छोरी जोगाउनै मुस्किल

अमृता अनमोल, मनोज पौडेल

बुटवल — रुपन्देहीको कञ्चन गाउँपालिकास्थित मामाघर आएकी ७ वर्षीया ४ दिनअघि बलात्कारमा परिन् । जबरजस्ती करणी आरोपमा उनका मामाका साथी विकल पुन पक्राउ परेका छन् ।

राति बालिका चिच्याएपछि परिवारले थाहा पाएका थिए । पक्राउ परेका पुनविरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धान चलिरहेको छ । बालिकाको उपचार भइरहेको छ । धादिङबाट मामाघर आएका बेला उनी करणीमा परेकी हुन् ।

रुपन्देही, कपिवलस्तुलगायत पश्चिम तराईका जिल्लामा बालिकामाथि यस्ता अत्याचारको शृंखला थामिएको छैन । अविभावकलाई छोरी जोगाउन मुस्किल परिरहेको छ । पछिल्लो समय छिमेकी, नातागोता र परिवारकै सदस्यबाट बालिका सुरक्षित छैनन् । रुपन्देहीको सियारी गाउँपालिकाकी २ वर्षीया दुधेबालिका पनि बचिनन् ।

Yamaha

गत साउन १४ गते घरभित्रै ती अबोध बालिका बलात्कारको सिकार भइन् । चिच्याएपछि परिवारले थाहा पाए । जबर्जस्ती आरोपमा प्रहरीले २६ वर्षीय राजकुमार चौधरीलाई पक्राउ गरेको छ । चौधरीविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताए ।

कपिलवस्तुमा गत फागुन तेस्रो साता तीन दिन अन्तरमा २ बालिका बलात्कृत भए । कपिलवस्तु नगरपालिकाकी ५ वर्षीया विद्यालय गइरहेका बेला करणीमा परिन् तर उनले आफूमाथिको ज्यादती पत्तै पाइनन् । उनी विद्यालय पुगिन् । योनिबाट रगत बगेको देखेपछि घटना सार्वजनिक भयो । शिक्षिकाले प्रहरीलाई खबर गरुन्जेल संलग्न आरोपी फरार भइसकेका थिए ।

लगत्तै कपिलवस्तु नगरपालिकाकै ७ वर्षीयामाथि बलात्कार प्रयास भयो । उनलाई गाउँकै ७५ वर्षीयले त्यस्तो गरेको आरोप छ । वृद्धले चकलेट दिई प्रलोभनमा पारेर घर लगेका थिए । गोठमा पुर्‍याएर करणी गर्न लागेको देखेपछि होहल्ला भयो । त्यसपछि वृद्ध फरार भएका थिए । गाउँलेले नियन्त्रणमा लिएर अस्थायी प्रहरीचौकी जहदीमा बुझाए ।

अबोधमाथि करणी र यौन हिंसाका उजुरी बढिरहेका छन् । बालिका घरभित्रै असुरक्षित बनिरहेका छन् । प्रजनन अंग विकास नहुँदै यस्तो अपराधको सिकार भएका धेरै बालिका शारीरिक तथा मानसिक रूपमा विक्षिप्त छन् । यसले उनीहरूको वर्तमान मात्र होइन, भविष्य पनि संकटमा पार्ने स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. श्रीधर आचार्य बताउँछन् । साउनयता जिल्ला प्रहरी रुपन्देहीमा ३ नाबालिका बलात्कारमा परेको उजुरी छ । गत वर्ष यस्ता उजुरी ६८ वटा दर्ता भएका थिए । त्यसमा २३ यौन हिंसाका थिए, १० नाबालिक ।

कपिलवस्तुमा गत आवमा जबर्जस्ती करणी १७, करणी उद्योग २० र शरीर बन्धक एक गरी ३८ मुद्दा दर्ता भएको जिल्ला प्रहरीले जनाएको छ । यस्ता बालिका शारीरिक मात्र नभई मानसिक रूपमा पीडित भइरहेको अधिकारकर्मी मीना परियारले बताइन् । ‘उनीहरूलाई समाजमा पुन:स्थापना र आफ्नो अध्ययनलाई निरन्तरता दिन समस्या भइरहेको छ,’ उनले भनिन्, ‘कतिपयको बिहेवारी हुँदैन ।’ मादक पदार्थ सेवन गर्ने र यौन असन्तुष्टि भएका व्यक्ति बढी संलग्न भइरहेको प्रहरी अनुसन्धानले देखाएको छ ।

बालिकाले घटनाबारे सही सूचना दिन नसक्ने भएकाले सहजै उम्किन सक्ने सोचले घटना भइरहेका छन् । प्रहरी नायब उपरीक्षक कुमोद ढुंगाना बालिकालाई फकाउन, लोभ्याउन र धम्क्याउन सहज हुने र तिनले प्रतिकार गर्न नसक्ने भएकाले घटना बढेको बताउँछन् । बाहिरी वातावरणमा घुलमिल नभएका, मातृत्व नपाएका वा घरमा आमा नहुने र विद्यालय नजाने बालिका बढी निसानामा परेका छन् ।

सामाजिक संरचना र मानसिक प्रभावले बलात्कार घटना बढाएको विज्ञले बताए । पछिल्लो समय मान्छेमा मानसिक विकृति बढ्दै जाँदा घटना बढेको सामाजिक मनोविज्ञानका प्राध्यापक नारायणप्रसाद पन्थले बताए । उनका अनुसार आध्यात्मिक, नैतिक शिक्षा र सामाजिक काममा संलग्नतामा कमी आएकाले अहिले असन्तुष्टि बढेको हो । लागूपदार्थ तथा नशालु पदार्थ सेवनले मानसिक रूपमा पनि विकृत बनेको छ ।

