कांग्रेसमा शशांक भर्सेस शेखर

शेखर आफूले पार्टी र शशांकले सरकारको नेतृत्वका लागि बाटो समातिदिए हुन्थ्यो भन्ने पक्षमा छन् । तर शशांक पनि पार्टी नेतृत्व नै ताकिरहेका छन् ।
कुलचन्द्र न्यौपाने

काठमाडौँ — विराटनगरको कोइराला निवासमा एउटा कालो रंगको कुर्सी छ । हेर्दा सामान्य लागे पनि यसले कोइराला परिवारको विरासत झल्काउँछ । यो कुर्सीमा लामो समय गिरिजाप्रसाद कोइराला बसे । उनको निधनपछि सुशील कोइराला यो कुर्सीमा बस्न थाले ।

यो कुर्सीमा जो बस्यो, त्यो नै कोइराला परिवारको मूली भन्ने अर्थ लाग्छ । सुशीलको पनि निधनपछि यो कुर्सीमा शेखर कोइराला बस्ने गरेका छन् ।

भदौ ३ आइतबार बिहान भने यो कुर्सीमा फरक मानिस थिए । कोइराला निवासको त्यस दिनको दृश्य र परिवेशले कांग्रेसीहरूमाझ राजनीतिक सम्भावनाका धेरै संकेत पनि छाडेको छ । विराटनगर जाँदा सधैं होटलमा बस्ने महामन्त्री शशांक कोइराला त्यति बेला कोइराला निवासमै बसे । निवासमा मात्र होइन, त्यही कालो कुर्सीमा बसे । उनलाई तानेर ‘मूली’ कुर्सीमा राख्ने व्यक्ति थिए, शेखर कोइराला ।

Yamaha

‘पहिला त उहाँ अर्कै कुर्सीमा बस्नुभएको थियो । शेखर दाइले उहाँलाई त्यसमा बसाल्नुभयो,’ कोइराला निवासका एक सहयोगीले भने । डेढ वर्षपछि हुने पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा यो एउटा सांकेतिक अर्थ थियो या पार्टीको पदीय सम्मान ? भविष्यले प्रस्ट्याउला । अहिलेलाई भने यसको संकेत हो– कोइराला परिवारले कांग्रेसको भावी नेतृत्व लिने माहोल खडा गरेको छ । यसका लागि मुख्य दाबेदार सहमतिबाटै चुनिनेछन् ।

भावी नेतृत्वका लागि कोइराला परिवारभित्र छलफल भएको कुरालाई शेखर अस्वीकार गर्छन् । कोइराला परिवारका तीन सदस्य (शेखर, शशांक र सुजाता) को बेलाबखत भइरहने छलफललाई उनी पारिवारिक भेट भन्न रुचाउँछन् । यद्यपि तीनै जना सक्रिय राजनीतिमा रहेकाले यस्ता भेटमा राजनीतिक कुराकानी सामान्य भएको उनको भनाइ छ ।

‘अहिल्यै नेतृत्वको कुरा गरिहाल्ने बेला भएको छैन । कोइराला परिवारबाहिर धेरै योगदान गरेका साथीहरू पनि हुनुहुन्छ,’ उनले थपे, ‘रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, रामशरण महत र हाम्रो निरन्तर छलफल भइरहेको छ । तर, नेतृत्वको कुरा भइसकेको छैन ।’

सक्रिय तीन कोइरालामध्ये शशांक पार्टी महामन्त्री छन् । शेखर र सुजाता केन्द्रीय सदस्य । शशांक बीपी पुत्र हुन् । शेखर नोना कोइरालाका छोरा हुन् भने सुजाता गिरिजाप्रसादकी छोरी । १३ औं महाधिवेशनसम्म नेतृत्वको महत्त्वाकांक्षा राखेकी सुजाता पछिल्लोपटक स्वास्थ्यका कारण पछि हटेपछि शशांक र शेखरबीच आन्तरिक प्रतिस्पर्धा छ । ‘अझै दुई वर्ष बाँकी छ । अहिल्यै किन टाउको दुखाउने ?,’ नेतृत्वका लागि को अघि बढ्ने तयारी छ भन्ने प्रश्नमा सुजाताको संक्षिप्त प्रतिक्रिया थियो, ‘त्यति बेलाको परिस्थिति र समयले जसलाई खोज्छ, उही हुन्छ ।’

