चालकको लापरबाहीबाट ९० प्रतिशत बढी दुर्घटना

रासस/याेन्हाप

काठमाडौँ — काठमाडौं उपत्यकामा चालकको लापरबाहीका कारण बढी दुर्घटना हुने गरेको छ । 

चालकको लापरबाहीबाट ९० प्रतिशत बढी दुर्घटना

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले दिएको जानकारी अनुसार कूल दुर्घटनाको ९० प्रतिशत भन्दा धेरै चालकको लापरबाहीले हुने गरेको हो । आर्थिक वर्ष २०७४/७५ मा भएको ६ हजार ३ सय ८१ दुर्घटनामध्ये चालकको लापरबाहीले मात्र ५ हजार ९ सय ६१ दुर्घटना भएको छ ।

यस्तै तीव्र गतिका कारण ७१, मादक पदार्थ सेवनले २ सय २१, यान्त्रिक गडबडी ४४, उछिन्दा (ओभरटेक) २९, पैदलयात्रुको लापरबाहीले तीन र सडकको अवस्थाका कारण ४८ दुर्घटना भएका छन् । दुर्घटनामा परी २ सय १९ गम्भीर र चार हजार ३ सय ३३ सामान्य घाइते भएका छन् ।


महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकामा सवारी सङ्ख्या धेरै र चालकले जथाभावी चलाउँदा धेरै दुर्घटना हुने गरेको जानकारी दिए । 'बाटो साँघूरो, तीव्र गति र जथाभावी चलाउँदा धेरै सडक दुर्घटना हुने गरेको छ,' उनले भने ।


बाग्मती अञ्चलमा दर्ता भएका ११ लाख सवारी साधनमध्ये उपत्यकामा मात्र झण्डै आठ लाख सवारी साधन ओहोरदोहोर गर्ने गर्छन् । आव २०७४/७५ मा मात्र सवारी दुर्घटनाका कारण १ सय ९४ जनाको मृत्यु भएको थियो ।


दुर्घटना भएका सवारी साधनमध्ये दुईपाङ्ग्रे सवारी साधन धेरै छन् । आव २०७४/७५ मा दुर्घटनामा मरेका १ सय ९४ मध्ये १ सय ४७ पुरुष र ४७ महिला छन् । कूल मृत्युमध्ये मोटरसाइकल र स्कुटर दुर्घटनामा मात्र १ सय ११ जनाको मृत्यु भएको छ ।

प्रकाशित : भाद्र १०, २०७५ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?