कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कालिकोटको मोल्फोमा पहिरो, दुई घर भत्किए, एक सय ८ घर प्रभावित

तुलाराम पाण्डे

कालिकोट — गए रातिदेखिको अविरल वर्षाले कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं ५ साविकको दाहा गाविसको वडा नं ३ मा पर्ने मोल्फामा भीषण पहिरो गएको छ । पहिरो मोल्फा बजारको माथि घोडेना गाउँबाट फुटेको हो । पहिरोले स्थानीयका दुई घर पुरेको छ भने एक सय ८ घर प्रभावित भएका छन् । 

कालिकोटको मोल्फोमा पहिरो, दुई घर भत्किए, एक सय ८ घर प्रभावित

करिब ३ किलोमिटर माथि घोडेना गाउँबाट आएको पहिरोले मोल्फा बजारका ५२ घर प्रभावित भएका छन् भने पहिरो फुटेको ठाउँभन्दा माथिका ५६ घर पनि जोखिममा परेको कालिकोटका प्रहरी प्रमुख विनोद शर्माले बताए ।

११ वर्षअघि यही ठाउँमा पहिरो जाँदा घोडेमाका एक दर्जन घर र मोल्फाबजारका २२ वटा घर भत्किएका थिए ।

यसपटकको लगातारको वर्षाले मोल्फा बजार पुरै बग्ने अवस्था रहेको स्थानीय भीमहरि प्राविका प्रधानाध्यापक दानबहादुर सेजुवालले बताए ।

सोमबार बिहानको पहिरोले दुई घर भत्किएका छन् भने अन्यका घर पनि उच्च जोखिममा रहेको उद्दारमा खटिएका प्रहरी निरीक्षक निरोज चौलागाईले बताए । ‘पानी निरन्तर परिरहेको छ ।’ प्रहरी निरीक्षक चौलागाईले भने, ‘गाउँ पुरै जोखिममा छन् ।’


घोडेना र मोल्फा बजार गरी करिब ५ सय जनसंख्याको बसोबास छ । स्थानीयलाई सार्ने ठाउँ पनि गतिलो नभएकाले सार्न पनि कठिनाई भएको खाँडाचक्र नगर प्रमुख जसीप्रसाद पाण्डेले बताए । ‘घोडेना गाउँ र मोल्फा बजार दुवै ठाउँ जोखिममा छन्,’ नगर प्रमुख पाण्डेले भने ‘सार्ने ठाउँ पनि नजिक नहुदा समस्या परेको छ ।’ उनले घोडेना गाउँ नजिक रहेको कालिका आधारभूत विद्यालय पनि गत साउनमै पहिरोले भत्काए पनि बस्ने ठाउँ नहरेको उनले सुनाए ।

सोमबार बिहानदेखि पहिरो जान सुरु गरेकाले जिल्ला विपद् ब्यवस्थापन समितिले उद्दारमा नेपाली सेना, नेपाल प्रहरी, रेडक्रसकर्मीलगायतलाई परिचालन गरेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए । प्रजिअ कार्की, प्रहरी प्रमुख विनोद शर्मा, प्रदेश सभा सांसद कुर्मराज शाहीलगायतको टोली मोल्फा पुगेर पहिरो प्रभावितको उद्दारमा लागेको सहायक प्रजिअ राजकुमार दुलालले बताए । घटनास्थल कालिकोटको सदरमुकाम मान्मबाट १५ किलोमिटर पूर्व कर्णाली राजमार्गसँग जोडिएको छ ।

पहिरो फुटेको ठाउँको पानी तर्काउन जिल्ला विपद व्यवस्थापन समितिले खानेपानी तथा सरसफाई सव-डिभिजन कार्यालयबाट स्थानीयलाई ७ सय मिटिर ५० एमएमको एचडिपी पाइप उपलब्ध गराएर पानी पहिरो खस्ने ठाउँबाट तर्काइएको छ । स्थानीयलाई नजिकका घरमा सारिएको वडा नं ५ का वडाध्यक्ष खडानन्द चौलागाईले जानकार दिए ।

यसैबीच, सोमबार बिहान मोल्फा बजार नजिकै पुरानो चन्द्र सूर्य होटल छेउमा गएको पहिरोले कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडक पनि अवरुद्ध भएको छ । राजमार्ग छेउको पहिरोले दुई घर भत्काएको प्रजिअ कार्कीले बताए ।

प्रकाशित : भाद्र ११, २०७५ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?