कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

किशोरी हत्या प्रकरण : सुरु भएन थप बयान

‘प्रहरीले छानीछानी कमजोर खोजेर फसाउन खोज्यो’

कञ्चनपुर — निर्मला पन्तको हत्या अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेका रोशनी र बबिता बमको बयान आइतबार पनि सुरु भएको छैन । प्रहरीले आन्तरिक तयारी नसकिएकाले बयान ढिलो भएको बताएको छ ।

किशोरी हत्या प्रकरण : सुरु भएन थप बयान

डीएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकेर सूक्ष्म अनुसन्धान भइरहेको एसपी कुबेर कडायतले जानकारी दिए । ‘हामीले आन्तरिक रूपमा गर्नुपर्ने अनुसन्धानका विभिन्न चरणमा काम गरिरहेका छौं,’ उनले भने, ‘बम दिदीबहिनीलाई पक्राउ गरेपछि आज (आइतबार) म्याद सकिएकाले बयान लिन सकिएन, भोलि म्याद थपेर बयान लिनेछौं ।’


जिल्ला प्रहरीले अनुसन्धान गरिरहेको र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले समेत सघाइरहेको कडायतले बताए । ‘अनुसन्धान जिल्ला प्रहरीले नै गर्ने हो, सीआईबी टोलीले प्राविधिक रूपमा सघाउने मात्र हो,’ उनले भने । डीएसपी अंगुर जीसीको नेतृत्वमा तीन सदस्यीय सीआईबी टोली घटनालगत्तै महेन्द्रनगर आएको थियो ।


‘घटनाको केन्द्रविन्दु नै बम परिवारको घर हो,’ भीमदत्त नगरपालिका–१८, भगतपुरका एक वृद्धले भने, ‘प्रहरीले घटनाको जानकारी पाएपछि बम दिदीबहिनीलाई अनुसन्धान दायरामा ल्याउनुको साटो संरक्षण गर्दै निर्दाेष सर्वसाधारणलाई धरपकड गर्ने काम गर्‍यो ।’ प्रहरीले गाउँका सोझासाझा, शारीरिक रूपमा अशक्त र सुस्त मनस्थितिका व्यक्तिलाई छानी–छानी पक्राउ गरेर हत्याको जिम्मा लिन दबाब दिएको आरोप उनले लगाए । ‘जो पनि आउँछन्, यही घरका विषयमा सोध्छन्, के भएको, के हुन्थ्यो, जवाफ दिँदादिँदा थाकिसक्यौं,’ स्थानीय भन्छन् ।


‘मलाई यही घटनामा प्रहरीले ११ दिनसम्म नियन्त्रणमा लिएर यातना र प्रलोभन दियो,’ बम परिवारका छिमेकी चक्रदेव बडुले भने, ‘दोषीलाई जोगाउन हामीजस्ता निर्दोष र कमजोरलाई दु:ख दिने काम भयो ।’ हिरासतमा रहुन्जेल अनुसन्धानमा खटिएका सुरक्षाकर्मीले दिनहुँ हत्याको जिम्मा लिन दबाब दिएको उनले बताए ।


‘जुन घरबाट किशोरी बेपत्ता भएकी हुन्, त्यो घरमा बस्ने बम दिदीबहिनीलाई सामान्य सोधपुछ मात्रै गरियो,’ भगतपुरकै अर्का स्थानीयले भने, ‘घाँस काट्न गएका महिलालाई समेत प्रहरीले नियन्त्रणमा लिएर केरकार गर्‍यो ।’


प्रहरीले किशोरी हत्याको २६ औं दिन भीमदत्त–२, बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेपछि स्थानीय आक्रोशित बनेका छन् । ती व्यक्ति दोषी हुनै नसक्ने स्थानीय बताउँछन् । ‘१० किलो सामान उठाउन नसक्ने व्यक्ति कसरी दोषी हुन सक्छ,’ स्थानीय भन्छन्, ‘प्रहरीले यस्तैलाई मात्र खोजेर दु:ख दियो ।’


कर्फ्यु खुकुलो पारिँदै

प्रशासनले महेन्द्रनगर बजार क्षेत्रमा लगाएको कर्फ्यु केही खुकुलो पारेको छ । गत शुक्रबार ८ बजेदेखि लगाइएको कर्फ्यु आइतबार ६ देखि १० बजेसम्मका लागि हटाइएको थियो । सोमबार ५ देखि १२ बजेसम्म कर्फ्यु लागू नहुने र १२ बजेदेखि अर्को निर्णय नहुँदासम्म जारी रहने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उदयराज जोशीले जानकारी दिए ।


प्रदेश सरकारले ५/५ लाख दिने

बलात्कारपछि हत्या गरिएको किशोरीका परिवार र शुक्रबार गोली लागेर मृत्यु भएका सन्नी खुनाका परिवारलाई प्रदेश सरकारले ५/५ लाख दिने निर्णय गरेको छ । आइतबार पीडित परिवारलाई भेट्न पुगेका प्रदेश ७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले उक्त जानकारी गराएका हुन् । यसका साथै पीडितलाई न्याय दिन र अपराधीलाई कडाभन्दा कडा कारबाही गर्न प्रदेश सरकार प्रयासरत रहेको उनले बताए । भीमदत्त नगरपालिकाले पनि दुवै पीडित परिवारलाई ३/३ लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशित : भाद्र १०, २०७५ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?