शेखर आफूले पार्टी र शशांकले सरकारको नेतृत्वका लागि बाटो समातिदिए हुन्थ्यो भन्ने पक्षमा रहेको उनीनिकट बताउँछन् । तर, शशांक पनि पार्टी नै ताकिरहेका छन् । शशांकले केही समयअघि कान्तिपुरसँग आफूले सभापतिमा प्रतिस्पर्धा गर्ने बताएका थिए । आइतबार पनि विराटनगर निवासमा उनले दुई दाजुभाइमध्ये एक जना सभापति उठ्ने घोषणा गरे । ‘शेखर दाइसँग कुरा भइरहेको छ, हामी दुईमध्ये एकजना सभापति उठ्नेमा शंका छैन,’ शशांकको भनाइ थियो, ‘म कि दा भन्ने अन्तिम टुंगो लाग्न बाँकी छ ।’

पछिल्लोपटक सभापति शेरबहादुर देउवाप्रति महामन्त्री शशांक बढी नै नरम भएको भन्दै शेखरको असन्तुष्टि थियो । उनले पटकपटक सभापतिको गलत कामको आलोचना गर्न आग्रह पनि गरे । तर, शशांक लामो समय मौन बसे । वरिष्ठ नेता पौडेल र शशांक पक्षीय कतिपय नेताहरूले उनको भूमिकालाई लिएर सार्वजनिक रूपमा आपत्ति जनाए पनि । आइतबार विराटनगरमा पहिलोपटक शशांकले सभापतिको कडा रूपमा सार्वजनिक आलोचना गरेका हुन् ।

१३ औं महाधिवेशनमा भने कोइरालाको उम्मेदवारी महामन्त्रीमा थियो । सभापति उम्मेदवार थिए– रामचन्द्र पौडेल । १४ औं महाधिवेशनमा परिवारका तीनै सदस्य मिलेर एक जनालाई अघि सार्दा वरिष्ठ नेता रामचन्द्र पौडेलको राजनीतिक यात्रामा ठूलो धक्का लाग्ने देखिन्छ । अर्कातर्फ वर्तमान सभापति देउवाका लागि पनि चुनौती खडा हुनेछ । देउवा आफ्नो समूहमा सर्वसम्मत छन् । तर, पौडेल सर्वसम्मत छैनन् । १३ औं महाधिवेशनमै कृष्णप्रसाद सिटौला पनि उम्मेदवार बनेका थिए ।

सर्वसम्मत भए पनि देउवाको छवि पार्टीको तल्लो पंक्तिमा सकारात्मक छैन । तैपनि उनले आफ्नो समूहमा नेतृत्वको निरन्तरताका लागि अहिल्यैदेखि माहोल खडा गरिरहेका छन् । एकपटक नेतृत्वका लागि आफैं प्रतिस्पर्धामा अघि बढ्ने सोचमा पौडेल पनि देखिन्छन् । त्यसका लागि कोइराला परिवार, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पक्षलाई मिलाउन उनलाई चुनौती छ । त्यस्तै चुनौती दुवै कोइरालाका लागि पनि छ ।

शशांक वा शेखरलाई नेतृत्वका लागि अघि सार्न पौडेल, सिंह र सिटौला तयार नभएको खण्डमा कोइराला परिवारलाई पनि संकट पर्नेछ । सिंह र सिटौलाको भूमिकाले अबको सभापति उम्मेदवार पौडेल हुने कि दुई कोइरालामध्ये एक हुने भन्ने निश्चित गर्न सक्छ । पूर्वमहामन्त्री सिंह पौडेलनिकट छन् भने सिटौला कोइरालाहरूतर्फ । संस्थापनइतर पक्षबाट सर्वसम्मत उम्मेदवार को बन्ने भन्नेबारे पौडेल, शशांक, सिंह, सिटौला, शेखर, रामशरण महत, अर्जुननरसिंह केसी निरन्तर संवादमा छन् । ‘यो छलफलमा अहिल्यै यो भन्ने छैन, महाधिवेशनका बेला परिस्थिति र अवस्था हेरेर को अघि बढ्दा चुनाव जित्न सकिन्छ भन्ने आधारमा निर्णय लिने भनिएको छ,’ संस्थापनइतरका एक नेताले कान्तिपुरसँग भने ।

उमेरका हिसाबले देउवा र पौडेलबीच एक वर्षको अन्तर छ । देउवा ७३ र पौडेल ७४ वर्षका छन् । नियमित समयमा महाधिवेशन भए त्यति बेला पौडेल ७६ लाग्नेछन् भने देउवा ७५ । शशांकभन्दा शेखर ८ वर्ष जेठा छन् । अब हुने महाधिवेशनमा शेखरको उमेर पनि ७० हाराहारी पुग्नेछ । शशांक ६२ हुनेछन् । त्यस हिसाबले पनि शेखर अबकै महाधिवेशनमा नेतृत्वका लागि अघि सर्नुपर्ने दबाबमा देखिन्छन् । १२ औं महाधिवेशनमा तीनै कोइराला महामन्त्रीको प्रतिस्पर्धामा थिए, जसमध्ये शशांक अघि बढेका थिए ।

नेतृत्वका लागि आन्तरिक रूपमा लामो संघर्ष चले पनि मौका पर्दा परिवार सदस्य एकै ठाउँ उभिन्छन् भन्ने उदाहरण पनि उनीहरूले बेलाबखत दिँदै आएका छन् । सुजाताले एक–दुई भेटमा दाजुभाइ (शशांक र शेखर) लाई मिलेरै अघि बढ्न आग्रह गरेकी थिइन् । महामन्त्री शशांकका सहयोगी भरत तिवारी पनि दुईजना एउटै पदमा लड्न हुन्न भन्ने आन्तरिक समझदारी रहेको बताउँछन् । सभापति देउवालाई कार्यकाल बढाउन नदिई समयमै नियमित महाधिवेशनका लागि दबाब दिनेबारे छलफल भएको पनि उनले जनाए ।

बीपी पुत्र भएका कारण विरासतका हिसाबले शेखरभन्दा शशांकलाई बढी सुविधा छ । विरासतको फाइदा ५० प्रतिशत शशांकलाई भए त्यसको २० प्रतिशत मात्रै शेखरलाई मिल्न सक्छ । तर, सक्रियताका हिसाबले शेखर धेरै अघि छन् ।

१३ औं महाधिवेशन अघिदेखि नै उनले जिल्ला दौडाहाको अभियानलाई निरन्तर राख्दै आएका छन् । बिहीबार दिउँसो शेखर सिरहाका राजनीतिक कार्यकर्ताहरूको भेलामा व्यस्त थिए । शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा समेत नआई कार्यकर्तासँग भेटघाट गर्ने उनको योजना छ । ‘बैठकमा खासै के हुन्छ र ? यहाँ धेरै कार्यकर्ता साथीहरूसँग भेटघाट गर्न पाइन्छ, कुरा गर्न पाइन्छ । कार्यकर्ताको मोरल हाई गर्न सकिन्छ । राजधानीमा किन समय फाल्ने ?’ उनले भने ।

कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरेका अनुसार शेखर आफ्नै बलबुताबाट राजनीतिमा परिपक्व हुँदै गएका छन् । ‘शशांक बीपीको लिगेसीबाट आएका हुन् । शशांकको राजनीतिक पुँजी आफ्नोभन्दा बीपीको नै हो,’ उनले भने । स्वयं शेखर पनि लिगेसी राजनीतिले मात्रै अब काम नचल्ने बताउँछन् । ‘म वंशवादमा विश्वास गर्दिनँ, कर्ममा विश्वास गर्छु,’ उनले भने, ‘विरासतले मात्रै अब नेतृत्वमा पुग्न सकिन्न ।’ संसदीय चुनावमा हारेका शेखरले १३ औं महाधिवेशनमा लोकप्रिय मतसहित केन्द्रीय सदस्य जितेका थिए ।

चुनावपछिको ८ महिनाको अवधिमा शेखर करिब ३५ जिल्ला पुगेका छन् । शेखरको यो दौडधुप १४ औं महाधिवेशनमा नेतृत्वकै तयारीका लागि हो । ‘चुनाव हारेपछि अप्ठ्यारो अवस्थामा गुज्रिरहेका कार्यकर्तालाई हतास र निराश हुन नदिन हामी तीनजना प्रतिबद्ध भएर एक ठाउँ उभिएका हौं,’ उनले भने, ‘सभापति नै ताक्यो भन्ने नठान्नुहोला ।’

