कमला नदीमा डुबेर तीन युवक बेपत्ता

भरत जर्घामगर

सिरहा — सिरहाको कर्जन्हा नगरपालिका–१ उत्तरायणीस्थित कमला नदीमा डुबेर सिरहाका तीन युवा बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार जनै पुर्णिमा तथा रक्षा बन्धनको दिन शिवालयमा उत्तरायणीस्थित कमला नदीको जल चढाउन बोलबम गएका सिरहा गोलबजार नगरपालिका–४ निपानेका १४ वर्षीय मन्जे महरा, १५ वर्षीय राहुल महरा र औरही गाउँपालिका–३ तुल्सीपुरका १९ वर्षीय कृष्ण कुमार महतो शनिबारदेखि बेपत्ता भएका हुन।

Yamaha

अर्नामा गाउँपालिका–५ कृष्णपुरका २१ वर्षीय सुमनकुमार मण्डललाई जीवित्तै उद्धार गरिएको छ। बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। सिरहा, धनुषा र उदयपुरको संगमस्थल उत्तरायणी कमला खोलामा जल भरेर शिवालयमा चढाउन जनै पूर्णिमाका दिन भक्तजनहरु हरेक वर्ष अघिल्लो दिन नै पुग्छन्। बेपत्ता तीनै जना कमला खोलामा शनिबार स्नान गर्ने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र साहले जानकारी दिए।

‘नुहाउँदा नुहाउँदै उनीहरु पानी बहाव धेरै भएको ठाउँमा पुगे’ स्थानीयलाई उदृत गर्दै प्रहरी नायब उपरीक्षक साहले भने ‘शनिबार खोज्दा नभेटेपछि फेरि बेपत्ता भएकै ठाउँबाट प्रहरीले खोजी सुरु गरेको छ।’ उनका अनुसार बगाएर उनीहरुलाई दक्षिणतिर लगेको हुनसक्ने भएकाले उद्धारका लागि जयनगरस्थित भारतीय प्रहरीसँग पनि खोजीका लागि समन्वय गरिएको छ।

Esewa Pasal

प्रकाशित : भाद्र १०, २०७५ ०८:२६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

१५ दिनपछि महिलाको शव

भरत जर्घामगर

सिरहा — १५ दिनदेखि घरबाटै हराएकी गोलबजार नगरपालिका–१०, चोहर्वाकी ५५ वर्षीया कारीदेवी यादवको शव शनिबार बिहान बाँसघारीमा भेटिएको छ ।

शव उत्खननस्थलमा भेला भएका स्थानीय ।तस्बिर : भरत

नरहा गाउँपालिका–१ स्थित रामदेव यादवको बाँसघारीमा गाडेको अवस्थामा स्थानीयवासीले यादवको शव फेला परेका हुन् ।

साउन २५ गते बेलुका घरबाटै हराएकी उनको खोजी गर्दै हिँडेका गाउँलेले बाँसघारीमा माटोले पुरेको देखेपछि खनेका थिए । कपडाको आधारमा गाउँलेले शव पहिचान गरेका थिए । शव पोस्टमार्टमका लागि सिरहा अस्पताल लगिएको छ । बेपत्ता भएको १५ दिन बितिसक्दा पनि प्रहरीले चासो नदेखाएको भन्दै गाउँले आफैं खोजीमा जुटेका थिए । स्थानीयका अनुसार बाँसघारीमा एउटा बोरा र बाँसका झिक्राले छोपिएको आलो माटो देखेपछि खन्दा खुट्टा देखिएको थियो । खुट्टा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शव भेटिएलगत्तै खोजीमा बेवास्ता गरेको भन्दै स्थानीयले प्रहरीविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोहर्वा खण्ड दुई घण्टा अवरोध गरेका थिए । आक्रोशित स्थानीयले हत्यारालाई कडा सजाय गर्न माग गरे । दुई घण्टापछि प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी प्रमुख जीवन श्रेष्ठ उपस्थित भएर छलफल गरेपछि राजमार्ग खुलेको थियो ।

डीएसपी माधवराज खरेलले गाडिएको शव पुरानो भएको र शवको पहिचानपछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको जानकारी दिए । कारीदेवी र उनका जेठाजु रामदेव यादवबीच अंशसम्बन्धी मुद्दाको कारण हत्या भएको स्थानीयको दाबी छ । कारीदेवीले पुख्र्यौली सम्पत्तिको रूपमा ससुराको नाममा रहेको १ बिघा १६ धुर जग्गामध्ये १० कठ्ठा ८ धुर पाएकी थिइन् ।

तर ससुरा र पतिको निधनपछि ससुराको नामको तीन ठाउँमा गरी १६ कठ्ठा १६ धुर जग्गा लुकाएर राखेको भेटिएपछि त्यसमा अंश दाबीसहित कारीदेवीले २०७४ भदौ ५ मा सिरहा जिल्ला अदालतमा मुद्दा हालेकी थिइन् । उक्त मुद्दा फैसला हुनुअगावै भतिज लक्ष्मणले ‘मुद्दा फिर्ता नलिए जे पनि हुन सक्छ’ भन्दै पटक–पटक कुटपिट गर्ने र धम्क्याउने गरेको स्थानीयको भनाइ छ ।

कारीदेवी हराएको साँझ लक्ष्मण, उनका मामाका छोरा राधेश्याम र नाम नखुलेका अन्य दुई जना चोहर्वाको एक पसलमा मदिरा सेवन गरी लक्ष्मण ससुराली जान्छु भन्दै हिँडेको केही बेरमै कारीदेवी घरबाट हराएको स्थानीयको भनाइ छ । कारीदेवी हराएको दुई सातासम्म पनि आफन्त मौन बसेपछि खोजीका लागि उनकी बहिनीका छोरा यमकुमार यादवले जेठाजु रामदेव र लक्ष्मण यादवविरुद्ध इलाका प्रहरी कार्यालय गोलबजारमा किटानी जाहेरी दिएका थिए । जाहेरीका आधारमा प्रहरीले जेठाजु रामदेव र लक्ष्मणलाई गत मंगलबार नै नियन्त्रणमा लिएको थियो ।

जेठाजु रामदेवले पक्की घरमा बस्न नदिएपछि कारीदेवी सँगैको टालीको झुपडीमा एक्लै बस्थिन् । माइतमा कोही नभएका उनका छोराछोरी पनि छैनन् । गत साउन २५ गते राति ८ बजेतिर पानी परिरहेको र बिजुली पनि नभएका बेला उनी बेपत्ता भएकी थिइन् ।

प्रकाशित : भाद्र १०, २०७५ ०७:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT