२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मन्त्रालयका कोठामा हानाथाप

भिषा कापले

काठमाडौँ — स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा दिपेन्द्ररमण सिंह शुक्रबार अपराह्न आफ्नो कार्यकक्षमा थिए । उनी काम गर्दैगर्दा उनको बाहिर रहेको नाम प्लेट हटाएर स्वास्थ्य समन्वय महाशाखाका प्रमुख मोहमद दाउदको राखिँदै थियो ।

मन्त्रालयका कोठामा हानाथाप

त्यही बेला डा सिंहले नेमप्लेट परिर्वतन गरेको थाहा पाएपछि सचिव डा पुष्पा चौधरीसँग असन्तुष्टि पोखे, म कहाँ बसेर काम गर्ने ?, यदि काम गर्ने ठाउँ नभए एक महिना बिदा दिन अड्डी कसेपछि पुन: डा सिंहकै नाम प्लेट फेरियो । स्वास्थ्य मन्त्रालयको उच्च स्रोतका अनुसार दाउदलाई उक्त कार्यकक्षमा गएर काम गर्न सचिव चौधरीले नै अह्राएकी थिइन् ।


मन्त्रालयको अस्तव्यस्तता यतीमा मात्र सीमित छैन । धेरै कर्मचारी महिना दिनदेखि बेवारिसे भएका छन् । काम गर्ने स्थान नपाउँदा नीति योजना महाशाखाअन्तर्गतको चिकित्सा सेवा शिक्षा तथा अनुसन्धान शाखाका ४ कर्मचारी हाजिर गरेर घर फर्कँदै आएका छन् । सोही महाशाखाअन्तर्गतको सूचना प्रविधि शाखाका कर्मचारी बसेर काम गर्ने ठाउँ पनि छैन । स्वास्थ्य समन्वय महाशाखाअन्तर्गतको बहुक्षेत्रीय समन्वय शाखा, विकास सहायता समन्वय शाखा र सार्वजनिक सूचना शाखाका ८ जना कर्मचारीले स्थान अभावमा काम नगरी मन्त्रालयमा दिन कटाउने गरेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।


त्यसैगरी, जनस्वास्थ्य महाशाखाअन्तर्गतका जनसंख्या व्यवस्थापन तथा सूचना शाखा र लैङ्गीक समानता तथा समावेशिकरण शाखाका ६ कमचारी पनि ठाउँ नहुँदा हाजिर गरेर घर जाने गरेका छन् । नयाँ संरचना अनुसार नयाँ व्यवस्थापन हुँदा केही समयको लागि कर्मचारीहरुले काम गर्ने स्थान नपाएको मन्त्रालयको प्रशासन महाशाखा प्रमुख सहसचिव मधु बुर्लाकोटी बताउँछन् ।

‘नयाँ संरचना अनुसार महाशाखाहरुलाई एकीतृत गर्ने तयारी भएअनुसार केही प्राविधिक कारणले त्यस्तो भएको हो ।’ उनले कान्तिपुरसँग भने, ‘अहिले महाशाखा माताहतका शाखाहरु फरक फरक ठाउँमा छन्, तिनीहरुलाई एकैठाउँमा ल्याउने प्रयास भएको हुँदा काम गर्ने स्थान उपलब्ध तत्काल नभएको हो ।’ महाशाखा एकीकृत गर्ने क्रममा केही कोठा कम भएका कारण पनि समस्या आएको उनको भनाइ छ ।

प्रकाशित : भाद्र १०, २०७५ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?