दुव्र्यवहारको सिकार बालक पनि
बालिकासँगै बालकसमेत जबरजस्तीको सिकार हुन थालेका छन् । रुपन्देहीका ९ वर्षीय बालकलाई ललाइफकाइ अप्राकृतिक यौन दुव्यर्वहार गरेको आरोपमा प्रहरीले भारत स्थायी घर भई बुटवल ४ मा डेरा गरी बस्ने ७२ वर्षीय सुन्दर पुरीलाई पक्राउ गरेको छ ।

दिनभर जोगी बनेर भिक्षा माग्दै हिँड्ने पुरीले अभिभावकविहीन एक बाललाई पटकपटक यौन दुव्र्यवहार गरेको पाइएको छ । छिमेकीले प्रहरीलाई खबर गरेपछि गत साउन २६ मा पुरी पक्राउ परेका थिए ।

Esewa Pasal

प्रकाशित : भाद्र ११, २०७५ ०७:४३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

विद्यालयको नयाँ पाठ्यक्रम स्वीकृत

अब कक्षा ११ र १२ मा चार अनिवार्य र तीन ऐच्छिक गरी सात विषय हुनेछन्
सुदीप कैनी

काठमाडौँ — अब प्रारम्भिक बालकक्षादेखि १२ सम्म नयाँ पाठ्यक्रम लागू हुने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय शिक्षाको पाठ्यक्रम संरचना २०७५ स्वीकृत गरेको हो ।

परिवर्तित संरचनाअनुसार विषयगत पाठ्यपुस्तकको तयारी थालिसकिएको छ । नयाँ संरचनामा कक्षा ११ र १२ मा संकाय खारेज गरी ७ विषय लागू गरिनेछन् । यसअघि ५ वटा विषय मात्रै थिए । अब नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षासहित ४ विषय अनिवार्य हुनेछन् भने ३ वटा ऐच्छिक ।

जीवनोपयोगी शिक्षालाई ऐच्छिक विषयसरह प्रतिहप्ता ५ पाठ्य घण्टा छुट्याइएको छ । पाठ्यक्रमको प्रारूपमा कक्षा ११ र १२ मा गणित विषयलाई उपेक्षा गरिएको भन्दै विषय विज्ञले असन्तुष्टि जनाएका थिए । परिषद्ले तीनवटै ऐच्छिक विषय अध्ययन गर्ने विद्यार्थीले जीवनोपयोगी शिक्षाको सट्टा गणित अध्ययन गर्न सक्ने जनाएको छ । यसबाहेक प्रत्येक कक्षामा साताको २ पाठ्य घण्टा सूचना प्रविधिसम्बन्धी अभ्यास गराउने प्रबन्ध छ ।

साधारण धारबाहेक कक्षा ९ देखि १२ सम्म विद्यार्थीले प्राविधिक तथा व्यावसायिक, संस्कृत/वेद विद्याश्रम/गुरुकुल र परम्परागत शिक्षा समूह (विहार/मदरसा) मा अध्ययन गर्न पाउनेछन् । यसअघि कक्षा ९ र १० मा ८ वटा विषय अध्ययन/अध्यापन हुँदै आएकामा नयाँ पाठ्यक्रमले ७ वटामा झारेको छ । स्वास्थ्य/जनसंख्या विषय हटाइएको छ । विज्ञानमा प्रविधि थप गरिएको छ । ५ वटा अनिवार्य र दुई ऐच्छिक विषय छन् ।

त्यस्तै, कक्षा ६ देखि ८ सम्म अध्यापन हुँदै आएको पेसा व्यवसाय र नागरिक तथा नैतिक विषय हटाइएको छ । सामाजिक अध्ययनमा मानव मूल्य शिक्षा थप भएको छ । आधारभूत तहमै मातृभाषा र स्थानीय विषयमा पठनपाठन गराउन प्रतिहप्ता ४ घण्टा छुट्याइएको छ । कक्षा १–३ मा भने एकीकृत पाठ्यक्रम बनाएर विषयगत शिक्षण गर्न लागिएको छ ।

प्रारम्भिक बालविकास कक्षामा दैनिक एक घण्टा मनोरञ्जनसहित आधारभूत र विषयगत सीप सिकाइको क्षेत्र निर्धारण गरिएको छ । यसअघि बालविकास शिक्षाको आफ्नै पाठ्यक्रम थिएन । नि:शुल्क तथा अनिवार्य शिक्षा ऐनको मस्यौदामा पनि कक्षा १ मा भर्ना हुनुअघि एक वर्ष अनिवार्य रूपमा बालविकास कक्षा पढ्नुपर्ने उल्लेख छ ।

परिषद्ले यसै शैक्षिक सत्रमा कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न लागेको थियो । तर, हतारमा परिवर्तन गर्न लागिएको भन्दै विरोध भएकाले परीक्षणपछि मात्र कार्यान्वयनमा जाने निर्णय लिएको हो । संरचना स्वीकृत भएकाले यस वर्ष परीक्षणका रूपमा मात्रै लागू गरिने केन्द्रले जनाएको छ ।

‘विषयगत पाठ्यक्रम निर्माण गर्न थालिसकेका छौं, अब पाठ्यपुस्तक बनाएर परीक्षणमा जान्छौं,’ केन्द्रका सूचना अधिकारी खुबीराम अधिकारीले भने । परिषद्ले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइने जनाएको छ ।

प्रकाशित : भाद्र ११, २०७५ ०७:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT