पप्पु कन्स्ट्रक्सनको मनपरी: डुंगा दुर्घटना अलपत्र पुलले

शिव पुरी

टिकुलिया (रौतहट) — लालबकैया नदीको टिकुलिया घाटमा डुंगा दुर्घटनापछि आइतबार बिहान घटनास्थलमा भेला भएका स्थानीय निकै आक्रोशित देखिन्थे । उनीहरू पुल निर्माण समयमै नसकिँदा यस्तो दुर्घटना बेहोर्नुपरेको भन्दै ठेकेदारलाई कारबाही माग गरिरहेका थिए ।

रौतहटको लालबकैया नदीस्थित टिकुलिया घाटमा निर्माणकै क्रममा पप्पु कन्स्ट्रक्सनले अलपत्र छाडेको पुलको पिल्लरमा ठोक्किएर दुर्घटनाग्रस्त डुंगा निकाल्ने प्रयास गर्दै सुरक्षाकर्मी । फाइल तस्बिर : शिव

डुंगा निर्माणाधीन पुलको पिल्लरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । उक्त पुल ठेकेदारले एक वर्षदेखि अलपत्र छाडेका छन् । पुल नभएकै कारण स्थानीय डुंगामा जोखिम मोल्न बाध्य छन् । ठेकेदारले बीचमै काम छाडेपछि डुंगाकै भर पर्नुपरेको वडाध्यक्ष भुवनेश्वर शाहीले बताए । ‘पुल बनेपछि राहत मिल्ने धेरैको आस थियो,’ उनले भने, ‘ठेकेदारले काम अलपत्र छाडेकैले दु:खद घटना बेहोर्नुपर्‍यो ।’

ठेकेदार, उसको प्रतिनिधि र प्राविधिक कोही पनि निर्माणस्थलमा देखिएका छैनन् । उपकरणमा खिया लागिसकेको छ । लालबकैयापारिका बन्जाराहा, औरैया, मठियाबाट सदरमुकाम गौर आउजाउ कठिन भएपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ असार २९ गते पुल शिलान्यास गरेका थिए ।

Yamaha

पर्सा, वीरगन्जस्थित पप्पु कन्स्ट्रक्सनले १४ करोड ९३ लाख २७ हजार १ सय पचास रुपैयाँमा ठेक्का सकारेको थियो ।

त्यसका सञ्चालक हरिनारायण रौनियार हुन् । ०७४ असार २५ भित्र काम सक्ने सम्झौता थियो ।

ठेकेदार रौनियार काम छाडेर सम्पर्कविहीन भएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख योगेश सुमनले बताए । ‘ठेकेदार हरिनारायण र छोरा सुमितलाई समेत सम्पर्क गर्न खोजें,’ उनले भने, ‘पटक–पटक काम सक्न ताकेता गर्दासमेत बेवास्ता गरियो ।’ दुर्घटनापछि स्थानीयको आक्रोश बढ्न सक्ने भन्दै प्रजिअ गोविन्दप्रसाद रिजालले डिभिजन प्रमुख सुमनलाई टेलिफोन गरी ठेकेदारलाई दबाब दिन भनेका थिए । आइतबार पनि उनीहरूले पुलका उपकरण आगजनी तथा तोडफोड प्रयास गरेका थिए ।

ठेकेदारले निर्माणमा लापरबाही गरेपछि सडक डिभिजनले ०७४ माघ २९ गते सम्झौताअनुसार काम नगर्नुको कारण माग्दै पत्राचार गरेको थियो । तर, रौनियारले बेवास्ता गरे । डिभिजनले चैत ६ गते अर्को पत्र पठाएर काम चित्तबुझदो नभए सार्वजनिक खरिद ऐनअनुसार कारबाही हुने चेतावनी दियो । ७ दिनभित्र प्रगति विवरणसहित उपस्थित हुन चैत २५ गते थप पत्र पठाइएको डिभिजन प्रमुख सुमनले बताए ।

रौनियारले म्याद सकिएको करिब सात महिनापछि म्याद थपको निवेदन दिएका थिए । उनले निर्माण सामग्री अभाव, बन्द, हडताल, भूकम्प, वर्षा, बाढी र चाडपर्वको बहाना देखाएका थिए । उक्त पुलमा ७ वटा पिल्लर राख्नुपर्ने डिजाइन छ । अहिलेसम्म सबै पिल्लर नै राखिएको छैन । गौर नगरपालिकाका मेयर अजय गुप्ताले पप्पु कन्स्ट्रक्सनकै कारण डुंगा दुर्घटना भएको बताए । ‘मैले पटक–पटक पुलको काम चाँडै सक्नुस्, वर्षाको समयमा स्थानीयलाई असहज हुन्छ भनेको थिएँ,’ उनले भने, ‘पछिल्लो समय त ठेकेदार फोनसमेत उठाउन छाडयो ।’

जिल्ला प्रशासन कार्यालयले सम्भावित घटना ध्यानमा राखी ३ महिनाअघि पुलको सबै विवरण मागेको थियो । प्रशासनले पप्पु कन्स्ट्रक्सनले पुल निर्माण अलपत्र पारेको भन्दै गृह मन्त्रालयमा विवरण पठाएको थियो । ‘समयमै पुल बनेको भए स्थानीयले यस्तो घटना बेहोर्नु पर्दैनथ्यो होला,’ प्रजिअ रिजालले भने, ‘पटक–पटक ताकेता गर्दा ठेकेदारले बेवास्ता गरेका छन् ।’ पप्पु र शिवशंकर कन्स्ट्रक्सनले जिल्लामा ४ वटा पुल निर्माणको ठेक्का सकारेका छन् । केही स्थानमा निर्माण सुचारु छ । गत संसदीय निर्वाचनमा संघीय समाजवादी फोरमबाट चुनाव जितेपछि रौनियारले कन्स्ट्रक्सनको जिम्मा जेठो छोरा सुमितलाई दिएका छन् । उनीसित सम्पर्क गर्न खोज्दा मोबाइलको स्विच अफ पाइयो ।

दुई शव भेटिए
शनिबार पनि टिकुलियावासी बन्जारास्थित खेतमा काम गर्न डुंगा चढेर पारि गएका थिए । फर्कंदा झमक्क रात परिसकेको थियो । अचानक घाटबाट केही पर डुंगा दक्षिणतिर मोडियो । नदीमा पानीको सतह बढी भएकाले चालक पप्पु चन्द्रवंशीले डुंगा सोझ्याउन सकेनन् ।

सिधै पुलको पश्चिमतर्फको दोस्रो पिल्लरमा ठोक्कियो र डुंगा टुक्राटुक्रा भयो । त्यसमा सवार सबै नदीमा परे । २४ जना पौडिएर बाहिर निस्के । चालक चन्द्रवंशीसहित केही पुरुषले डुबेका केही महिलालाई उद्धार गरे । तर, केहीलाई नदीले बगाएर दक्षिणतिर लग्यो । सुरक्षाकर्मीले घटनाको १५ घण्टापछि पिल्लरमा अडकिएको डुंगा बाहिर निकालेका थिए । हराएकाहरूको खोजीका लागि पौडीबाज सुरक्षाकर्मीसहित विपद् व्यवस्थापन टोली परिचालन गरिएको थियो ।

पौडिएर बाँच्न सफलमध्ये १५ जना राति नै र ९ जना बिहान मात्र स्थानीय प्रशासनको सम्पर्कमा आएका थिए ।

घटनापछि नेपाल, सशस्त्र प्रहरी र नेपाली सेनाले रातभरि बेपत्ताहरूको खोजतलास गरेको थियो । भारतीय सुरक्षाकर्मीले पनि सघाएका थिए । डुंगामा कति मानिस चढेका थिए भन्ने अहिलेसम्म यकिन हुन सकेको छैन । प्रजिअ रिजालले भने हराएका ५ मध्ये दुई जनाको शव भारतको शिवघर जिल्लास्थित जमुआ घाटमा फेला परेको बताए ।

भारतीय सीमा सुरक्षा बलले टिकुलियाकी ५० वर्षीया शान्तिदेवी र औरैयाकी रुनादेवी पटेलको शव भेटेको हो । जमुआघाट घटनास्थलबाट झन्डै ८ किमि दक्षिणमा पर्छ । हराएकाहरूको संख्या यकिन हुन नसकेपछि जिल्ला प्रहरी र प्रशासनले स्थानीयले बेपत्ता व्यक्तिबारे खबर दिन स्थानीयसित अनुरोध गरेको छ ।

टिकुलियाका इन्दुदेवी पटेल, औरैयाकी उषा पटेल र ओमप्रकाश चन्द्रवंशी अझै फेला पर्न नसकेको प्रहरीले जनायो । ०६२ सालमा यही घाटमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु भएको थियो । शनिबार रातिको घटनापछि टिकुलिया गाउँ शोकमा डुबेको छ । मृत्यु हुने २ जना र हराइरहेका दुई जना यही गाउँका छन् । स्थानीय सञ्चारकर्मी सञ्जय सहनीले सिंगो गाउँ शोकमा डुबेको बताए ।

प्रकाशित : भाद्र ११, २०७५ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्

भारतीय सेनामा ४० वर्षअघिको एउटा 'झूटो' विद्रोह : न्याय खोज्दै गोर्खाहरु

खिम घले

काठमाडौँ — करिब चालीस वर्षअघि सैनिक विद्रोहको ‘झूटो’ आरोपमा भारतीय सेनाबाट बर्खास्त गरिएका ४६ सैनिकका प्रतिनिधि बनेर केही वृद्ध राजधानी आइपुगेका छन् ।

धमिलिँदै गएका आँखा, फुस्किएका दाँत र रोगले जीर्ण शरीर बोकेर उनीहरूले आइतबार दिउँसो परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई अनुनय गरे, ‘हामीलाई गर्दै नगरेको दोषको भागिदारीबाट छुटकारा दिलाइदिनुपर्‍यो । हामी ३९/४० वर्षदेखि निरन्तर मुद्दा–मामिला झेल्दै आएका छौं,’ भारतीय गोर्खा न्याय समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङले कान्तिपुरसँग भने, ‘भारतकै विभिन्न क्षेत्रका व्यक्तिहरूले नेपाल सरकारले क्षमादानका लागि पहल गरिदिए काम हुन सक्छ भनेकाले शरणमा आएका हौं ।’

कुरा सन् १९७९ अक्टोबर ८ तारिखको हो । एउटा सामान्य अनुशासनको घटनालाई लिएर भारतीय सैनिक अदालतले ४६ गोर्खा सैनिकलाई जेल तथा बर्खास्तगीको सजाय दियो । बर्खास्त गरिएकाको सबै सेवासुविधा र पेन्सन खोसियो । उनीहरू लामो समयसम्म भारतीय अड्डा–अदालत धाए ।

भारत र नेपालका उच्च सरकारी अधिकारीलाई अनुनय–विनय गरे । तर, न उनीहरूको घाउमा खत बस्यो न त न्याय पाए । बर्खास्तगीमा पर्नेमा तीनवटा युद्ध लडेका, विभिन्नखाले बहादुरीमा पदक पाएका, २७ वर्ष सेवा गरेर पेन्सन पाकिसकेकासमेत छन् । तीमध्ये १४ जनाको मृत्यु भइसकेको छ । दुई जना अपांगता भएका छन् । तीन जना प्यारालाइज्ड । ‘हामी अभिभावकविहीन भएका छौं, कसैले हाम्रो कुरा सुनेनन्,’ पर्वतका गंगाबहादुर पुनले भने, ‘हाम्रो मुटुमा यो खिलजस्तै गढेको छ, नगरेको दोषको अपराधी भएका छौं । त्यसैले सकिनसकी हिँडेका छौं ।’

के थियो घटना ?

४६ मध्येका एक हुन्, स्याङ्जाका रुद्रबहादुर मल्ल ठकुरी । त्यसबेला उनी आन्ध्र प्रदेशको मैसुरमा एनसीसीमा थिए । उनको कम्पनी लद्दाखमा थियो ।

पदोन्नतिका लागि उनलाई पनि बोलाइयो । विभिन्न ठाउँमा कार्यरत कम्पनीका क्याडरजस्तै उनी लद्दाख पुगे । बटालियन कमान्डर लेफटिनेन्ट कर्णेल ओपी भाटिया त्यही पदोन्नतिको प्रक्रिया मिलाउन उपस्थित थिए । अक्टोबर ७ तारिख पदोन्नतिमा सहभागी सबै उपस्थित हुने दिन थियो ।

कम्पनीका सुवेदार लालबहादुर गुरुङले ३४ जना उपस्थित भइसकेको तर अन्य ठाउँको जिम्मेवारीमा रहेका कारण ७ जना दोस्रो दिन मात्र उपस्थित हुन सक्ने जानकारी गराए ।

कर्णेल भटिया रिसाए । उनले गोर्खा सैनिकहरूलाई जातीय आधारमा गालीगलौज गरे । उनले यसबापतको सजाय सुनाए, ‘सुवेदार मेजरसहित सबैलाई १८ हजार फिटको डाँडा स्केल–ए (लडाइँका बेला बोक्ने भारी र हतियार) सहित तीन दिनसम्म चढ्ने ।’ यति भनेर कर्णेल भाटिया हिँडे । सैनिक अनुशासनअनुसार पहिलो दिन उनीहरूले त्यो डाँडा चढे पनि ।

तर, उमेर पाकिसकेका सुवेदार मेजर भीमबहादुर रानालाई सजाय चित्त बुझेको रहेनछ । फर्केको रात उनले सबैको रोलकल बोलाए । मादक पदार्थ सेवन गरेका उनले आफ्ना असन्तुष्टि पाखे । अनि आफूलाई सहयोग गर्न आग्रह पनि गरे । यद्यपि त्यो सैनिक विद्रोहको कुरा थिएन । उनको गुनासो थियो, ‘मजस्तो बूढो मान्छेलाई समेत बिनासित्तै सजाय दिइयो ।’

उनीहरूले आफ्ना गुनासा कर्णेल भाटियालाई सुनाउने मतो गरे । तर भाटिया त्यहाँ उपस्थित भएनन् । अन्य जुनियर अफिसर देखा परे । त्यहीं बाझाबाझको अवस्था उत्पन्न भयो । उनीहरू पनि त्यहाँबाट हिँडे । त्यसपछि सुरु भयो, लगातारको सैनिक अधिकारीहरूको छानबिन । सोधखोज गर्न सुरुमा ब्रिगेडियर अनि मेजर जनरल, त्यसपछि लेफ्टिनेन्ट जनरल आए । घटनाको १२औं दिन सैनिकहरू मार्च गरिरहेका थिए ।

उनीहरूलाई एक–एक गरेर बोलाइयो । ७३ जनालाई समूहबाट छुट्टयाइयो । अनि सुरु भयो कोर्ट मार्सलको प्रक्रिया । इन्द्रबहादुर र अन्य वृद्ध पूर्वसैनिकहरूका अनुसार उनीहरूमाथि लगाइएको मुद्दा नै झूटो थियो । यो सबै कर्णेल भाटियाको योजनामा भइरहेको थियो । कम्पनीभित्रका अरू सैनिकलाई दबाब र प्रलोभन दिएर उनीहरूको विपक्षमा बयान दिन लगाइयो ।

उनीहरू आफैंलाई समेत बयान लिँदा भनेको होइन, उनीहरूलाई मन लागेको कुरामा सही गर्न लगाइयो । ‘दर्जनभन्दा बढी बस्थे बयानका बेला । अंग्रेजीमा टाइप गरिन्थ्यो, हिन्दीमा ब्रिफ गरिन्थ्यो । तर, मैले यो मेरो बयान होइन भन्दा पनि यही तेरो बयान हो भनियो । मैले अनुवादकको माग गरें । उनीहरूले ठाडै बयान हामीले भनेअनुसार हुने हो, अनुवादक किन चाहियो भने,’ ३९ वर्षअघिको त्यो बयान सम्झन्छन् इन्द्रबहादुर ।

उनीहरूलाई ८ देखि २० महिनासम्म हिरासतमा राखियो । ११ जनालाई ७ देखि २० वर्षसम्मको जेल सजाय दिइयो । ३५ जनालाई कुनै पनि सुविधा नपाउने गरी सेवाबाट बर्खास्त गरियो । जेल परेकाहरू ६ वर्षपछि भारतीय राष्ट्रपतिको क्षमादानबाट मुक्त भए ।

अदालतमा पनि उस्तै सेटिङ
सैनिक अदालतको यो निर्णयविरुद्ध उनीहरूले सुरुमा बनारसस्थित अदालतमा मुद्दा दर्ता गरे । त्यहाँ उनीहरूले एउटा अनौठो दृश्य देखे । इन्द्रबहादुर सम्झन्छन्, ‘जो हामीमाथि अन्याय गर्ने सैनिक अधिकारी हो, ऊ त अदालतको न्यायाधीशसँगै हिँडिरहेको छ ।’ ती अफिसरले ठाडै ‘तिमीहरूले अदालत आएर केही लछारपाटो लाउन सक्दैनौ । जे सक्छौ, त्यही गर’ भने ।

