कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१५ दिनपछि महिलाको शव

भरत जर्घामगर

सिरहा — १५ दिनदेखि घरबाटै हराएकी गोलबजार नगरपालिका–१०, चोहर्वाकी ५५ वर्षीया कारीदेवी यादवको शव शनिबार बिहान बाँसघारीमा भेटिएको छ ।

१५ दिनपछि महिलाको शव

नरहा गाउँपालिका–१ स्थित रामदेव यादवको बाँसघारीमा गाडेको अवस्थामा स्थानीयवासीले यादवको शव फेला परेका हुन् ।

साउन २५ गते बेलुका घरबाटै हराएकी उनको खोजी गर्दै हिँडेका गाउँलेले बाँसघारीमा माटोले पुरेको देखेपछि खनेका थिए । कपडाको आधारमा गाउँलेले शव पहिचान गरेका थिए । शव पोस्टमार्टमका लागि सिरहा अस्पताल लगिएको छ । बेपत्ता भएको १५ दिन बितिसक्दा पनि प्रहरीले चासो नदेखाएको भन्दै गाउँले आफैं खोजीमा जुटेका थिए । स्थानीयका अनुसार बाँसघारीमा एउटा बोरा र बाँसका झिक्राले छोपिएको आलो माटो देखेपछि खन्दा खुट्टा देखिएको थियो । खुट्टा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शव भेटिएलगत्तै खोजीमा बेवास्ता गरेको भन्दै स्थानीयले प्रहरीविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोहर्वा खण्ड दुई घण्टा अवरोध गरेका थिए । आक्रोशित स्थानीयले हत्यारालाई कडा सजाय गर्न माग गरे । दुई घण्टापछि प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी प्रमुख जीवन श्रेष्ठ उपस्थित भएर छलफल गरेपछि राजमार्ग खुलेको थियो ।

डीएसपी माधवराज खरेलले गाडिएको शव पुरानो भएको र शवको पहिचानपछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको जानकारी दिए । कारीदेवी र उनका जेठाजु रामदेव यादवबीच अंशसम्बन्धी मुद्दाको कारण हत्या भएको स्थानीयको दाबी छ । कारीदेवीले पुख्र्यौली सम्पत्तिको रूपमा ससुराको नाममा रहेको १ बिघा १६ धुर जग्गामध्ये १० कठ्ठा ८ धुर पाएकी थिइन् ।

तर ससुरा र पतिको निधनपछि ससुराको नामको तीन ठाउँमा गरी १६ कठ्ठा १६ धुर जग्गा लुकाएर राखेको भेटिएपछि त्यसमा अंश दाबीसहित कारीदेवीले २०७४ भदौ ५ मा सिरहा जिल्ला अदालतमा मुद्दा हालेकी थिइन् । उक्त मुद्दा फैसला हुनुअगावै भतिज लक्ष्मणले ‘मुद्दा फिर्ता नलिए जे पनि हुन सक्छ’ भन्दै पटक–पटक कुटपिट गर्ने र धम्क्याउने गरेको स्थानीयको भनाइ छ ।

कारीदेवी हराएको साँझ लक्ष्मण, उनका मामाका छोरा राधेश्याम र नाम नखुलेका अन्य दुई जना चोहर्वाको एक पसलमा मदिरा सेवन गरी लक्ष्मण ससुराली जान्छु भन्दै हिँडेको केही बेरमै कारीदेवी घरबाट हराएको स्थानीयको भनाइ छ । कारीदेवी हराएको दुई सातासम्म पनि आफन्त मौन बसेपछि खोजीका लागि उनकी बहिनीका छोरा यमकुमार यादवले जेठाजु रामदेव र लक्ष्मण यादवविरुद्ध इलाका प्रहरी कार्यालय गोलबजारमा किटानी जाहेरी दिएका थिए । जाहेरीका आधारमा प्रहरीले जेठाजु रामदेव र लक्ष्मणलाई गत मंगलबार नै नियन्त्रणमा लिएको थियो ।

जेठाजु रामदेवले पक्की घरमा बस्न नदिएपछि कारीदेवी सँगैको टालीको झुपडीमा एक्लै बस्थिन् । माइतमा कोही नभएका उनका छोराछोरी पनि छैनन् । गत साउन २५ गते राति ८ बजेतिर पानी परिरहेको र बिजुली पनि नभएका बेला उनी बेपत्ता भएकी थिइन् ।

प्रकाशित : भाद्र १०, २०७५ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?