कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिक्षक कतै शून्य, कतै बढी

सुदीप कैनी

काठमाडौँ — देशका २ हजार ५ सय ५४ विद्यालयमा आधारभूत तह (कक्षा १–८) मा एक जना पनि स्थायी शिक्षक छैनन् । माध्यमिक तह (कक्षा ९–१०) पढाइ हुने ५ सय ४ विद्यालयमा शिक्षक दरबन्दी छैन । ३ हजार ५८ विद्यालयमा शिक्षक दरबन्दी शून्य छ ।

शिक्षक कतै शून्य, कतै बढी

कपिलवस्तुका स्थानीय तहपिच्छे प्राथमिक विद्यालयहरूमा विद्यार्थी अनुपात र शिक्षक दरबन्दीबीच ठूलो अन्तर छ । कुनै विद्यालयमा शिक्षक बढी छन् भने कुनैमा कम्ती । वाणगंगा गाउँपालिकामा २५ विद्यार्थीबराबर १ शिक्षकका दरले दरबन्दी छ, कपिलवस्तुकै विजयपुर गाउँपालिकामा १२६ विद्यार्थी बराबर १ शिक्षक छन् ।

यो तथ्यांक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदलले तयार पारेको हो । सरकारलाई शिक्षक दरबन्दी मिलाउन सुझाव दिने उद्देश्यले गठित कार्यदलले प्रदेश/प्रदेश पुगेर स्थानीय तहहरूको शिक्षक विवरण तयार पार्न थालेको छ । विद्यालयपिच्छे दरबन्दीमा ठूलो अन्तर रहेकाले प्रदेशान्तर सरुवा गरेर विद्यार्थी अनुपातमा शिक्षक संख्या कायम गर्नुपर्ने कार्यदलको प्रारम्भिक निष्कर्ष छ ।

कतिपय स्थानीय तहले शिक्षक दरबन्दी मिलान थालेपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रोकेको थियो । ‘स्थानीय तहभित्र मात्रै शिक्षक दरबन्दी मिलान गरेर पुग्दैन, त्यसैले प्रदेश, जिल्ला र स्थानीय तह स्तरको शिक्षक दरबन्दी यकिन गर्न आवश्यक छ,’ केन्द्रका महानिर्देशक तथा कार्यदल सदस्य सचिव बाबुराम पौडेलले भने ।

हिमाल, पहाड र तराईका विद्यालयमा मापदण्ड तयार गरेर विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी तोक्ने कार्यदलको तयारी छ । कार्यदलले तयार पारेको तथ्यांकअनुसार अधिकांश जिल्लाका सुगम विद्यालयमा धेरै र दुर्गममा थोरै शिक्षक छन् । ‘शिक्षक सुविधा भएको ठाउँका विद्यालयमा थुप्रने समस्या पुरानो हो,’ जिल्ला समन्वय समिति महासंघका उपाध्यक्ष सन्तमान तामाङले भने ।

खटाएका ठाउँमा नजाने र समयसापेक्ष अध्यापन गराउन नसक्ने शिक्षकलाई बिदाइ गर्नुपर्ने उनको सुझाव छ । राजनितिक पहुँचका आधारमा सुगमका विद्यालयमा आवश्यकताभन्दा बढी शिक्षक रहेको उनले बताए । विद्यालयक्षेत्र विकास योजनाले हिमाल, पहाड र तराई/उपत्यकामा क्रमश: ३०, ३५ र ४० विद्यार्थीबराबर एक जना शिक्षक रहनुपर्ने अवधारणा ल्याएको छ । तर उक्त अनुपातभन्दा हाल कार्यरत क्षेत्रहरूको दरबन्दीमा ठूलो अन्तर छ ।

हिमाली क्षेत्र मनाङको माध्यमिक तहमा ६ विद्यार्थीबराबर एक जनाका दरले शिक्षक छन् भने कालिकोटमा ६८ विद्यार्थीलाई एक शिक्षक छन् । निमावि तहमा पहाडी क्षेत्रको सल्यानमा ११६ र पर्वतमा २५ विद्यार्थी बराबर एक शिक्षक छन् ।

प्राथमिक तहमा तराईका झापामा २९ र सर्लाहीमा ७६ जना विद्यार्थीबराबर एक शिक्षक छन् । स्थानीय तह, जिल्ला र प्रदेशभित्रै पनि शिक्षक–विद्यार्थी अन्तर ठूलो रहेको पौडेलले बताए । कतै शिक्षक नै नहुने, कतै आवश्यकताभन्दा धेरै रहेका कारण दरबन्दी मिलान चुनौतीपूर्ण छ ।

भूगोल, विद्यार्थी संख्या, विषयका आधारमा आधारभूत तह र माध्यमिक तहमा शिक्षक कोटा निर्धारण गरिने कार्यदल संयोजक तथा पूर्वसचिव महाश्रम शर्माले जनाए । उनले भने, ‘७ सय ५३ वटै स्थानीय तहका लागि तहगत रूपमा बढी हुने र अपुग शिक्षकको दरबन्दी तोक्छौं ।’

प्रकाशित : भाद्र ९, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?