नभन्दै उनीहरूले मुद्दा हारे । दिल्ली हाइकोर्टमा अपिल गरे । त्यसका लागि उनीहरूले एक जना नेभी (जलसेना) बाट अवकाशप्राप्त कर्णेललाई वकिलका रूपमा लिए । एकजनालाई वारिस पनि नियुक्त गरे । तर, बर्खास्तगीमा परेर घर फर्केका र जेलमै रहेकाहरूले त्यो खर्च बेहोर्न सकेनन् । ७/८ वर्षपछि दिल्ली हाइकोर्टले पेसीमा उपस्थित नभएको भन्दै मुद्दा हराइदियो । त्यसअघि नै उनीहरूले भारतीय सेनाको मुख्यालयमा अपिल गरे । त्यहाँबाट पनि न्याय पाएनन् । उनीहरूको सेवा, सुविधा र जागिर त फर्केन नै, गुमेको स्वाभिमान पनि फर्काउन सकिएन ।

नेपाली सरकारी अड्डाको चक्कर

घटनापछि ०३६ सालमै उनीहरूले प्रधानमन्त्री सूर्यबहादुर थापालाई ज्ञापनपत्र बुझाए । ज्ञापनपत्र भैरहवाका जयबहादुर हितानी मगरले लेखेका थिए । ‘उनले भाइहरू अन्यायमा परेका रहेछन् भन्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र लेखेका थिए । तर प्रधानमन्त्री थापाले उल्टो गरे,’ इन्द्रबहादुर सम्झन्छन्, ‘थापाले अञ्चलाधीशलाई यिनीहरूले थप केही गर्न खोजे समातेर थुन्नू भन्ने निर्देशन पठाएछन् ।’

यसरी नेपाल सरकारबाट अभिभावकत्व पाउने आसमा गरेको प्रयास सुरुमै तुहियो । तैपनि निराश भएनन् । ०४० सालमा लोकेन्द्रबहादुर चन्दलाई मुग्लिङको बाटो छेकेरै ज्ञापनपत्र बुझाए । तर, केही पार लागेन । ‘अहिलेसम्म जति सरकार आए, उनीहरू सबैलाई हामीले हाम्रो कथा/व्यथा सुनाएका छौं,’ इन्द्रबहादुर भन्छन्, ‘अझै सुनुवाइ भएको छैन ।’

गत वर्ष राष्ट्रपति विद्या भण्डारीको कार्यालयमा उनीहरूले निवेदन दर्ता गराए । लामो गलफतीपछि प्रधानमन्त्री कार्यालय हुँदै परराष्ट्र मन्त्रालयमा लेखापढी पुग्यो । परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासलाई पत्र लेखिदियो । इन्द्रबहादुर र गमबहादुर दिल्ली पुगे । सात दिन लगातार प्रयासपछि बल्ल राजदूत दीपकुमार उपाध्यायलाई भेट्न पाए । आफ्ना कुरा अवगत गराए । त्यहाँ पनि हुँदैछ भन्ने जवाफ पाए तर केही भएन ।

अहिलेको मौका बिमस्टेक
अहिले फेरि गाउँबाट उनीहरू काठमाडौं आएका छन् । परराष्ट्रमन्त्री ज्ञवालीलाई गुहारेका छन् । ‘सास छउन्जेल आस हुँदो रहेछ,’ रुद्रबहादुर भन्छन्, ‘उहाँले बिमस्टेक बैठकमा आउने बेला भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजसँग कुरा गरिदिनुहोला कि भन्ने हाम्रो आशा छ ।’

हुन पनि करिब ४० वर्षको अवधिमा उनीहरूकै भनाइमा नगरेको दोषको सजाय उनीहरूले भारतीय सेना र सरकारबाट त पाए नै, आफ्नै सरकार र समाजबाट पनि भोग्दै आएका छन् । ‘गाउँघरमा समेत हामीलाई यिनीहरू मान्छे मारेर नाम कटुवामा परेका भन्छन्,’ गमबहादुरले आँखा टिलपिल पार्दै भने, ‘यो दोषबाट मुक्त हुन पाए हाम्रो सास शान्तसँग जानेछ ।’

प्रकाशित : भाद्र ११, २०७५ ०७:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT