कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बोक्सी आरोपमा क्रूर यातना खेपेकी राधासँग किन बोल्दैनन् गाउँले ?

बोक्सी नै कसैले नभने पनि उनका लागि गाउँघरमा सहज वातावरण छैन
अर्जुन शाह

धनगढी — बोक्सी आरोपमा क्रूर यातना खेपेकी राधा चौधरी गाउँमा पुनस्र्थापना त भइन्, तर उनीप्रति गाउँलेको दृष्टि अझै सकारात्मक हुन सकेको छैन । गाउँले अहिले पनि उनलाई देखेपछि टाढिन्छन् ।  ‘मेरो गाउँवासी अहिले पनि मलाई देखेपछि टाढिएर हिंड्छन्,’ राधाले भनिन्, ‘विद्यालयमा पनि मेरो गाउँका कोही साथी मसँग बोल्दैनन् ।’

बोक्सी आरोपमा क्रूर यातना खेपेकी राधासँग किन बोल्दैनन् गाउँले ?

आफूलाई अझैं पनि गाउँमा बस्न सहज नभएको राधा बताउँछिन् ।


गाउँमा अझैं पनि आफूप्रति शंकाको व्यवहार गर्नेहरू देखेर राधाको आत्मबल बढेको छैन । प्रत्यक्ष रुपमा गाली गर्न त आउँदैनन् । तर परबाट औला तेस्याएर कुरा काट्छन् । पिठ्युपछाडि ‘बोक्सी’ भनेर गाली गर्ने गरेको सुन्दा नमिठो लाग्ने गरेको उनले सुनाइन् । आफ्नो अवस्थाबारे कुरा गर्दैगर्दा राधाले जबर्जस्ती मुस्कुराउन त खोजिन्, तर भित्रैदेखि उनको हाँसो फुटेन ।


राधाकी आमा फूलकेशरीले पनि गाउँमा छोरीलाई सहज वातावरण नभएको बताइन् । ‘छोरीलाई गाउँ समाजका केही मानिसले यस्तो भन्यो, उस्तो भन्यो भनेर सुन्दा पीडाले पोल्छ,’ आमा फुलकेशरीले भनिन्, ‘जसले जे भने पनि चुपचाप सहेर बस्छौं । सुने पनि नसुनेझैं गर्छौ ।’


गएको फागुन २४ गते २० वर्षीया राधा अरु दिन झै घर नजिकै रहेको गोठमा गोबर सोहोरेर फर्किदै थिइन् । त्यही बेला ६ जनाको समूह ‘यही हो बोक्सी, समात् समात् भन्दै चर्को स्वरमा कराउँदै ‘बाघले बाख्रो झम्टे झै’ गरी समाते ।

उनलाई घिसार्दै २० मिनेटजति पर रहेको भोलेबाबा भनिने रामबहादुर चौधरीको घरमा पुर्‍याए । त्यही गाउँका भोलेबाबा भनिने रामबहादुर चौधरीको घरमा छरछिमेकीहरू चारैतिर घेरा बनाएर बसेका थिए । ‘त्यहीँ गाउँलेको माझमा राखेर भोलेबाबा र उनकी सहयोगी ‘पार्वती माता’ ले ६ घण्टासम्म निर्घात कुटपीट गरे’ राधाले घटना सम्झँदै मलिन स्वरमा भनिन् ।


राधाको परिवारमा आमा, बुवा, दाजु, र दुई भाइबहिनी छन् । आर्थिक अवस्था कमजोर भएकाले राधाका बुवा, दाइ र भाइ अहिले भारतमा मजदरी गर्छन् । घरमा आमासँग उनी र कान्छी बहिनीमात्रै छिन् ।


घटना सार्वजनिक भएपछि दुई सातासम्म खुबै चर्चापरिचर्चा भयो । प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले राधाको स्वास्थ्योपचार तथा शिक्षाको सबै जिम्मेवारी प्रदेश सरकारले ब्यहोर्ने घोषणा गरे । मन्त्रीहरूले पनि उनलाई भेटेर अनेक आश्वासन दिए । तर, घटनाको ५ महिना बित्दा पनि पीडितले आश्वासनका पोका बाढ्नेहरू कसैबाट केही पाएकी छैनन् ।

‘अहिले त कोही सोधपुछ पनि गर्दैनन्,’ राधाले भनिन् । नगरपालिकाले उनलाई एक लाख दिने बताएको छ । तर हात परेको छैन । ‘ख्वै मलाई केही थाहा छैन,’ उनले भनिन् । कक्षा ११ को सबै शुल्क उनले तिर्नुपरेको छ । ‘१२ को भर्ना शुल्क तिरेको छैन । सरहरूले शुल्क तिर्नु पर्दैन त भन्नु भएको छ,’ राधाले भनिन् ‘कक्षा ११ को सबै शुल्क आफैंले तिरेँ ।’


उनी अध्ययनरत घोडाघोडी नगरपालिकाको सुखडस्थित राष्ट्रिय माविले भने राधाको शिक्षा नि:शुल्क गर्ने निर्णय गरेको बताएको छ । विद्यालयका प्रअ रामछविला चौधरीले भने, ‘विद्यार्थी तथा शिक्षकको दबाबमा व्यवस्थापन समितिले उनलाई कक्षा ११ र १२ सम्म नि:शुल्क पढाउने निर्णय गरेको छ ।’ घटनाका बेला सरकारी तथा गैरसरकारी संघसंस्था थुप्रैले अनेक आश्वासन दिएको उनी सम्झिन्छिन् । काममा सहयोग गर्ने भनेर आश्वासन दिएका थिए । उनी भन्छिन्, ‘अहिले कसैसँग सम्पर्क छैन ।’ नारी दिवसकै दिन २० वर्षीया राधामाथि देउकलियामा स्थानीय रामबहादुर चौधरी र पार्वती माता भनिने किस्मती चौधरीसहितले बोक्सी आरोप लगाउँदै ६ घन्टासम्म निर्घात कुटेका थिए ।


निर्घात कुटाइबाट गम्भीर घाइते उनलाई उद्धार गरेर धनगढीमा उपचारका लागि ल्याइएको थियो । उनलाई केही दिन धनगढीस्थित महिला पुनस्र्थापना केन्द्रमा राखेपछि प्रमुख जिल्ला अधिकारीसहितको पहलमा गाउँमै पुनर्स्थापना गरिएको हो ।

जिल्ला अदालत कैलालीले घटनामा संलग्न भोलेबाबासहित तीन जनालाई दोषी ठहर गर्दै कैद फैसला सुनाइसकेको छ । पीडक भोलेबाबालाई ५ वर्ष कैद सजाय र एक लाख जरिवाना भराउने फैसला भएको थियो । कुटाइमा संलग्न सोही ठाउँका किस्मतीलाई ५० हजार जरिवाना र एक वर्ष कैद तथा पार्वती चौधरी (स्मारिका) लाई ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना भराउने फैसला गरेको थियो ।


भोलेबाबालाई सहयोग गरेको भन्दै नियन्त्रणमा लिइएका स्थानीय चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीलाई भने सफाइ दिएको थियो । राधामाथि कुटपिट गरेको भन्दै ६ जनाविरुद्ध जिल्ला प्रहरी कैलालीले बोक्सी आरोपसम्बन्धी कसुर तथा सजाय ऐन र ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाएको थियो ।

प्रकाशित : भाद्र ११, २०७५ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?