पोखरामा पनि किशोरीको शव

दीपक परियार

लेखनाथ — विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता एक किशोरीको रहस्यमय मृत्यु भएको छ । पोखरा–१९, लामाचौरकी १३ वर्षीया पुष्पा केसीको शव शुक्रबार घरभन्दा साढे दुई किलोमिटर पर भेटिएको हो ।

विन्ध्यवासिनी मावि बाटुलेचौरमा कक्षा ६ मा अध्ययनरत उनी बिहीबारदेखि हराइरहेकी थिइन् । पारिवारिक स्रोतका अनुसार विद्यालयको बसले साढे ४ बजे घरभन्दा सय मिटर वर छोडेको थियो । बहिनीसँगै स्कुल बस चढेर फर्किंदै गरेकी उनी तरकारी किन्न भन्दै केही वरै झरेकी थिइन् ।

तर अबेरसम्म घर पुगिनन् । घर नआएपछि बुबा नृपेन्द्र खत्री र आमा गोमा केसीले यताउता खोज्न थाले । छोरी साथीको घरमा गएको आशंकामा त्यो दिन प्रहरीलाई खबर गरेनन् । शुक्रबार विद्यालय जाने बेलासम्म पनि नआएपछि उनीहरूले विद्यालयमा खबर गरे ।

प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षको पहलमा परिवारले वडा प्रहरी कार्यालय बगरमा निवेदन दिए । किशोरी हराएको होहल्ला भएपछि स्थानीयले खोजतलास गर्न थाले । बेलुका ६ बजे उनको शव शैलजा स्मृति पार्कमुनि फापरतहरोको झाडीमा भेटियो । जिल्ला प्रहरी कार्यालयको टोलीले शव पोस्टमार्टमका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍यायो । एक प्रत्यक्षदर्शीका अनुसार विद्यालय पोसाकमै किशोरीको शव भेटिएको थियो । बेल्टसहितको स्कर्ट शवनजिकै मिल्किएको थियो । दुवै जुत्ता खुट्टामा थिएनन् । झार मडारिएको थियो ।

देब्रे हातले घाँस समातेको थियो । स्कुल ब्याग भने भीरमाथि नै प्लटिङ गरेको स्थलमा थियो । रजस्वला भएको ६ दिन भएकाले प्याड लगाएकी थिइन् । योनीबाट रगत बगिरहेको थियो । शरीरबाहिर कुनै चोटपटक लागेको थिएन ।

पोस्टमार्टमा संलग्न चिकित्सकले किशोरीका आफन्तलाई शनिबार आएको पोस्टमार्टम रिपोर्ट पढेर सुनाएका थिए । रिपोर्टमा जनाइएअनुसार उनको मृत्यु ‘हेड इन्जुरी’ को कारणले भएको देखाएको छ । टाउकोको देब्रेपट्टि चोट लाग्दा गिदी फुट्न गई रगत जमेको रिपोर्टमा उल्लेख छ । योनीको झिल्ली नच्यातिएको र देब्रेपट्टिकै काखीमुनिको भित्री भागमा चोट लाग्दा फोक्सोमा पनि रगत जमेको रिपोर्टमा जनाइएको छ ।

Yamaha

कास्कीका प्रहरी प्रमुख ओमबहादुर रानाले भने पोस्टमार्टमको आधिकारिक रिपोर्ट आइनसकेको बताएका छन् । ‘अझै थप परीक्षण गर्न काठमाडौं लैजानुपर्ने अवस्था छ,’ उनले भने, ‘हामी घटनाको अनुसन्धानकै चरणमा छौं ।’ उनले किशोरीका मिल्ने साथी, कक्षा शिक्षक, बस चालक, सहचालकलगायतसँग सोधपुछ गर्ने क्रम चलिरहेको बताए । किशोरीका आफन्तले तरकारी किन्न भनेर झरे पनि भीरतिर जानुपर्ने कुनै कारण नभएकाले उनको हत्या भएको दाबी गरेका छन् । उनका काका ध्रुव केसीले पुष्पाको हत्या नै भएको भन्दै छानबिन माग गरेका छन् । घटनाको सत्यतथ्य छानबिन नहुँदासम्म शव नबुझ्ने उनको अडान छ ।

