यावसायिक र धेरैले परम्परागत ढंगले कुखुरा पालिरहेकै छन् । तर मकवानपुरको उत्तरी क्षेत्रमा यस्ता गाउँ छन् जहाँ कुखुरा पाल्ने त कुरै छाडौं, छुन पनि छुँदैनन् । मासु र अन्डा पनि खाँदैनन् । कुखुराको साटो ती गाउँका मानिस हाँस पाल्छन् । थाहा नगरपालिका वडा १ र १० का कुन्छाल गाउँ, नुलगाउँ र टौखेलमा प्राय: ले हाँस पालेकै हुन्छन् ।

यी बस्तीमा गोपाली समुदायको बसोबास उल्लेख्य छ । एकनासे घर भएका कुन्छाल बस्तीमा पुस्तौंदेखि नै कुखुरा पाल्ने चलन छैन । ‘भाले बास्यो भने गाउँमा रोगब्याधी लाग्ने, असिना परी बाली नष्ट हुने विश्वासले कुखुरा पाल्दैनौं,’ थकालीसमेत रहेका कुन्छाल गाउँका ७८ वर्षीय चन्द्रबहादुर गोपालीले भने, ‘हाम्रो समुदायलाई भाले बासेको नफाप्ने भएकाले कुखुरा नपालेका हौं ।’

Yamaha


यहाँका गोपाली समुदाय कुखुरापालन नगरे पनि अन्य व्यवसायमा भने संलग्न छन् । केही युवा भने लुकेरै कुखुराको मासु खाने गर्छन् । दशकअघि कुन्छालका एक युवाले कुखुरा पाल्न खोज्दा चन्द्रबहादुरलगायत गुठीका व्यक्तिले पाल्न दिएनन् ।

‘कुन्छाल, टौखेल र नुलगाउँका गोपालीहरूले कुखुरा पाल्दै पाल्दैनन्,’ स्थानीय शिक्षक नीराजन गोपालीले भने, ‘कुखुराको मासु मात्र होइन, अन्डासमेत खान पाइँदैन, भोज भतेर र गुठी पूजालगायत अन्य कर्ममा हाँसका अन्डा चढाइने गरिन्छ ।’ अन्तरजातीय विवाह गरे कुलभित्र पस्न दिइँदैन । कथं बिहे गरी जन्मेका सन्तानको मृत्यु भए दाहसंस्कारका लागि स्थान पनि दिइँदैन ।

तानमा आफैंले बुनेको कपडा लगाउने यो समुदायको रितिरिवाज र सामाजिक कार्यको अगुवाइ चन्द्रबहादुरले नै गरिरहेका छन् । उनी गोपाली गुठीका प्रमुखसमेत हुन् । गुठीमा उनीसहित ५ नाइके र हिसाबकिताब राख्ने ३ बैदार पनि छन् । ‘यो नाइके र बैदार राख्ने प्रथा परम्परादेखि नै चल्दै आएको छ,’ शिक्षक नीराजनले भने, ‘नाइके र बैदार वंशानुगत नै हुने चलन छ ।’

सामाजिक काम गर्नुपरे नाइकेहरूले गाउँलेलाई उर्दी लगाउने गर्छन् । उर्दी नमान्नेलाई दण्डको व्यवस्था छ । मलामी र गुठीको खेतीमा नजानेलाई २०/२० रुपैयाँ दण्डको व्यवस्था तोकिएको छ । ‘दण्डको रकम हालै मात्र वृद्धि गरिएको हो,’ प्रमुख नाइके चन्द्रबहादुरले भने । कुन्छालमा २ सय ४० घरधुरीमा करिब ४ सय परिवार बस्छन् । एउटै घरमा ३ देखि ५ परिवारको चुलो छ ।

टौखेल र नुल गाउँको गोपाली बस्तीमा पनि यस्तै चलन छ । टौखेल र नुल गाउँ करिब ३ किमि दूरीमा रहे पनि दुवै गाउँका नाइके र बैदार एउटै छन् । यी दुई गाउँको मुख्य नाइके रामलाल गोपाली हुन् । उनीसहित ४ नाइके पनि छन् । ‘कुखुरा यहाँ पाल्नै पाइँदैन,’ शिक्षक रुद्र गोपालीले भने । यहाँ नाइकेले अह्राएको सामूहिक काममा नआउनेलाई ५० रुपैयाँ जरिवाना तोकिएको छ ।

काठमाडौंमा राज्य गर्ने गोपाल वंशका सन्तान गोपाली (ग्वाला) लखेटिएर यस क्षेत्रमा आएका हुन् । इतिहासमा गाई गोठालाको सन्तानका रूपमा चिनिने ग्वालाहरू पञ्चायतकालको उत्तरार्द्धमा गोपालीमा परिणत भए । साबिकको टिस्टुङ गाविसको कुन्छालका रामलाल ग्वाला प्रधानपञ्च भएका समयमा उनैले ग्वाला हटाएर गोपाली लेख्न सुरु गरेको सानोकाजी गोपाली बताउँछन् । भन्छन्, ‘ग्वालाबाट गोपाली बनाउन रामलालको योगदान धेरै छ ।’ गोपाली परिश्रमी समुदायका रूपमा चिनिन्छन् । टौखेल र नुल गाउँमा गोपाली समुदायको १ सय ७० घरधुरी छ ।

प्रकाशित : भाद्र ८, २०७५ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बाटो नै बाधक

बौद्ध – जोरपाटी सडकमा सास्ती
विद्या राई

काठमाडौँ — बौद्ध – जोरपाटी सडकमा सामान्य पानी पर्ने बित्तिकै भेल बग्छ । सवारीसाधानहरु गुड्नुको साटो पौडिएझै देखिन्छन् । वारपार गर्न लागेका पैदलयात्रीहरु बीचैमा रोकिन्छन् ।

बाटो काट्न मुस्किल र जोखिमपुर्ण छ । यस्तो बाटोमा अशक्त, अपागं भएका मानिसहरुलाई बाटो झनै सकस छ ।थप जानकारीका लागी तलकाे भिडियाे हेर्नुहाेस् ।

प्रकाशित : भाद्र ८, २०७५ १६:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT