बिमस्टेक सम्मेलनभर जोर/बिजोर सवारीसाधन चलाउनु पर्ने

दीपेन्द्र विष्ट

काठमाडौँ — आगामी १४ र १५ हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनभर सरकारले काठमाडौं उपत्यकामा जोर र बिजोर नम्बर प्लेटका आधारमा सवारीसाधन चलाउन दिने निर्णय गरेको छ । शुक्रबार गृहमन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो निर्णय गरेको हो ।

बिमस्टेक सम्मेलनभर जोर/बिजोर सवारीसाधन चलाउनु पर्ने

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख बसन्त पन्तका अनुसार बिमस्टेक सुरु हुने अघिल्लो दिन अर्थात भदौ १३ देखि १५ गतेसम्म यो नियम लागू हुनेछ ।

उनका अनुसार उपत्यकामा १३ र १५ गते बिजोर नम्बर प्लेटका सवारीसाधन गुडाउन पाइनेछ भने १४ गते जोर नम्बर प्लेटका गाडी गुडाउन पाइने छ ।

सम्मेलनमा सहभागी हुन आएका विशिष्ट पाहुनाहरुको सवारी आवागमनको सहजता र सुरक्षाका लागि उनीहरुले प्रयोग गर्ने रुट पूर्ण रुपमा खाली गराइनुपर्ने हुँदा अत्याधिक सवारीसाधनको चाप उपत्यकामा ट्राफिक जामको समस्या नहोस् भनेर यो व्यवस्था गरिएको हो ।

पन्तले भने, 'खासगरी स्कुल बसहरुले गर्दा बिहान र बेलुकीको समयमा सवारी जाम हुन्छ । त्यो अवधिमा स्कुलका बस पनि गुड्न नदिइने कि भन्ने छलफलमा छौं ।'


प्रकाशित : भाद्र ८, २०७५ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?