१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

मृत्यु भएका आफन्तलाई क्षतिपूर्ति र रोजगारी दिने सहमतिपछि ओखरपौवा शान्त 

कृष्ण थापा

नुवाकोट — ककनी गाउँपालिका-१ महालक्ष्मीस्थानमा गाडीको ठक्करले एक स्थानीयको मृत्यु भएको नौ घण्टापछि आन्दोलित स्थानीयबासी र सरोकारवाला निकायबीच दुई बुँदे सहमति  भएको छ । सहमतिसँगै आन्दोलन मथ्थर भएको छ ।  

मृत्यु भएका आफन्तलाई क्षतिपूर्ति र रोजगारी दिने सहमतिपछि ओखरपौवा शान्त 

सहमतिमा मृतक छोरा राजु बलामीलाई महानगरपालिकाले रोजगारी दिलाउने र २० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएपछि आन्दोलन टुंगोमा पुगेको प्रहरीले जनाएको छ । मृतकका आफन्तले शव बुझेर पोष्टमार्टमका लागि काठमाडौं लगेका छन् ।


सोमबार बिहान पैदल हिँडिरहेका ककनी गाउँपालिका-१ का ४५ वर्षीय स्थानीय बासिन्दा पदम बलामीलाई बा२ख ६११८ नम्बरको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमा मृत्यु भएको थियो । उक्त टिपर सोमबार पौने आठ बजे फोहोर फाल्न काठमाडौंबाट सिसडोलतर्फ जाँदै गर्दा उक्त घटना भएको प्रहरीले जनाएको छ ।


टिपर सञ्चालक र काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख हरि कुँवर र पीडित पक्षका तर्फबाट ककनी गाउँपालिका १ र २ का वडाध्यक्षहरु चन्द्रबहादुर बलामी र केदार पौडेल र मृतकका आफन्तबीच सहमति भएको छ ।


घटना भए लगतै स्थानीयबासीले फोहोर फाल्न गएका गाडीहरुलाई रोकेका थिए । आक्रोसित स्थानीयबासीले उक्त टिपरको सिसा फुटालेको प्रहरीले जनाएको छ । फरार टिपर चालक प्रहरीको नियन्त्रणमा आइसकेका छन् । त्यसैगरी जिल्लाबाट खटिएको प्रहरी टोली पासाङ ल्हामुमार्गको ककनी गाउँपालिका-१ चिसोपानीधारामा तीन घण्टा पहिरोमा परेको थियो ।


पहिरो पन्छाउँदै प्रहरी घटनास्थल पुगेको थियो । स्थिति तनावग्रस्त भएपछि साम्य पार्न काठमाडौंदेखि प्रहरी परिचालन गरिएको थियो । काठमाडौं उपत्यकाको फोहोर १३ वर्षदेखि ओखरपौवाको सिसडोलमा फालिँदै आइएको छ । त्यहाँ दैनिक ८० भन्दा बढी गाडी सिसडोलमा फोहोर फाल्न आवतजावत गर्छन् ।

प्रकाशित : भाद्र ११, २०७५ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?