किशोरी हत्या प्रकरणः प्रहरी अनुसन्धान सूचना संकलनमै
कञ्चनपु — कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा शंकाको घेरामा रहेका बम दिदीबहिनीमाथि थप अनुसन्धानका लागि अदालतबाट ६ दिनको म्याद थप भएको छ । गत शुक्रबार पक्राउ परेका रोशनी र वविता बमको सोमबार म्याद थप गरिएको हो ।
जिल्ला प्रहरीका एसपी कुबेर कडायतले उनीहरूसँग आवश्यक सूचना लिने र सोधपुछ भइरहेको जनाए । स्थानीयले शंकास्पद रूपमा हेरेको किशोरी पढ्न गएको बम परिवारको घर, शव भेटिएको स्थानलगायत क्षेत्रमा समेत अनुसन्धान गरिरहेको उनले जनाए । ‘उनीहरूबाट आवश्यक सूचना लिने र त्यसलाई पछ्याउने काम गरिरहेका छौं,’ उनले भने, ‘तत्कालै केही भनिहाल्ने अवस्थामा छैनौं ।’
एसपी कडायतले यसअघि प्रहरीले सार्वजनिक गरेका भीमदत्त नगरपालिका २ बाग्फाँटाका दिलीप विष्टबारे पनि थप अनुसन्धान भइरहेको जानकारी दिए । साताअघि जिल्ला प्रहरीले घटनाका मुख्य आरोपी भनिएका मानसिक अवस्था ठीक नभएका विष्टलाई सार्वजनिक गरेपछि स्थानीयले असन्तुष्टि जनाउँदै आन्दोलन चर्काएका हुन् । आन्दोलनपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित एसपी र डीएसपी सबैलाई केन्द्र फिर्ता गरेर नयाँ अधिकारी पठाएको थियो । कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टलाई निलम्बन गरिएको छ ।
नयाँ अधिकारी आएपछि घटनाको पुन: प्रारम्भिक रूपमै अनुसन्धान थालिएको छ । ‘हामीलाई उच्चस्तरीय छानबिन समितिबाट पनि केही सूचना प्राप्त हुनेछ,’ एसपी कडायतले भने, ‘यसले पनि अनुसन्धानमा सहज र सहयोग पुग्नेछ ।’
स्थानीयले आन्दोलन चर्काएपछि गृहले गठन गरेको उच्चस्तरीय छानबिन समितिले पनि आवश्यक सूचना संकलनको काम गरिरहेको छ । सर्वदलीय र सर्वपक्षीय छलफलपछि पीडित पक्ष, घटनास्थल, किशोरी पढ्न गएको घर र प्रहरीले सार्वजनिक गरेका व्यक्तिका परिवारसँग अवाश्यक सूचना संकलन गरिएको समिति संयोजक हरिप्रसाद मैनालीले बताए । ‘एक चरण सबैलाई भेटिसकेका छौं,’ उनले भने, ‘हामीहरू सूचना संकलनमै लागेका छौं, प्रहरीसँग पनि यस विषयमा सूचना लिइरहेका छौं ।’
सीआईबी टोली फर्कियो
घटनालगत्तै अनुसन्धानमा महेन्द्रनगर पुगेको सीआईबी टोली फिर्ता भएको छ । टोलीले गरेको अनुसन्धानसमेत शंकास्पद देखिएपछि फिर्ता भएको चर्चा छ । गत सोमबार अभियुक्तका रूपमा विष्टलाई सार्वजनिक गरिएपछि सीआईबीप्रति स्थानीय आक्रोशित बनेका हुन् । मृतक किशोरीका बुवा यज्ञराज त सीआईबीको टोलीले अनावश्यक दबाब दिएर घरमा बस्नै नसकिने वातावरण बनाएको बताउँछन् ।
‘अनुसन्धान त जिल्ला प्रहरीले नै गर्ने हो, सीआईबी त हामीलाई सहयोग गर्नमात्रै आएको हो,’ कडायतले भने, ‘अझ पनि प्राविधिक सहयोग सीआईबीले नै गर्नुपर्छ ।’ साउन ११ गते किशोरीको शव भेटिएको दोस्रो दिन डीएसपी अंगुर जीसी नेतृत्वमा ३ सदस्यीय सीआईबी टोली यहाँ आएको थियो ।
सामान्य बन्दै महेन्द्रनगर
गत सोमबार प्रहरीले अभियुक्तका रूपमा विष्टलाई सार्वजनिक गरेपछि चर्केको आन्दोलनपछि तनावग्रस्त बनेको महेन्द्रनगर बजार सामान्य बन्दै गएको छ । प्रहरीले बिहीबार र शुक्रबार प्रदर्शनकारीमाथि गोली चलाउँदा झनै उग्र बनेको आन्दोलन लगातारको कफ्र्युपछि बजार क्षेत्रमा शान्ति सुरक्षाको अवस्था सहज हुँदै गएको छ ।
शुक्रबार राति ८ बजे सुरु कफ्र्यु आइतबार बिहानमात्रै केही घण्टाका लागि खुला गरिएको थियो । दिनभरि पुन: कफ्र्यु लगाएर साँझ केहीबेर खुला गरियो । सोमबार भने दिनभरि कफ्र्यु हटाइयो । यसअघि सोमबार दिउँसो कफ्र्यु लाग्ने निर्णय भए पनि अवस्था सहज बन्दै गएका कारण दिनभरि खुला गरिएको जिल्ला प्रशासनका प्रशासकीय अधिकृत उदयराज जोशीले बताए । सोमबार साँझ ६ देखि मंगलबार बिहान ५ बजेसम्म कफ्र्यु लगाउने निर्णय भएको उनले बताए । कफ्र्यु खुलेसँगै महेन्द्रनगर बजार क्षेत्रमा चहलपहल बढेको छ । करिब सातापछि बजार र यातायात खुलेको छ ।
प्रकाशित : भाद्र ११, २०७५ २०:५४