शशांक आँखाका अब्बल चिकित्सक हुन् भने शेखर फिजिसियन । आफूपछिको विरासत धान्न यी दुवै दाजुभाइलाई राजनीतिमा ल्याउने काम गिरिजाप्रसादले गरेका थिए । शेखरभन्दा एक कार्यकालअघि शशांक केन्द्रीय सदस्य भएका थिए । शेखर ६२ को एघारौं महाधिवेशनबाट मात्रै पार्टीको केन्द्रीय सदस्यमा आएका हुन् । दशौं महाधिवेशनमै केन्द्रीय सदस्यमा चुनाव लड्ने तयारीमा रहेका शेखरले शशांकले समेत इच्छा देखाएपछि छाडिदिएका थिए । १३ औं महाधिवेशनमा पनि महामन्त्री पद शेखरले शशांकलाई छाडे । संसदीय निर्वाचनमा शशांक निरन्तर विजयी छन् भने शेखरले २०६५ को उपचुनाव र दोस्रो संविधानसभामा जिते।

प्रकाशित : भाद्र ९, २०७५ ०७:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

तरकारीमा सिन्डिकेट: होलसेल मूल्य नै फरक

‘मूल्य बढाउने–घटाउने सबै बिचौलियाको हातमा हुन्छ, कालिमाटी र धादिङमा छुट्टाछुट्टै दलाल बस्छन् । मूल्य कति निर्धारण गर्ने तिनै बिचौलियाले निर्णय गर्छन्’
राजु चौधरी

काठमाडौँ — तरकारीको मूल्य होलसेलमै ठाउँपिच्छे फरक भेटिएको छ । तरकारी उत्पादन र उपत्यका भित्रिने स्रोत एउटै भए पनि फरक–फरक मूल्य राखेर बेच्ने गरिएको छ ।

धादिङ, चितवन, मकवानपुर, काभ्रेलगायत जिल्लाबाट भित्रिने तरकारी कालिमाटी, बल्खु, मनोहरा, चाबहिल, टुकुचा र बालाजु होलसेलबाट अन्य क्षेत्रमा बिक्री हुन्छ । होलसेलमा मूल्य फरक हुँदा खुद्रा व्यवसायीले पनि त्यसैअनुसार असुल्दै आएका छन् ।


कालिमाटी बजारमा बिहीबार प्रतिढक (५ किलो) ४ सय रुपैयाँमा बिक्री भएको काउली बल्खु, मनोहरा र बालाजुमा ४ सय ५० तथा टुकुचामा ५ सय रुपैयाँमा बेचियो । कालिमाटीमा २ सय रुपैयाँ ढक बिक्री भएको भिन्डी बल्खु र मनोहरामा २ सय ५०, टुकुचामा ३ सय र बालाजुमा ४ सय ५० रुपैयाँमा बेचियो । व्यवसायीका अनुसार यो मूल्य दिउँसो १२ बजेपछिको हो । बिहान यसभन्दा प्रतिढक ५० रुपैयाँ महँगो थियो ।


वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालिमाटी तरकारी बजार अनुगमन गरे पनि उपत्यकाका अन्य तरकारीका होलसेल बजार अनुगमन गरेको छैन । ‘होलसेल बजार धेरै भए पनि सीमितमा मात्रै अनुगमन भएको छ,’ विभागका पूर्वमहानिर्देशक कुमार दाहालले भने, ‘गत वर्ष पनि मूल्य विश्लेषण गरेर दिएको हो तर अहिलेसम्म कार्यान्वयन भएको छैन ।’ एउटा क्षेत्रमा मात्रै अनुगमन गर्दा अन्यमा बिचौलियालाई फाइदा हुने उनी बताउँछन् । अनुगमनपछि कालिमाटी तरकारी बजारको मूल्यमा न्यून सुधार देखिए पनि अन्य तरकारी बजारमा भने बढेको छ ।


‘प्रभावकारी अनुगमन र कारबाही प्रक्रिया तत्काल अगाडि नबढदा फरकफरक मूल्यमा बिक्री भएको देखिन्छ । होससेलमै फरक मूल्य हुँदा खुद्रामा उपभोक्ता थप ठगिँदै आएका छन्,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने । मूल्य विश्लेषण र नियमन गर्ने पद्धति कमजोर हुँदा मनोमानी भइरहेको उनले दाबी गरे ।


कृषि उत्पादन र कृषि क्षेत्रको नियामक निकाय कृषि मन्त्रालय र विभाग हुन् । तर, यी निकायले प्रभावकारी रूपमा अनुगमन र नियन्त्रण गर्न सकेका छैनन् । मूल्यका सन्दर्भमा उद्योग वाणिज्य मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि हेर्छ । विभागका महानिर्देशक योगेन्द्र गौचन प्रतिवेदन आएपछि तत्काल अनुगमन सुरु गर्ने बताउँछन् । ‘अर्को सातासम्म प्रतिवेदन तयार हुन्छ,’ उनले भने, ‘त्यसपछि अन्य क्षेत्रमा पनि अनुगमन हुन्छ ।’


विभागले गत सोमबार कालिमाटीमा अनुगमन गर्दा व्यवसायीहरूले बिलबिना कारोबार गरिरहेको फेला परेको थियो । किसानबाट सस्तोमा खरिद गरिएको तरकारी उपभोक्तालाई चर्को मूल्यमा बिक्री गरेको पाइएको थियो । मन्त्रालय स्रोतका अनुसार कालिमाटीमा अनुगमनपछि टोली मंगलबार बल्खुलगायत तरकारी बजार पनि जाने तयारी थियो ।

त्यसका लागि प्रजिअ कार्यालयलाई प्रहरी पठाइदिन आग्रहसमेत गरिएको थियो । तर, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको निर्देशनमा टोली रोकियो । विभागले प्रतिवेदन निर्माणको बहानामा अनुगमन रोक्नु गलत भएको उपभोक्ता अधिकारकर्मी बताउँछन् । ‘अनुगमन नियमित प्रक्रिया हो । प्रतिवेदनकै नाममा अन्य तरकारी बजारमा अनुगमन रोक्न गलत हो,’ मञ्च अध्यक्ष तिमिल्सिनाले भने ।


उत्पादक, स्थानीय मध्यस्थकर्ता, ठूला थोक बिक्रेता, साना थोक बिक्रेता र खुद्रा बिक्रेता गरी पाँच तहमा मूल्य निर्धारण हुने गरेको छ । तर, मध्यस्थकर्तापछि बढ्ने मूल्य किसानले पाउँदैनन् । विभाग महानिर्देशक गौचनले प्रतिवेदनमा तह निर्धारण गर्न सिफारिस गरिने बताए ।


पूर्वमहानिर्देशक दाहालका अनुसार कृषि मन्त्रालय र आपूर्ति विभागले किसान र उपभोक्ताको पक्षमा काम गर्न सकेका छैनन् । ‘बिचौलिया/सिन्डिकेटधारी धेरै छन् तर किसानलाई संरक्षण गर्न सकिएको छैन,’ उनले भने, ‘कृषि मन्त्रालयले उत्पादन क्षेत्र घोषणा गरे पनि सहुलियत/सुविधा दिएन । भण्डारण बनाएको छैन, संकलन केन्द्र छैन ।’ दाहालका अनुसार मूल्य बढाउने–घटाउने सबै बिचौलियाको हातमा हुन्छ । ‘कालिमाटी र धादिङमा छुट्टाछुट्टै दलाल बस्छन् ।

मूल्य कति निर्धारण गर्ने तिनै बिचौलियाले निर्णय गर्छन्,’ उनले भने । दाहालका अनुसार बिलबिजक दोस्रो समस्या हो । सरकारले सञ्चालन गर्दै आएको सहकारीले पनि बिलबिजक जारी गरेका छैनन् । मूल्य नियन्त्रणका लागि सरकारले चिस्यान भ्यान (कोल्ड स्टोर) ट्रक सञ्चालन गरी त्यसैबाट बिक्रीवितरण गर्नुपर्ने दाहालको सुझाव छ । ‘सरकारले तरकारी ढुवानी गर्ने हो भने यसको भाउ प्रतिकिलो २० रुपैयाँभन्दा महँगो पर्दैन,’ उनले भने ।


वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकाल अनुगमन नियमित हुने दाबी गर्छन् । उनले भने, ‘कानुनी प्रक्रिया मिलाउँदै छौं । चाडबाड पनि नजिकिएकाले बजार अनुगमन बढ्छ, नियमित हुन्छ ।’

प्रकाशित : भाद्र ९, २०७५ ०७:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT