कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परिचयपत्रकै भारी

मकर श्रेष्ठ

काठमाडौँ — गृह मन्त्रालयले गत भदौ १९ को निर्णय कार्यान्वयन गरेको भए यतिबेला सिंहदरबारभित्रका कर्मचारी र पाँचथरवासीका हातमा राष्ट्रिय परिचयपत्र भइसक्थ्यो । तर एक वर्ष बित्दा न सिंहदरबारका कर्मचारीले परिचयपत्र पाए न त पाँचथरवासीले ।

परिचयपत्रकै भारी

मन्त्रालयले गत वर्षकै निर्णय कार्यान्वयन नगर्दै सरकारको यस वर्षको बजेटमा थप १५ जिल्लाका सर्वसाधारणलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने उल्लेख छ । पाँच वर्षभित्र सबैलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने घोषणा सरकारले गरिसकेको छ ।

यसअघिका सबै परिचयपत्रलाई एकीकृत गर्ने गरी वितरण गर्नुपर्नेमा सरकारले थप परिचयपत्र दिने विधेयक संसद्मा पेस गरेको छ । मौलिक हक कार्यान्वयन गर्न सरकारले संसद्मा पेस गरेका अधिकांश विधेयकमा वितरित परिचयका आधारमा सुविधा दिने भनिएको छ । एक जनाले नागरिकता, लाइसेन्स, मतदाता परिचयपत्र, प्यान कार्ड, अपांगता, भूकम्पपीडित परिचयपत्र, सामाजिक सुरक्षाभत्ता परिचयपत्र यसअघि नै पाइसकेका छन् । त्यस्तै कर्मचारीले निवृत्तिभरण परिचयपत्रसमेत पाउने गरेका छन् ।

पछिल्लो समय गरिब परिचयपत्रसमेत वितरण सुरु भएको छ । सरकारले ल्याएको पछिल्लो विधेयकअनुसार खाद्य अधिकार, आवास परिचयपत्र, बालबालिकाको पोषण कार्डलगायत थपिँदै छ । संसद्मा शुक्रबार दर्ता भएको सामाजिक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सामाजिक सुरक्षाभत्ता पाउने हरेक नागरिकलाई सम्बन्धित स्थानीय तहले परिचयपत्र दिनुपर्ने व्यवस्था छ । ज्येष्ठ नागरिक, आर्थिक रूपले विपन्न, अशक्त, असहाय, एकल महिला, अपांगता भएका व्यक्ति, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने र लोपोन्मुख जातिले सामाजिक सुरक्षाभत्ता लिन परिचयपत्र लिनुपर्ने प्रावधान छ ।

लोपोन्मुख जातिमा कुसुन्डा, राउटे, हायु, किसान, मेचे, बनकरिया, सुरेल, राजी, लोप्चा, कसवाडिया छन् ।

सरकारले प्रदान गरेको अपांगतासम्बन्धी परिचयपत्र प्रत्येक दुई वर्षमा स्थानीय तहले पुनरावलोकन गरी अद्यावधिक गर्नुपर्ने व्यवस्था विधेयकमा छ । अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनमा अपांगताको वर्गीकरणअनुसार परिचयपत्र दिने उल्लेख छ । अपांगता परिचयपत्र प्राप्त गर्न आफैंले वा परिवारको कुनै सदस्य र संरक्षकले स्थानीय तहको सिफारिससहित निवेदन दिनुपर्नेछ ।

अति विपन्न, लोपोन्मुख र पाँच वर्ष उमेर पूरा नगरेका बालबालिकालाई सामाजिक सुरक्षाभत्ताका रूपमा सरकारले बालपोषण भत्ता दिने भएको छ । यसका लागि बालबालिकाले पनि छुट्टै परिचयपत्र बनाउनुपर्ने हुन्छ । विधेयकमा भनिएको छ, ‘परिचयपत्र नलिएका नागरिकले सामाजिक सुरक्षाभत्ता पाउने छैनन् । परिचयपत्रका आधारमा स्थानीय तहले सामाजिक सुरक्षाभत्ता वितरण गर्नेछ ।’

मौलिक हक कार्यान्वयन गर्न खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा खाद्य सहायता परिचयपत्रको प्रावधान राखिएको छ । स्थानीय तहले लक्षित घरपरिवारको अध्यावधिक विवरणका आधारमा खाद्य सहायता परिचयपत्र जारी गर्ने परिकल्पना गरिएको हो ।

परिचयपत्र जारी गर्दा लक्षित घरपरिवारमा अठार वर्ष उमेर पूरा भएको महिला सदस्य भएमा ज्येष्ठ सदस्यको नाममा र अठार वर्ष उमेर पूरा भएको महिला सदस्य नभएमा अन्य सदस्यमध्ये ज्येष्ठ सदस्यको नाममा खाद्य सहायता परिचयपत्र जारी गर्ने प्रावधान राखिएको छ ।

अति विपन्न र वैकल्पिक व्यवस्था गर्न नसक्नेलाई अनिवार्य रूपमा आवास सुविधा दिन सरकारले संसद्मा ‘आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि ल्याएको छ । स्थानीय तहले आवास सुविधा उपलब्ध गराउने व्यक्ति र उसको परिवार पहिचान गर्नुपर्ने हुन्छ । स्थानीय तहले आवासविहीनलाई सुरुमा परिचयपत्र वितरण गरिनेछ । परिचयपत्रका आधारमा आवास सुविधा उपलब्ध गराउनुपर्ने हुन्छ ।

सरकारले ल्याएको निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा २६ मा परिचयपत्र उपलब्ध गराउने व्यवस्था छ । कोषले प्रत्येक कर्मचारीलाई कोषको परिचयपत्र उपलब्ध गराउने भनिएको छ । कर्मचारीले परिचयपत्र लिनका लागि कोषले निर्धारण गरेका प्रक्रिया अवलम्बन गर्नुपर्ने हुन्छ ।

सरकारले सबै परिचयपत्रलाई समट्ने गरी राष्ट्रिय परिचयपत्र ल्याउने अन्तिम तयारीमा रहेको गृह मन्त्रालयले जनाएको छ । राहदानी, नागरिकता, सवारी चालक अनुमतिपत्र, बैंक खाता, गाडी नम्बर, मोबाइल–टेलिफोन, व्यक्तिको सामाजिक परिचय, पेसा–व्यवसायको विवरण केन्द्रीय डाटाबेस प्रणालीमा आधारित गर्ने गरी गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजना सारेको वर्षौं भए पनि कार्ड वितरण हुन सकेको छैन ।

‘सरकारले प्रदान गर्ने सबै परिचयपत्र समेटिने गरी राष्ट्रिय परिचयपत्र वितरण गर्न खोजेका हौं,’ गृह प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘दुई महिनाभित्र कार्ड छपाइ सुरु हुन्छ ।’ सिंहदरबारभित्रको कर्मचारी र पाँचथरका जनताको विवरण आइरहेको उनले बताए । दुई महिनापछि कार्ड प्रिन्ट हुने उनले जानकारी दिए ।

प्रकाशित : भाद्र ११, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?