१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

जनप्रतिनिधिले जथाभावी कर लगाउनु सर्वथा अनुचित : गच्छदार

मोरङ — कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारले स्थानीय तहका जनप्रतिनिधिले गरिब जनताको जनप्रतिनिधि भएर काम गर्नुपर्ने बताएका छन् । विराटनगरमा पत्रकारसँगको कुराकानीमा उनले नेपाली जनता गरिब भएकोले न्यूनतम कर लिएर जनप्रतिनिधिले काम गर्नुपर्ने बताए ।

जनप्रतिनिधिले जथाभावी कर लगाउनु सर्वथा अनुचित : गच्छदार

‘कांग्रेसको टिकट लिएर जित्ने जनप्रतिनिधिहरुले जनतासँग न्यूनतम कर असुलेर परिणाममुखी काम गरेर देखाउने बेला हो,’ उनले भने, ‘जनतामाथि जथाभावी कर लगाउने काम जनप्रतिनिधिले गर्नु सर्वथा अनुचित कार्य हो ।’ सदनमा पनि कांग्रेसले कर वृद्धिको विरोध गर्दै आएको कुरा जनप्रतिनिधिले बुझ्नु आवश्यक भएको उनले बताए ।


लोकतान्त्रिक आन्दोलनको लामो संघर्ष गर्दै आएको कांग्रेसले सचेत प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको उनको भनाइ थियो । गच्छदारले कांग्रेस प्रतिपक्षमा बसेर सधैं विरोध मात्रै गरेर भूमिका निर्वाह नगर्ने र मुलुकको विकासमा रचनात्मक सहयोग पुर्‍याउने बताए । उनले कांग्रेसको भदौ २१ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले फोरम लोकतान्त्रिकसँग भएका सम्झौता कार्यान्वयन हुने बताए ।


पार्टीको विधानको बाधा अड्काउ फुकाउ बुँदालाई टेकेर केन्द्रीय कार्यसमितिले सहमति कार्यान्वयन गर्ने सभापति शेरबहादुर देउवासँग छलफल भएको उनले सुनाए ।


फोरम लोकतान्त्रिक र कांग्रेसबीच वडादेखि केन्द्रसम्म समायोजनका लागि पार्टी विधान संशोधन आवश्यक भएको तर तत्काल पार्टीको विधानको बाधा अडकाउ फुकाउ बुँदालाई टेकेर समायोजन अघि बढाउने छलफल भएको उनको भनाइ थियो ।

प्रकाशित : भाद्र १०, २०७५ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?