किशोरी हत्या प्रकरणः शुन्यबाट अनुसन्धानमा जुट्यो प्रहरी

भवानी भट्ट

कञ्चनपुर — १३ वर्षीया किशोरीका बलात्कारपछि हत्या भएको घटनाको कञ्चनपुर प्रहरीले प्रारम्भिक चरणबाट अनुसन्धान सुरु गरेको छ । घटना भएका दिन किशोरी पढ्न गएको घरका बम दिदीबहिनी रोशनी र बबितालाई नियन्त्रणमा लिएर घटनाका सुरुबाट अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुवेर कडायतले बताए । 

किशोरी हत्या प्रकरणः शुन्यबाट अनुसन्धानमा जुट्यो प्रहरी

‘हामीले घटनाका नयाँ चरणबाट अनुसन्धान सुरु गरिसकेका छौं,’ शनिबार जिल्ला प्रशासन कार्यालयमा आयोजित सर्वपक्षीय बैठकमा एसपी कडायतले भने, ‘पीडित परिवार र स्थानीयले शंका गरिएका बम दिदी बहिनीलाई नयाँ कानुनी प्रक्रिया अनुसार अदालतबाट स्वीकृत लिएर पक्राउ गरिसकेका छौं ।’ उनले किशोरीको शव भेटिएको घटनास्थलको पनि सुरुबाटै अनुसन्धान गरिने जानकारी दिए ।

एसपी कडायतले प्रहरीले सबैलाई विश्वस्त हुने गरि अनुसन्धान गर्ने र त्यसमा सरोकारवाला सबै, स्थानीय र पीडित परिवारले सहयोगसँगै सहज वातावरण निर्माणमा सहकार्य गर्नुपर्ने बताए । ‘हामीले घटनास्थलसम्म पुग्ने वातावरण बनाइदिनुपर्‍यो, निर्धक्क भएर अनुसन्धान गर्न सक्नुपर्‍यो’ उनले भने, ‘स्थानीय र पीडित परिवारले सूचना दिएर सहयोग गर्न आग्रह गर्छु ।’

उनले भर्खरै जिल्लामा आएकाले सबैको साथ र सहयोग पाउने अपेक्षा व्यक्त गरे । यसैगरि घटनाको निस्पक्ष छानविनका लागि आएको उच्चस्तरीय छानबिन समितिलाई पनि काम गर्ने वातावरण बनाइदिन सबैसँग उनले आग्रह गरे ।

प्रकाशित : भाद्र ९, २०७५ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?