निर्णय बदरको माग गर्दै असन्तुष्ट पक्ष काठमाडौंमा
अर्घाखाँची — नेकपाको जिल्ला अध्यक्षमा पीताम्बर भुसालको नाम सिफारिस भएपछि पूर्वएमालेभित्र विवाद चुलिएको छ । भुसालको समर्थन र विरोधमा नेता/कार्यकर्ता दुई समूहमा विभाजित भएका छन् ।
तत्कालीन जिल्ला अध्यक्ष तथा प्रदेशसभा सदस्य चेतनारायण आचार्यले कार्यदलभित्र छलफलै नगरी एकलौटी ढंगले भुसालको नाम प्रदेश कमिटीमा सिफारिस गरेकामा तत्कालीन एमाले उपाध्यक्ष जीवनारायण कोइराला, सचिव रामबहादुर चौहान र उपसचिव प्रेमनारायण गैरेलगायत नेताले असन्तुष्टि व्यक्त गर्दै सच्याउन माग गरेका छन् ।
भुसाल र कोइराला पक्षधर नेता/कार्यकर्ता एकअर्काप्रति आरोप/प्रत्यारोपमा उत्रिएका छन् । भुसाल पक्षधर नेता/कार्यकर्ताले पार्टीभित्र अराजकता निम्त्याउन खोजिएको आरोप लगाएका छन् । असन्तुष्ट पक्षले भने पार्टीको विधि र प्रक्रियालाई मिच्ने काम गरेर कनिष्ठलाई अध्यक्षमा सिफारिस गर्नु व्यक्तिवादी चरित्र हाबी भएको दाबी गरेको छ । सामाजिक सन्जालमा एकअर्काप्रति आरोप/प्रत्यारोपको जुहारी नै चलेको छ ।
‘पीताम्बर के मानेमा कनिष्ठ भए ? पार्टीमा ठूलो त्याग र योगदान गरेका नेता हुन्,’ सांसद आचार्यले भने, ‘विरोध गर्नुको अर्थ छैन । अध्यक्ष उनै हुन् ।’ विरोध गर्नुभन्दा पार्टी काममा इमान्दार भएर लाग्न उनले आग्रह गरे । पार्टी सदस्यता र काम गरेको हिसाबले भुसाल कुनैमा कमी नभएकाले पार्टी हाँक्न सक्ने व्यक्ति भएको उनले बताए । पार्टी चलाउन सक्ने र सबैलाई मिलाएर लैजान सक्ने खुबी भएकालाई सिफारिस गरेको उनले दाबी गरे । भुसाल २५ वर्षमै ०५४ सालमा बाँगी गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि निरन्तर पार्टीमै सक्रिय छन् । ‘म अध्यक्ष केका लागि अयोग्य भएँ,’ अध्यक्षमा सिफारिस भुसालले भने, ‘निरन्तर पार्टी काममै छु । समर्थन नगर्नु उहाँहरुको कुरा हो । केन्द्रले निर्णय गरेपछि सबैलाई मिलाएर अघि बढ्छु ।’
‘कमिटीका लागि पदाधिकारी र सदस्यको छनोट गर्दा वरिष्ठता, क्षमता र एकताको भावनालाई आधार बनाउने भन्ने विधानमा छ, त्यो मिच्ने काम भयो,’ नेता चौहानले भने ।
सातौं जिल्ला अधिवेशन ०५९ मा एमालेको जिल्ला सचिवमा चौहानसँग भुसाल पराजित भएका थिए । सचिवालयमा भुसाल नवौं नम्बरमा थिए । ‘कमिटीको बैंठकमा कुनै सल्लाह नगरी विधि र प्रक्रिया मिचेर एकलौटी गरिएको छ,’ चौहानले भने, ‘मलाई पद चाहिएको छैन । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले बैठक बसेर सहमति गरेर सिफारिस गर्न दिएको निर्देशनलाई अटेर गर्ने काम भयो । गलत गर्नेलाई कारबाही हुनुपर्छ ।’
सिफारिस बदरको माग गर्दै चौहान काठमाडौंमा आएर अध्यक्षद्वय ओली र दाहालसहित केन्द्रीय नेताकहाँ धाइरहेका छन् । जिल्ला अध्यक्ष आचार्य प्रदेश सांसद, उपाध्यक्ष कोइराला प्रदेश कमिटी सदस्यमा चयन भएकाले अध्यक्षको पालो आफ्नो भएको चौहानको दाबी छ । भुसाल सिफारिस भएको जानकारी फेसबुकबाट पाएको कोइरालाले बताए । ‘नियमसंगत भन्दा पनि एकलौटी गरेर पार्टीलाई कमजोर बनाउन खोजियो,’ उनले भने, ‘गलत निर्णय मान्न तयार छैनौं ।’ गैरेले भुसालको विरोध भन्दा पनि विधि र पद्धतिअनुसार नेतृत्व चयन हुनुपर्छ भन्ने आफूहरुको माग रहेको बताए ।
सांसद आचार्य, भुसालसहित असन्तुष्ट पक्षधर केपी ओली निकट हुन् । अधिवेशनमा सचिवमा भुसाल आचार्य प्यानलबाट चुनाव लडेका थिए । चौहान प्रदेश सांसद रामजीप्रसाद घिमिरे प्यानलबाट सचिवमा निर्वाचित भएका थिए । असन्तुष्टको आरोप भुसाल पक्षधर स्वीकार गर्न तयार छैन । उता एकीकृत पार्टीको सचिव पद पाएको तत्कालीन माओवादी केन्द्रमा पनि सिफारिसप्रति असन्तुष्टि छ । सचिवमा तोजबहादुर रायमाझी सिफारिस भएका छन् । उनी नेता टोपबहादुर रायमाझी निकट हुन् । सचिवमा छमकुमारी खनालले चाहना गरेकी थिइन् ।