१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

किशाेरी बलात्कार र हत्या प्रकरण : कञ्चनपुरमा प्रहरीले गोली चलाउँदा किशोरको मृत्यु

कञ्चनपुर — किशोरीको बलात्कारपछि हत्या घटनामा प्रहरी अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा शुक्रबार महेन्द्रनगरमा एक जनाको मृत्यु भएको छ । महेन्द्रनगर, भगतपुरका १४ वर्षीय सन्नी खुनाको मृत्यु भएको हो । 

किशाेरी बलात्कार र हत्या प्रकरण : कञ्चनपुरमा प्रहरीले गोली चलाउँदा किशोरको मृत्यु

अञ्चल अस्पतालबाट रिफर भई धनगढी लैजाने क्रममा उनको मृत्यु भएको एसपी कुवेरसिंह कठायतले जानकारी दिए ।


प्रहरीको गोली र लाठीचार्जबाट २४ जना घाइते भएका छन् । गोली लागेका ७ जनालाई थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको छ । लाठीचार्ज र भागदौडबाट घाइते १७ जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । बजार तनावग्रस्त भएपछि राति ८ बजेदेखि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ ।


बिहीबार रातिदेखि कफ्र्यु लगाइएपछि शुक्रबार दिउँसोसम्म शान्त रहेको बजार क्षेत्रमा एकाएक आन्दोलन चर्किएको थियो । जिल्ला प्रशासन कार्यालयको गेटमा प्रदर्शनकारीसँग झडप भएपछि प्रहरीले तीस राउन्डभन्दा बढी गोली चलाएको थियो ।


साउन १० गते हराएकी किशोरीको शव भोलिपल्ट फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको थियो । घटनाकै दिनदेखि स्थानीयले दोषीलाई कारबाही माग्दै आन्दोलन थालेका थिए । प्रहरीले सोमबार मानसिक अवस्था ठीक नभएका ४१ वर्षीय दिलीप विष्टलाई मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेपछि आन्दोलन झन् चर्किएको हो । स्थानीयले किशोरी पढ्न गएको घरका परिवार सदस्यमाथि अनुसन्धान नगरी नक्कली अभियुक्त सार्वजनिक गरेको आरोप लगाएका छन् । आन्दोलन चर्किंदै गएपछि सरकारले बिहीबार मात्रै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख फेरेको थियो ।


उच्चस्तरीय छानबिन टोली महेन्द्रनगरमा

घटना अनुसन्धानका लागि गृह मन्त्रालयको उच्चस्तरीय छानबिन समिति महेन्द्रनगर पुगेको छ । समितिले शुक्रबारदेखि नै विभिन्न सरोकारवाला निकायसँग छलफल सुरु गरेको छ । गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिले पहिलो चरणमा शुक्रबार सुरक्षा निकायसँग आन्तरिक छलफल गरेको छ । ‘यहाँको वस्तुस्थिति बुझ्नुका साथै छलफल प्रारम्भ गरिसकेका छौं,’ मैनालीले भने, ‘सुरक्षा निकाय र अन्य सरोकारवालासँग छलफल गरेका छौं ।’


उनले पीडित पक्ष, केन्द्रीय अनुसन्धान ब्युरोको टोली, स्थानीय, राजनीतिक दल र अन्य सरोकारवालासँग पनि छलफल गर्ने बताए । ‘छानबिनका क्रममा कमीकमजोरी देखिए सच्याएर जान्छौं,’ उनले भने, ‘सबैसँग समन्वय गरेर अगाडि बढ्छौं ।’


रोकिएन प्रदर्शन

प्रदर्शनका कारण शुक्रबार चौथो दिन पनि महेन्द्रनगर बजार तनावग्रस्त रह्यो । बजार क्षेत्रमा आन्दोलनकारीले टायर बालेका छन् भने गाउँमा पनि प्रदर्शन भएको छ । दिनभर बजार क्षेत्र शान्त रहे पनि साँझ एकाएक प्रदर्शन उग्र बनेको थियो । राजमार्ग क्षेत्रमा टायर बालेर यातायात अवरुद्ध गरिएको छ । प्रहरीले चलाएको गोली लागेर बिहीबार ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रदर्शनकारीको ढुंगा प्रहारबाट ४ जना प्रहरी घाइते छन् ।


पूर्व(पश्चिम राजमार्गअन्तर्गत विभिन्न ठाउँमा टायर बालेर यातायात बन्द गरिएको छ । भीमदत्त नगरपालिकाको सुकाशाल, वेदकोटको लालपुर, कृष्णपुरको गुलरिया तथा बेलौरी र बेल्डाँडीमा पनि किशोरी हत्याको घटनालाई लिएर स्थानीयले प्रदर्शन गरेका छन् ।


सरकारले बिहीबार मात्र खटाएका नयाँ एसपी कठायतले जिल्लाका सबै राजनीतिक दल, नागरिक समाज, पीडित पक्ष र अन्य सरोकारवालासँग छलफल गरेर अघि बढ्ने बताए । ‘सँगसँगै बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धान पनि अगाडि बढाइने छ,’ उनले भने ।


प्रकाशित : भाद्र ८, २०७५ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?