कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

विद्यालयको नयाँ पाठ्यक्रम स्वीकृत

अब कक्षा ११ र १२ मा चार अनिवार्य र तीन ऐच्छिक गरी सात विषय हुनेछन्
सुदीप कैनी

काठमाडौँ — अब प्रारम्भिक बालकक्षादेखि १२ सम्म नयाँ पाठ्यक्रम लागू हुने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय शिक्षाको पाठ्यक्रम संरचना २०७५ स्वीकृत गरेको हो ।

विद्यालयको नयाँ पाठ्यक्रम स्वीकृत

परिवर्तित संरचनाअनुसार विषयगत पाठ्यपुस्तकको तयारी थालिसकिएको छ । नयाँ संरचनामा कक्षा ११ र १२ मा संकाय खारेज गरी ७ विषय लागू गरिनेछन् । यसअघि ५ वटा विषय मात्रै थिए । अब नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षासहित ४ विषय अनिवार्य हुनेछन् भने ३ वटा ऐच्छिक ।

जीवनोपयोगी शिक्षालाई ऐच्छिक विषयसरह प्रतिहप्ता ५ पाठ्य घण्टा छुट्याइएको छ । पाठ्यक्रमको प्रारूपमा कक्षा ११ र १२ मा गणित विषयलाई उपेक्षा गरिएको भन्दै विषय विज्ञले असन्तुष्टि जनाएका थिए । परिषद्ले तीनवटै ऐच्छिक विषय अध्ययन गर्ने विद्यार्थीले जीवनोपयोगी शिक्षाको सट्टा गणित अध्ययन गर्न सक्ने जनाएको छ । यसबाहेक प्रत्येक कक्षामा साताको २ पाठ्य घण्टा सूचना प्रविधिसम्बन्धी अभ्यास गराउने प्रबन्ध छ ।

साधारण धारबाहेक कक्षा ९ देखि १२ सम्म विद्यार्थीले प्राविधिक तथा व्यावसायिक, संस्कृत/वेद विद्याश्रम/गुरुकुल र परम्परागत शिक्षा समूह (विहार/मदरसा) मा अध्ययन गर्न पाउनेछन् । यसअघि कक्षा ९ र १० मा ८ वटा विषय अध्ययन/अध्यापन हुँदै आएकामा नयाँ पाठ्यक्रमले ७ वटामा झारेको छ । स्वास्थ्य/जनसंख्या विषय हटाइएको छ । विज्ञानमा प्रविधि थप गरिएको छ । ५ वटा अनिवार्य र दुई ऐच्छिक विषय छन् ।

त्यस्तै, कक्षा ६ देखि ८ सम्म अध्यापन हुँदै आएको पेसा व्यवसाय र नागरिक तथा नैतिक विषय हटाइएको छ । सामाजिक अध्ययनमा मानव मूल्य शिक्षा थप भएको छ । आधारभूत तहमै मातृभाषा र स्थानीय विषयमा पठनपाठन गराउन प्रतिहप्ता ४ घण्टा छुट्याइएको छ । कक्षा १–३ मा भने एकीकृत पाठ्यक्रम बनाएर विषयगत शिक्षण गर्न लागिएको छ ।

प्रारम्भिक बालविकास कक्षामा दैनिक एक घण्टा मनोरञ्जनसहित आधारभूत र विषयगत सीप सिकाइको क्षेत्र निर्धारण गरिएको छ । यसअघि बालविकास शिक्षाको आफ्नै पाठ्यक्रम थिएन । नि:शुल्क तथा अनिवार्य शिक्षा ऐनको मस्यौदामा पनि कक्षा १ मा भर्ना हुनुअघि एक वर्ष अनिवार्य रूपमा बालविकास कक्षा पढ्नुपर्ने उल्लेख छ ।

परिषद्ले यसै शैक्षिक सत्रमा कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न लागेको थियो । तर, हतारमा परिवर्तन गर्न लागिएको भन्दै विरोध भएकाले परीक्षणपछि मात्र कार्यान्वयनमा जाने निर्णय लिएको हो । संरचना स्वीकृत भएकाले यस वर्ष परीक्षणका रूपमा मात्रै लागू गरिने केन्द्रले जनाएको छ ।

‘विषयगत पाठ्यक्रम निर्माण गर्न थालिसकेका छौं, अब पाठ्यपुस्तक बनाएर परीक्षणमा जान्छौं,’ केन्द्रका सूचना अधिकारी खुबीराम अधिकारीले भने । परिषद्ले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइने जनाएको छ ।

प्रकाशित : भाद्र ११, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?