किशोरीका बुवा नेपाली सेनाका अवकाशप्राप्त हवल्दार हुन् । उनी गण्डकी आवासीय विद्यालयमा सुरक्षा गार्डको काम गर्छन् । तीन छोरीमध्ये हत्या गरिएकी किशोरी माइली हुन् । उनका एक दाजु पनि छन् । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य किशोरीको पढाइ मध्यमस्तरको रहेको बताउँछन् । ‘अरूसँग धेरै नबोल्ने, सोझी किसिमकी थिइन्,’ उनले भने । उनको आँखा कमजोर भएकाले चस्मा लगाउँथिन् ।

Esewa Pasal

प्रकाशित : भाद्र १०, २०७५ ०७:०४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

कुकुर गणना गर्दै गाउँपालिका

दीपक परियार

लेखनाथ — देशभरि कति कुकुर होलान् ? यसको कुनै लेखाजोखा छैन । कास्कीको अन्नपूर्ण गाउँपालिकाले भने कुकुरको तथ्यांक राख्न सुरु गरेको छ । गाउँपालिकाले मंगलबारदेखि सुरु गरेको पशु गणनामा कुकुर पनि समावेश गरेको हो ।

पशु बिमा गर्ने उद्देश्यले गणना सुरु गरेको भए पनि कुकुरको भने बिमा हुने छैन । गाईं, भैंसी, राँगा, खसी, बोका, बाख्रा, कुखुरा र हाँसलगायत घरपालुवा पशुपन्छीको बिमा हुन्छ । गाउँपालिकाले ११ वडामा एक/एक जनाका दरले गणक खटाएको छ । भदौ २१ सम्म गणना गरिसक्ने लक्ष्य छ ।

गाउँपालिका अध्यक्ष युवराज कुँवर घरपालुवा जनावर कति छन् भन्ने तथ्यांक पत्ता लगाउन कुकुरको गणना गरिरहेको बताउँछन् । ‘कति कुकुरलाई रेबिजविरुद्धको खोप लगाउनुपर्ने छ भन्ने पनि पत्ता लाग्छ,’ उनले भने, ‘खोप नलगाएकालाई लगाउँछौं ।’ लेकका भेंडीगोठमा राखिने कुकुरलाई खोप लगाउने चलन निकै कम भएकाले तिनलाई विशेष प्राथमिकतामा राखिने उनले बताए । ‘विशेषगरी गाउँमा अन्नबालीलाई बाँदरबाट बचाउन कुकुर पाल्ने चलन छ,’ उनले भने, ‘पर्यटकीय क्षेत्र र पदमार्गमा पनि खोप नलगाई कुकुर पाल्न निरुत्साहित गर्छौं ।’ कुकुरको टोकाइबाट हुने रेबिज रोगको जोखिम कम गर्न यसले मद्धत पुग्ने उनको विश्वास छ ।

गाउँपालिकाले पशुसँगै कृषि गणना पनि सुरु गरेको छ । धान, मकै, कोदो, गहुँ, जौ, फापर, भट्मासलगायत अन्नबालीको वार्षिक उत्पादन कति हुन्छ भन्ने रेकर्ड गाउँपालिकाले राख्नेछ । ती बालीको पनि बिमा गर्ने गाउँपालिका अध्यक्ष कुँवरले बताए । तरकारीबाली, फलफूल खेतीको पनि बिमा गर्ने उद्देश्यले गणना भइरहेको छ । ‘कसको घरमा कति फलफूलका बोट छन् भन्ने पनि अब हामीले तथ्यांक राख्न सुरु गरेका छौं,’ उनले भने । कृषकलाई हौसला प्रदान गरी उत्पादकत्व वृद्धि गर्नु बिमाको उद्देश्य भएको उनले सुनाए । ‘अहिले कृषि बिमा के हो भन्ने धरैलाई थाहा छैन,’ उनले भने, ‘बिमाबारे जानकारी गराएर जोखिम न्यूनीकरण गराउन सके उत्पादन स्वत: बढ्छ ।’

पशु र कृषि बिमा गर्न गाउँपालिकाले आइतबार राष्ट्रिय बिमा कम्पनी लिमिटेडसँग सम्झौता गरिसकेको छ । सरकारले पाँच वर्षअघि कृषि बिमा कार्यक्रम ल्याए पनि कमै किसान जानकार छन् । सरकारले सुरुमा बिमाको प्रिमियमको ५० प्रतिशत सरकारले तिरे पनि पछिल्लो समय यसलाई बढाएर ७५ प्रतिशत पुर्‍याएको छ ।

प्रकाशित : भाद्र ९, २०७५ १०:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT